काठमाडौं– डेढ वर्ष बढी समयदेखि पानी बाराबारको स्थितिमा रहेका एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अकस्मात भेट भएको छ।
बुधबार ४ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सबैभन्दा ज्येष्ठ उमेरका सांसद पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाउने कार्यक्रममा दुवै नेता शीतलनिवास गएका बेला जम्काभेट भएको हो। २०७७ मा तत्कालीन नेकपा खारेज भएदेखि बोलीचाली बन्दावस्थामा रहेका दुवै नेताबीचको भेटमा भएको कुराकानीबारे अहिलेसम्म केही खुलाइएको छैन।
राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाउने क्रममा ओली, प्रचण्ड र नेकपा एसका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई लहरै राखिएको थियो।
ओलीले प्रचण्डसँग कुराकानी गरेपछि एमालेबाट बाहिरिएका नेता झलनाथसँग पनि भलाकुसारी गरेका थिए। सत्ता गठबन्धनबाट प्रधानमन्त्रीको आकांक्षी रहेका प्रचण्डले सरकार गठनका लागि कांग्रेससँग बार्गेनिङ गरिरहेका छन्। यसै मेसोमा दुई कम्युनिस्ट घटकका नेताबीच भएको छलफललाई अर्थपूर्ण मानिएको छ।
एमाले अध्यक्ष ओली सके प्रधानमन्त्री बन्ने, त्यसो नभए राष्ट्रपति पद लिएर अन्य दलका नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्ने रणनीतिमा लागेको बताइन्छ। ओलीको प्रचण्ड र खनालसँग दुई वर्षदेखि पानी बाराबारकै अवस्था थियो। ४ मंसिरको निर्वाचनमा गोरखाबाट विजयी प्रचण्डलाई ओलीले फोन गरेर बधाइ दिएका थिए।
सत्ता गठबन्धनबाट कांग्रेसले संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दावेदार घोषणा गरिसकेको भए पनि सरकार गठनका लागि एमाले र माओवादीका दोस्रो तहका नेताबीच छलफल चल्दै आएको छ। एमालेको समर्थनमा प्रधानमन्त्री बन्न प्रचण्डले आफ्ना दूत बालकोट पठाइरहेको चर्चा छ। नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आगामी १० मंसिरसम्म दललाई बहुमत प्रमाणित गर्न आह्वान गरिसकेकी छन्।