काठमाडौं– नेकपा एमालेलगायत दलले नयाँ सत्ता समीकरण बनाएका छन्। यससँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार अपराह्न बसेको बैठकमा प्रचण्डलाई सुरुको आधा कार्यकाल (साढे २ वर्ष) का लागि प्रधानमन्त्री बनाउने सहमति जुटेको हो। साढे दुई वर्षपछि ओली प्रधानमन्त्री बन्नेछन्।
प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आजै दाबी पेश गर्ने सहमति छ। दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ। जनमतका ६ जना सांसद छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ।