काठमाडौं- सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच पुन: बैठक बस्ने बताएका छन्। सरकार निर्माणबारे छलफल गर्न बालुवाटारमा बसेको सत्ता गठनबन्धनको बैठक निष्कर्षबिहीन भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कार्कीले पार्टीभित्र आन्तरिक छलफल गरेर पुन: गठबन्धन बैठक बस्ने बताए।
प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान राखेपछि बैठक निष्कर्षबिहीन पुगेको हो।
अब कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूको आन्तरिक छलफलपछि पुन: बैठक बस्ने सरकारका कार्कीको भनाइ छ। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।
धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्। तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन।