काठमाडौं– संसद्मा सबैभन्दा ठूलो दल प्रतिपक्षी नेपाली कांग्रेसले आगामी २२ पुसमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। सत्ताबाट बेदखल कांग्रेसभित्र केन्द्रीय समिति बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब परेको थियो।
माओवादीले कांग्रेसलाई रछ्यानमा हुइँक्याएर एमालेसँग गाँसिन पुगेपछि सत्ता गुमाएको छ। सभापति देउवाको सुझबुझपूर्ण निर्णय नहुँदा प्रतिपक्षमा बस्नुपरेको भन्दै असन्तुष्टिका स्वर सुनिँदै आएको छ।
पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले २२ पुस दिउँसो १ बजे सानेपामा बैठक बस्ने तय भएको जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई आमन्त्रण गरिएको उनको भनाइ छ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक विषय, गठबन्धनबाट माओवादी बाहिरिएको विषयबारे छलफल हुने कांग्रेसले बताएको छ।