काठमाडौं– कांग्रेससँग प्रधानमन्त्री आफैं हुनुपर्ने मागमा अडिग रहँदै आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको सपना साकार नहुने नेकपा एमाले अध्यक्ष केपी ओलीले ठोकुवा गरेका छन्।
शनिबार एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले पार्टी मुख्यालय च्यासलमा गरेको कार्यक्रममा ओलीले प्रचण्डले निर्णय लिन ढिला गर्दा प्रधानमन्त्री हुने सम्भावना सकिएको बताएका हुन्।
उनले भने, ‘पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ। मलाई लाग्छ, उहाँले निर्णय गर्न ढिला गर्नुभयो।’ जुनसुकै काम पनि बेलामा नगरे त्यसको फल खान नपाइने ओलीले सुनाए।
‘लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम जे–जस्ता छन्, ती समयमै गर्नुपर्दछ। भएन भने, होइन भने, समयमा कुनै काम गरिँदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ। समयले नै त्यसको फल खाइदिन्छ। यसको उदाहरण आँपलाई लिन सकिन्छ। पाकेको आँप बेलैमा नटिपे खान, बेच्न पाइँदैन। कुहिएर झर्छ। प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना पनि त्यस्तै हो।’ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि १० पुस बेलुकी ५ बजेसम्मको समय दिएकी छन्।