काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको नेता एवं संसदीय दल कार्यसमिति निर्वाचन आगामी ६ पुसमा गर्ने भएको छ। कांग्रेस संसदीय दलको निर्वाचन गर्न गठित निर्वाचन समितिले बुधबारका लागि निर्वाचनको मिति तय गरेको हो।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।
संयोजक आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य रहेको निर्वाचन समितिले बुधबार बिहान ८ देखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराइने बताएको छ।
संयोजक आङ्दम्बेका अनुसार सोमबार बिहान पार्टी कार्यालय सानेपामा बसेको निर्वाचन समिति बैठकले निर्वाचनको समय तालिका बनाएको छ। त्यसका लागि सोमबार नै मतदाता नामावली प्रकाशित गरिने समितिकी सदस्य भुसालको भनाइ छ। कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधिसभाका सांसद मतदाता हुने व्यवस्था छ। उम्मेदवारी दर्ता बुधबार बिहानै सुरु हुनेछ।