काठमाडौं– एउटा आक्रामक टिभी पत्रकार, जो अचानक पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरे। त्यो पनि स्थापित राजनीतिक दलमा होइन, आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेर। ६ महिनाभित्र पार्टी गठन, संसदीय निर्वाचनमा सहभागी हुँदै उत्साहजनक नतिजा अनि उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय। रवि लामिछानेको यो ६ महिने राजनीतिक छलाङ अविश्वसनीय जस्तै लाग्छ।
सरकार गठनको अन्तिम प्रयासस्वरुप बनेको सातदलीय गठबन्धनमा तेस्रो शक्तिको रुपमा प्रवेश गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टी, जसको अध्यक्ष तथा संसदीय दलको नेता हुन् रवि लामिछाने। प्रत्यक्षमा सात सिट जितेको रास्वपासँग २० सांसद छन्। पहिलो पटक भाग लिएको निर्वाचनबाटै लामिछाने नेतृत्वको पार्टी चौथो ठूलो दल बनेको छ।
यो पार्टीले १६५ मध्ये १३१ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगमा बन्दसूची बुझाएको थियो। यो दलले प्रदेशसभाका लागि भने कुनै पनि उम्मेदवार खडा गरेको थिएन। २०७२ सालमा बनेको नयाँ संविधानपछि कार्यान्वयनमा ल्याइएको संघीय व्यवस्थामा यो दलले आफ्नो प्रतिबद्धता कायमै राखे पनि प्रदेशसभा खारेज हुनुपर्ने मत राखेको छ। उसले प्रदेशसभामा उम्मेदवारी नै नदिएर प्रदेशसभाको विपक्षमा आफ्नो अडान स्पष्ट गरिसकेको छ। ‘वर्तमान प्रादेशिक संरचना राज्य स्रोतको दोहनबाहेक केही पनि होइन भन्ने पछिल्लो ५ वर्षले पुष्टि गर्यो,’ यो दलले निर्वाचनअघि सार्वजनिक गरेको आफ्नो चुनावी वाचा पत्रमा लेखेको छ।
स्वतन्त्र पार्टीको स्थापना २०७९ असार ७ गते भएको हो। निर्वाचन आयोगमा असार १७ गते दर्ता भएको थियो। यसको चुनाव चिन्ह गोलाकार भित्रको घण्टी रहेको छ। रवि लामिछानेले २०७९ असार २ मा ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक पदबाट राजीनामा दिँदैै प्रतिनिधिसभा निर्वाचन २०७९ मा चितवन–२ बाट चुनाव लड्ने घोषणा गरेका थिए।
विवादित छवि
५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै रेडियो कार्यक्रम चलाउँथे। दाजु हरिशरण लामिछाने रेडियो नेपालका चिनिएका समाचारवाचक। यसले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो।
तर, उनी देशभित्र लामो समय बसेनन्, अमेरिका हानिए। केही वर्षपछि मिडियामै काम गर्नेगरी स्वदेश फर्किए। गिनिज बुकमा नाम लेखाउनेदेखि जनताको समस्या उठाएर चर्चामा आए। चर्चासँगै पटकपटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भएका हुन्।
रविसँग अमेरिकाको ग्रिनकार्ड भएको विषय पनि बाहिर आएको छ। तर, उनले पछि ग्रिनकार्ड त्यागेको घोषणा गरे। उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ। एक दशक अमेरिका बसाइपछि फर्किए पनि उनले ग्रिनकार्ड छाडेका थिएनन्। यो विषय बाहिर आएपछि उनले ग्रिनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए।
रविको नाम धेरै महिलासँग पनि जोडियो। जसमध्ये लोकप्रिय नायिका करिश्मा मानन्धर पनि हुन्। करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय बाहिर आएको थियो। करिश्माले यसबारे पत्रकारहरुको प्रश्नको सामना पनि गर्नुपरेको छ पटकपटक। रवि लामिछाने हिरासतमा हुँदा उनका समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्विट गरेकी थिइन्।
तीन वर्षअघि रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे। निकिता पनि पारपाचुके गरेर बसेकी थिइन्। निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी हुन्।
आत्महत्या दुरुत्साहन मुद्दामा पनि जोडिए रवि। पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीको नाम उल्लेख गरेका थिए। उनीहरुकै कारण आफूले आत्महत्या गर्नुपरेको उनले दाबी गरेका छन्। यसैका आधारमा प्रहरीले तीनैजनालाई आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ गर्यो। पछि सबैजना धरौटीमा छुटे र जिल्ल अदालत चितवनले सबैलाई सफाइ पनि दियो।
रविको एउटा मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। लामिछानेको नागरिकता र पासपोर्ट विवादबारे परेको मुद्दाको टुंगो अझै लागेको छैन। यद्यपि, सर्वोच्चले लामिछानेलाई सांसदको शपथ लिने बाटो भने खोलिदिएको छ। रवि लामिछानेविरूद्ध प्रतिनिधिसभाका सदस्यको रूपमा शपथ नगराउन मंसिर २८ गते रिट दायर भएको थियो। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनस् पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।
यस्तै अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप छ। लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिँदैन। विदेशी नागरिकता लिने बित्तिकै नेपाली नागरिकता कायम रहँदैन। विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्छ। तर उनले निष्क्रिय भइसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ। लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए।
यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले परिसरलाई निर्देशन दिएपछि अनुसन्धान थालेको थियो।
विदेशी नागरिकता त्याग्नुभन्दा पहिले नै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। कसैले झूटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ ९क० मा झूटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।