काठमाडौं– बालुवाटार वार्तापछि चिरा परेको गठबन्धन सहमतिलाई पुनर्जीवन दिएर अर्को गठबन्धन निर्माण गर्न यतिबेला एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा कांग्रेस, नेकपा एसबाहेकका राजनीतिक दलका नेताहरुको जमघट भइरहेको छ। केही बेरअघि आगामी सरकारमा प्रधानमन्त्रीको नेतृत्वमा सघाउन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीलाई भेटेका छन्।
प्रचण्डसँगै ओलीलाई भेट्नेमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका दोस्रा अध्यक्ष अशोककुमार राई रहेका छन्।
पछिल्लो समय जनमत पार्टीका अध्यक्ष सिके राउत पनि एमाले अध्यक्ष ओली भेट्न बालकोट निवास पुगेका छन्। नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला बालकोटमा जारी बैठकमा राउत पनि पुगेका हुन्। राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन्।
बालकोट जमघटमा सहभागी राप्रपा अध्यक्ष लिङ्देन र जसपा अध्यक्ष राई पार्टीमा सल्लाह गर्न भन्दै बैठक स्थलबाट बाहिरिएका छन्।