बुधबार, साउन २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको कुर्सीमा कांग्रेस-माओवादीको नजर, देउवा गलाउँदै प्रचण्ड

प्रधानमन्त्रीको कुर्सीमा कांग्रेस-माओवादीको नजर, देउवा गलाउँदै प्रचण्ड

पार्टी सभापति देउवाले प्रचण्डलाई हातमा लिन सके कांग्रेसको बहुमत आउने र एमाले खुम्चिने सपना पालेर नेकपा माओवादीलाई सत्ताको केन्द्रमा राखिरहे। फलस्वरुप माओवादीले कांग्रेससँग प्रधानमन्त्रीको कुर्सीका लागि तिकडमबाजी र बार्गेनिङ गरिरहेको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं– ४ मंसिरको निर्वाचनमा जाँदा सिट बाँडचुँडमा अन्तिम समय १०० बाट ९० मा झरेको सत्तारुढ कांग्रेसले नेकपा एस र माओवादीलाई संघीय संसद्मा सम्मानजनक स्थितिमा ल्यायो। राष्ट्रिय दल बन्नबाट विमुख नेकपा एसलाई कांग्रेसकै भोटका कारण प्रतिनिधिसभामा १० सिट आइलाग्यो। चुनावका बेला नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जे–जे भन्छन्, खुरुखुरु गरिदिएर पार्टी सभापति शेरबहादुर देउवासमेत आलोचित भए। भलै, यो चुनावमा स्थानीय तह, प्रदेश र संघमा कांग्र्रेसको मत र सिट संख्या २०७४ भन्दा केही बढेको छ।

कांग्रेस इतर पक्ष शेखर कोइराला समूहले माओवादीसँग हिमचिम नगर्न र सत्ताका लागि पार्टीको सिद्धान्तलाई तिलाञ्जली नदिन बारम्बार खबरदारी गरिरह्यो। तर पार्टी सभापति देउवाले प्रचण्डलाई हातमा लिन सके कांग्रेसको बहुमत आउने र एमाले खुम्चिने सपना पालेर नेकपा माओवादीलाई सत्ताको केन्द्रमा राखिरहे।

चुनाव सकियो। कांग्रेस प्रतिनिधिसभामा ८९ सिट ल्याएर ठूलो पार्टी बन्यो। २७५ सदस्यीय संघीय संसद्मा बहुमतका लागि कुनै पनि पार्टीले १३८ सिट ल्याउन सकेनन्। चुनावपछि बालुवाटार भेला भएका सत्तारुढ गठबन्धनका नेता विशेषगरी प्रचण्डले आफूहरूको सत्ता साइनो निरन्तर रहने, एमाले वा अरु कोहीतिर प्रधानमन्त्रीका लागि नढल्किने वाचासमेत गरे। तर प्रचण्डको वाचा लामो समयसम्म दीर्घ रहन सकेन। यसको पछिल्लो स्वरुप नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डको नेतृत्वमा आगामी सरकार गठन गर्ने निर्णय गर्‍यो।

माओवादीको यो निर्णयको मसी नसुक्दै अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवालाई यसबारे जानकारी गराए। कांग्रेसले प्रचण्ड योजनाअनुसार नै २ वर्ष आफूले प्रधानमन्त्री खाने, त्यसपछि २ वर्ष नेकपा माओवादी केन्द्रलाई दिने र १ वर्ष नेकपा एसलाई दिने भद्र सहमतिमा स्वीकृति जनाइसकेको छ।

तर कांग्रेसको आग्रहलाई रद्दीको टोकरीमा मिल्काएर प्रचण्डले गठबन्धनभित्रको राजनीतिलाई धमिल्याए। आफैं प्रधानमन्त्री हुने, नभए कांग्रेससँग छुट्टिनेसम्मको योजनामा माओवादी रहेको बुझ्न कठिन छैन।

