काठमाडौं- नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ। खाली पृष्ठमा शुक्रबारदेखि नै कांग्रेसले आफ्ना सांसदको हस्ताक्षर संकलन गर्न थालेको हो।
नेपाली कांग्रेस आज दिउँसो बालुवाटारमा सांसदको भेला बोलाएको छ। आजको भेलामा पनि सांसदहरूलाई हस्ताक्षर गर्नेक्रम जारी रहेको रहेको बताइएको छ।
आजको भेलामा नयाँ सरकार गठन र भावी रणनीतिबारे छलफल हुने बताइएको छ। कांग्रेस संसदीय दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो पटक भेला भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न पुस १० (आइतबार)सम्म समयसीमा दिएकी छन्। बहुमत पुर्याउने दलले आइतबार ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शनिबार बिहानसम्म सहमति जुटेको छैन।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ। नेपाली कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटमा जितेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच को प्रधानमन्त्री बन्ने रस्साकस्सी छ।