काठमाडौं– आफ्नै नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर अभियान थालेको सत्तारुढ नेपाली कांग्रेसले गठबन्धनमा आबद्ध दलका नेताहरूसँग सहमतिको प्रयास गर्दै आएको छ। तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने मागदाबी कांग्रेससँग गरेका छन्।
प्रचण्डको मागदाबीलाई कांग्रेसले अस्वीकार गरिदिएको छ। कांग्रेस र माओवादीबीच कुरो नमिल्दा सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले आइतबार (१० पुस) अबेरसम्म दिएको समयसीमा आउनै लागेपछि दुवै दलका नेताहरू एकअर्काको नाडी छाम्न थालेका छन्।
शनिबार नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठकअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रचण्डलाई मनाउन उनको निवास खुमलटार पसेका छन्।
वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन भए पहिलोचोटि आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान लिँदै आएका प्रचण्डसँग छलफल गर्न नेता पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाले दूत बनाएर खुमलटार पठाएका हुन्।
शनिबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने कार्यतालिका छ। यद्यपि अहिलेसम्म टुंगो भने लागेको छैन। बालुवाटारमा दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने भनिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।
शुक्रबार बेलुकी प्रधानमन्त्री देउवा र प्रचण्डबीचको छलफल निष्कर्षबिनै टुंगिएको थियो। पौडेलले पार्टी सभापति देउवालाई प्रधानमन्त्री बन्ने बाटो मिलाइदिन गरेको आग्रह प्रचण्ड अस्वीकार गरेको बताइन्छ।
नयाँ सरकारका लागि बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेस र तेस्रो माओवादी केन्द्रबीच सहमति जुट्न सकेको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि समय दिएकी छन्।