काठमाडौं– नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले निर्वाचनबाट प्राप्त अभिमतअनुसार सरकार गठनका विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन्। शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनादेशअनुरुप टुंगोमा पुग्न विगतका सबै गल्ती–कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरिएको बताएका हुन्।
‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर अगाडि बढ्नुपर्छ। एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ’, उनले भने।
राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट छलफल भइरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए। ‘अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमी–कमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ’, नेम्बाङले भने।
उनले एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीसँग पनि सहकार्य हुन सक्ने संकेत गरे। प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गरिने बताए।