काठमाडौं– नेपाल प्रहरीका १३ जना पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हरूले सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन अपिल गरेका छन्। सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न मिल्ने गरी राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएपछि उनीहरुले अपिल जारी गरेका हुन्।
पूर्व आईजीपीहरूले उक्त अध्यादेश संविधानको मर्मविपरीत, सर्वोच्च अदालतबाट जारी निर्णय र नजिरहरूको बर्खिलाप र फौजदारी न्याय प्रणालीको विपरीत भएको बताएका छन्। उनीहरूले भनेका छन्, ‘यसबाट बहालवाला तथा निवर्तमान सुरक्षाकर्मी र निजका परिवारहरूलाई हतोत्साही र निराश बनाएकाले अध्यादेश तत्काल खारेज गर्न जोडदार अपिल गर्दछौं।’
यसरी अपिल जारी गर्नेहरूमा पूर्व प्रहरी महानिरीक्षकहरू मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, श्यामभक्त थापा, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापा क्षेत्री छन्।
राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न भने बाँकी छ।