पार्टी सभापति देउवाले प्रचण्डलाई हातमा लिन सके कांग्रेसको बहुमत आउने र एमाले खुम्चिने सपना पालेर नेकपा माओवादीलाई सत्ताको केन्द्रमा राखिरहे। फलस्वरुप माओवादीले कांग्रेससँग प्रधानमन्त्रीको कुर्सीका तिकडमबाजी र बार्गेनिङ गरिरहेको छ।

संसद्मा ठूलो दलको हैसियतमा कांग्रेसले सरकार गठनका लागि मागदाबी गर्नु संवैधानिक हिसाबले उचित हो। तर सरकार गठनका लागि १३८ सिट पुर्‍याउनैपर्ने कानुनी व्यवस्था रहेका कारण कांग्रेसले लचिलो हुँदै माओवादीलाई गठबन्धन नतोड्न आग्रह गरिरहेको छ। कांग्रेसको आग्रहलाई प्रचण्डले एमाले देखाएर बार्गेनिङ गरिरहेका छन्। 

साता दिनअघि राष्ट्रपति विद्या भण्डारीले सरकार गठनका लागि राजनीतिक दललाई आह्वान गरेको आज बेलुकी ५ बजे अन्तिम समय हो। त्यतिबेलासम्म कांग्रेस–माओवादीबीच प्रधानमन्त्रीको पदमा सहमति नभए एमालेको भाउ स्वतः बढ्नेछ। एमालेमा कांग्रेससँग मिलेर सरकार बनाउनुपर्ने र माओवादीसँग मिलेर सरकार बनाउनुपर्ने भन्ने दोधारमा केही नेता छन्। अध्यक्ष ओली पछिल्लो समय प्रचण्डप्रति नरम सुनिँदै आएका छन्। शनिबार मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले चुनावको नतिजा आउनेबित्तिकै एमालेसँग हिमचिम गरेको भए प्रचण्ड यतिबेला प्रधानमन्त्री भइसक्ने भनेर ठोकुवा गरेका थिए।

प्रधानमन्त्रीका लागि कांग्रेस, माओवादीबीच भइरहेको छिनाझप्टीले एमालेलाई राजनीतिक रुपमा लाभ मिल्न सक्छ। हालका लागि एमालेले आफूलाई राष्ट्रपति चाहेको र माओवादीलाई प्रधानमन्त्री दिन तयार रहेको ललिपप देखाएपछि  प्रचण्डले कांग्रेस सभापति देउवासँग बार्गेनिङलाई झनै बढाइरहेको बुझ्न सकिन्छ। यो बीचमा पार्टी सभापति देउवाले प्रचण्डलाई मनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधिलगायतलाई खुमलटार दरबार पठाइसकेका छन्। तर चुरोको कुरो अहिलेसम्म मिलेको छैन। न त प्रचण्ड सहमतिमै आएका छन्। 

प्रधानमन्त्री को हुने भन्ने गलफत्ती टुंग्याउन आइतबार बिहानैदेखि कांग्रेस, माओवादीका शीर्षस्थ नेताहरू बालुवाटार, खुमलटार, बालकोट धाइरहेका छन्। आइतबार मात्रै कांग्रेस नेता निधिले प्रचण्डले खुमलटार पुगेरै भेट। त्यो भेटमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने देउवाको सन्देश नेता निधिले प्रचण्डलाई सुनाए। त्यसपछि प्रचण्डले त्यसो हो भने माओवादी गठबन्धनमा नबस्ने र सरकारका लागि एमाले शरणमा जाने संकेत निधिलाई दिएको देखिन्छ। यद्यपि कांग्रेसले सकभर गठबन्धन नटुटोस् भनेर अहिले पनि बालुवाटारमा माओवादीलाई भेटिरहेको छ।

कांग्रेसको बटमलाइन सार्वजनिक भएपछि प्रचण्ड पार्टी सभापति देउवा भेट्न यतिखेर बालुवाटरमा छन्। नेकपा माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरूले कांग्रेसका नेताहरूसँग प्रधानमन्त्रीमा कुरो नमिले जय नेपाल भन्नुबाहेक अरु नहुने भनेर सुनाइसकेको बताइन्छ। सकभर गठबन्धन नटुटोस् भनेरै पार्टी सभापति देउवाले प्रचण्डसँग एक्लाएक्लै भेटसमेत गरे। त्यो भेटमा पनि प्रचण्ड टसमस भएनन्। आफूलाई प्रधानमन्त्री दिनैपर्ने अन्यथा छाडिहिँड्ने घुर्की देउवालाई दिए। 

