नेपाली कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। भोलि बुधबार हुने निर्वाचनका लागि आज थापाले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
थापाको प्रस्तावकमा वरिष्ठ नेता डा. शेखर कोइराला छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा।
कांग्रेसको चौधौं महाधिवेशनमा नेता कृष्ण सिटौला समूहबाट संस्थापनसँग मिलेर महामन्त्रीमा उठेका प्रदीप पौडेलले पनि थापालाई सघाउने भएका छन्। पौडेल पनि गगनको समर्थकमा बसेका छन्।
दलको नेतामा थापालाई साथ दिँदै पौडेलले देउवा र सिटौलाको साथ छाडेका छन्। चौधौं महाधिवेशनअघि गगनले सिटौलाको साथ लिएपछि पौडेलले उक्त स्थान लिएका थिए।
संस्थापनबाट भने प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्। देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का। प्रधानमन्त्रीमा दाबी गर्दै आएका पौडेल अन्तिम समयमा पछि हट्दै देउवालाई समर्थन गर्न पुगेका हुन्।
८९ जना सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत चाहिन्छ।