काठमाडौं– दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान भइरहेको छ। मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन्।
बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मतदान शान्तिपूर्ण तरिकाले भइरहेको र मतदाता उत्साहित देखिएको उनले बताए। उक्त मतदान केन्द्रका चार मतदान स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन्।
आयोगको यही ११ मंसिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालाय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो।
आयोगले यही मंसिर ४ गते सम्पन्न भएको निर्वाचन रद्द गरी सोही ठाउँमा पुनः मतदान गरेको हो।