प्रधानमन्त्री देउवा र प्रचण्डबीच एक्लाएक्लै भएको भेटमा पनि कुरो नमिलेपछि बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध नेताहरूको बैठक चलिरहेको देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए। पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि शनिबार बेलुकीको सत्ता गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको थियो। प्रधानमन्त्री देउवाले बालुवाटारमा आफ्ना विश्वासपात्रलाई बोलाएर माओवादीले नमाने के गर्ने भनेर विकल्पबारे छलफल गरिरहेका छन्।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन सत्तारुढ गठबन्धन सहमति जुटाउने अन्तिम प्रयासमा छ। तर कांग्रेस र माओवादी केन्द्रबीच पहिला को प्रधानमन्त्री बन्ने भन्ने विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन। कांग्रेसका प्रभावशाली नेताहरूले प्रधानमन्त्री पद माओवादी केन्द्रलाई छाड्न नहुने दबाब बढाएका छन्। सोही दबाबका कारण प्रधानमन्त्री देउवा आफैं प्रधानमन्त्री बन्नुपर्ने अडानमा रहेका हुन्। शनिबार बालुवाटार बोलाइएका नवनिर्वाचित कांग्रेस सांसदले पनि देउवालाई प्रधानमन्त्री हुन र माओवादीको मागलाई नमान्न सुझाइसकेका छन्।

प्रधानमन्त्रीमा कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दाबी नछाडेर सहमतिमा सकस भइरहँदा  देउवा र प्रचण्डले विकल्प खोज्ने घुर्कीसहितका सन्देश सम्प्रेषण गर्न थालेका छन् । ओलीसँग सम्बन्ध सुधार भएको र एमालेले प्रधानमन्त्रीका लागि प्रचण्डलाई प्रस्ताव गरेको दाबीसहित माओवादी केन्द्रले गठबन्धनमा  बार्गेनिङ पावर बढाएको हो। कांग्रेसले पनि एमालेसँग सम्बन्ध बढाएको छ। कांग्रेस नेता विमलेन्द्र निधि शनिबार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोट भेटमा माओवादीलाई गठबन्धनबाट गलहत्याए एमालेले कांग्रेसलाई समर्थन जनाउने आश्वासन ओलीले दिएको बताइन्छ।

बस्ला माओवादी प्रतिपक्षमा?

आइतबार बिहान खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाको सन्देश नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सुनाए। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री कुनै हालतमा नछाड्ने देउवाको सन्देश उनले प्रचण्डलाई सुम्पिए। निधि खुमलटार दरबारबाट फर्केलगत्तै प्रचण्डले आजै बिहान पदाधिकारी बैठक बसाले। 

उक्त बैठकमा पहिलो कार्यकालका लागि प्रधानमन्त्रीको हकदाबी छाड्न नहुने र कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै लिए प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय भएको नेकपा माओवादीका एक नेताले बताए। ‘अहिले कांग्रेस नेताहरू राष्ट्रपति र प्रधानमन्त्री मेरै हुनुपर्छ भन्छन्। त्यसरी समझदारी गरेर जान सकिँदैन। बरु प्रतिपक्षमा बसेर पार्टी  र संगठन बनाउनुपर्छ भन्ने सुझाव प्रचण्डलाई दिएका छौं,’ ती नेताले भने। उनले प्रधानमन्त्री देउवाकै कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको दाबी गरे। कांग्रेसले माओवादीबाट निरन्तर निहुँ खोजिँदै गए वैकल्पिक गठबन्धन निर्माण गरी सरकार बनाउने चेतावनी अध्यक्ष प्रचण्डलाई दिएको बताइएको छ।

प्रकाशित: Dec 25, 2022| 13:11 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...