काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि पहिलो पटक आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। शीर्ष नेताहरूले एक आपसमा भेटवर्ता गरिरहे पनि निर्वाचनपछि औपचारिक रूपमा भने बैठक आज पहिलो पटक बस्न लागेको हो।
आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल बताइएको छ। प्रतिनिध सभा तर्फ गठबन्धन झण्डै बहुमत नजिक छ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने तयारी गठबन्धन दलहरूको रहेको छ।
चुनावी समीक्षाका साथै आगामी रणनीतिबारे बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए। पूर्वसहमति अनुसार गठबन्धनकै सरकारलाई निरन्तरता दिनेमा कांग्रेस प्रतिवद्ध रहेको उनले जानकारी दिए। तर, माओवादी र एकीकृत समाजवादीले भने चित्तबुझ्दो भाग नदिए अर्को गठबन्धन बन्नसक्ने चेतावनी पनि दिँदै आएका छन्।
गठबन्धनबाट कांग्रेसले सबैभन्दा धेरै ५७ सिट जितेको छ। माओवादीले १७ सिट जितेको छ भने मतगणना जारी रहेको दोलखामा समाचार तयार पार्दासम्म अग्रता लिएको छ। एकीकृत समाजवादीले १०, लोसपाले चार र जनमोर्चाले एक सिट जितेका छन्। त्यस्तै, समानुपातिक मतभारअनुसार कांग्रेसले ३२ र माओवादीले १४ सिट पाउने देखिएको छ।
प्रतिनिधिसभामा एक सिट जितेको सिके राउत नेतृत्वको जनमत पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन तयार देखिएको छ।
नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान सकारात्मक देखिएको छ। उन्मुक्ति पार्टीसँग एक स्वतन्त्रसहित तीन सांसद छन्। उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना माग पूरा भए सरकारमा सहभागी हुन सक्ने बताएकी छन्। रेशम चौधरीको रिहाइलाई उक्त पार्टीले मुख्य माग बनाएको छ। सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले चौधरीलाई जेलमै पुगेर भेटिसकेका छन्। यसो हुँदा सत्ता गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ।