काठमाडौं- बिहीबारदेखि सञ्चारमाध्म र सामाजिक सञ्जालमा केही तस्बिर छाइरहेका छन्। तस्बिरमा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड एकै सोफामा बसेका छन् र खुलेर हाँसेका छन्।
तपाईंलाई लाग्ला– दुई कम्युनिष्ट पार्टीका अध्यक्ष एकै सोफामा बस्नु र एकअर्कासँग हाँसेर बोल्नु के नौलो कुरा भो र? होइन नौलो कुरा। दुई वर्ष अघिसम्म यो कुरा सामान्य थियो। ओली र प्रचण्ड एकै पार्टीका अध्यक्ष थिए। देश हाँकिरहेका दुई सारथी थिए।
पछिल्ला दुई वर्ष भने ओली र प्रचण्ड दुई ध्रुवका जस्ता भए। ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनसँगै अलग भएका ओली र प्रचण्डबीच यसबीचमा राम्रो सम्बन्ध रहेन। संसदमा होस् वा सार्वजनिक मञ्चहरुमा, उनीहरु दुवैले एकअर्काको चर्को आलोचना गरे।
चार मंसिरको प्रतिनिधिसभा निर्वाचनसँगै दुई नेताको सामिप्यता बढ्दो छ।
बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण कार्यक्रममा यो सामिप्यता छताछुल्लै भयो। शपथपछिको चियापानका क्रममा दुई नेता एकै ठाउँमा बसे। ओलीको साइडमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना थिए भने प्रचण्डको साइडमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।
ओली कहिले प्रधानमन्त्री देउवासँग गफिए त कहिले प्रचण्डसँग। ओली र प्रचण्डबीच अलि बढी सम्वाद भयो। दुई नेता बेलाबेला खुलेरै हाँसेको समेत देखिन्थ्यो। यो दृष्य फोटोग्राफरले क्यामेरामा कैद गर्न भ्याइहाले।
अस्ति बुधबार राष्ट्रपति कार्यालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको शपथमा पनि यस्तै दृृश्य देखिएको थियो। पूर्वप्रधानमन्त्रीहरुको लहरमा दायाँबाट क्रमशः झलनाथ खनाल, प्रचण्ड र ओली बसेका थिए। त्यस क्रममा ओलीले दुबैसँग संवाद गरेका थिए।
यस्ता समारोहहरुमा पूर्व प्रधानमन्त्रीहरु एकै ठाउँमा बस्नु र सामान्य संवाद हुनु स्वाभाविक हो। तर अहिले अवस्था फरक छ। चुनाव सकिएर सरकार गठन हुने क्रममा छ। कुनै पनि दलले सरकार बनाउन पुग्ने बहुमत नल्याएकोले गठबन्धन सरकार बनाउनुपर्ने छ। संसद्मा सबैभन्दा ठूलो दल बनेको छ कांग्रेस। एमाले दोस्रो बनेको छ भने माओवादी तेस्रो।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा घर्किंदै जाँदा दलहरु सत्ता समीकरणको जोडघटाउमा छन्। यसमा सबैभन्दा अगाडि छ वर्तमान सत्ता गठबन्धन। गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एस र जनमोर्चा छन्। यो गठबन्धनसँग सरकार बनाउन पुग्ने सांसद पनि छन्। तर एउटा समस्या छ। कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले प्रधानमन्त्रीमा दाबी गरेका छन्। अझ चाखलाग्दो कुरा त दुवै दलले आफ्नै नेतृत्वमा गठबन्धन सरकार बनाउने औपचारिक निर्णय नै गरेका छन्।
देउवाले आफूलाई प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार बनाउने र प्रधानमन्त्री बन्ने रणनीतिमा प्रचण्ड छन्। कांग्रेससँगै एमालेसँग पनि संवादमा छ माओवादी। ओलीको स्पष्ट लाइन छ– गठबन्धन छोडेर आए माओवादीसँग सहकार्य हुन सक्छ।
आफ्नो नेतृत्वमा सरकार गठन गर्न एमाले नेताहरु सकारात्मक देखिएपछि माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने मुडमा छन्। ओलीसँगको प्रचण्ड हिमचिमले देउवा पनि दबाबमा परेका छन्। पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेस सकारात्मक देखिएको बताइएको छ। प्रचण्डले एमालेसँग सरकार निर्माणका विषयमा समानान्तर संवाद अघि बढाएपछि उनलाई पहिलो चरणमै प्रधानमन्त्री दिन कांग्रेस सकारात्मक देखिएको हो।
एमाले अध्यक्ष ओलीले बुधबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा मुलुक गम्भीर संकटबाट गुज्रिरहेको र संकट समाधानमा प्रचण्डबाट प्रतिबद्धता आए प्रधानमन्त्रीमा समर्थन गर्न सकिने संकेत गरेका थिए।
कांग्रेसले राष्ट्रपति आफूले लिएर प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन सकिने संकेत गरेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँँग बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पनि प्रचण्डले पहिलो चरणमा आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न प्रस्ताव गरेका थिए। प्रचण्डको प्रस्तावमा देउवाले प्रष्ट जवाफ नदिए पनि छलफलका लागि खुला रहेको संकेत गरेका थिए।
प्रचण्डले बिहीबार सांसद पदको शपथ लिएलगत्तै संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान सत्ता गठबन्धनमा सबै प्रक्रिया सहज ढंगले अघि बढिरहेको र नयाँ सरकार गठबन्धनबाटै सहज ढंगले बन्ने बताएका थिए। उनले आफू पहिले प्रधानमन्त्री हुने कि देउवा भन्नेमा छलफल भइरहेको र छिट्टै सहमति हुने पनि बताएका थिए। माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनबाट सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने र राष्ट्रपति नेकपा एसका अध्यक्ष नेपाल वा कांग्रेस नेता रामचन्द्र पौडेलमध्ये एक हुने बताएका थिए।