काठमाडौं- ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकाध स्थानबाहेक अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। हालसम्म प्रतिनिधिसभातफ १६२ क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ। दोलखामा बुधबार निर्वाचन भइरहेको छ भने स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्ने वा मत गणना गर्ने भन्ने विषयमा निर्वाचन आयोगले समाचार तयार पार्दासम्म कुनै निर्णय दिन सकेको छैन।
प्रतिनिधिसभामा अहिलेको निर्वाचनमा १ जना बहालवाला र ३ जना पूर्वगृहमन्त्री चुनावी दौडमा थिए। यी चारै जना गृहमन्त्री पराजित भए। प्रधानमन्त्रीपछिको शक्तिशाली पद मानिने गृहमन्त्रीसँग सुरक्षा संयन्त्रको व्यापक पहुँच हुने ठानिन्छ। गृह मन्त्रालयको सुरक्षा जिम्मा पाएकै बहालवाला गृहमन्त्रीले यस पटकको निर्वाचनमा पराजय भोग्नुपर्यो।
अचम्मको संयोग के भने निर्वाचनको मैदानमा होमिएका यी चारै बहालावाला/पूर्वगृहमन्त्रीलाई एउटै पार्टीका उम्मेदवारले हराए। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले चुनावी मैदानमा होमिएका बहालवाला र पूर्वगृहमन्त्रीलाई हराएका हुन्।
बालकृष्ण खाण-दीपक बोहरा
रुपन्देही ३ बाट बहालवाला गृहमन्त्री बालकृष्ण खाण यस पटकको निर्वाचनमा सहज ढंगले विजयी हुने पूर्वानुमान थियो। सत्ता र शक्तिमा रहेका खाण निर्वाचन जित्नेमा आफैं ढुक्क थिए। तर निर्वाचन परिणामले भने त्यस विपरीत नतिजा दियो। खाण राप्रपाका दीपक बोहरासँग २ हजार ६८१ मतान्तरले रुपन्देही ३ बाट पराजित भए । बोहराले ३६ हजार ७१७ मत ल्याउँदा खाणले ३४ हजार ३६ मतमा रोकिए।
खाण २०४८ को प्रतिनिधिसभा, २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित भएका थिए। खाण २०७४ को आमनिर्वाचनमा समानुपातिकतर्फबाट संसद् पुगेका थिए।
४ दशकदेखि राप्रपामा आबद्ध दीपक बोहरा भने २०७० मा रुपन्देही २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उनै बोहरा यस पटक बहालवाला गृहमन्त्री खाणलाई पराजित गर्न सफल भए।
२०३८ मा पर्यटन राज्यमन्त्री, २०६७ मा वन तथा भू–संरक्षणमन्त्री र २०३८ मा पर्यटन सहायकमन्त्री बनेका बोहरा २०४० मा पर्यटन राज्यमन्त्री, २०४४ मा निर्माण तथा यातायातमन्त्री र २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री थिए।
बोहरा २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ मा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री गरी उनले ९ पटक मन्त्रालय हाँकिसकेका छन्।
कृष्णप्रसाद सिटौला-राजेन्द्र लिङ्देन
यस पटकको निर्वाचनमा सबैको ध्यान तानेको निर्वाचन क्षेत्र थियो– झापा ३। चुनावी प्रतिस्पर्धामा थिए, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन। प्रतिस्पर्धामा बाजी भने राप्रपाका लिङ्देनले मारे।
सिटौला र लिङ्देनको यो तेस्रो चुनावी लडाइँ थियो। २०७० को निर्वाचनमा सिटौला विजयी हुँदा २०७४ मा भने लिङ्देन निर्वाचित भएका थिए।
कमल थापा-दीपकबहादुर सिंह
सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली गरी ५ जना प्रधानमन्त्रीको सरकारमा मन्त्री पड्काएका कमल थापा फेरि पनि संसद् छिरेर कुनै न कुनै मन्त्रालय हाँक्ने सोचमा थिए। तर २ पटक सांसद र गृहमन्त्रीसहित ९ पटक मन्त्री बनेका थापा यस पटक संसद् छिर्नबाट रोकिए। कुनै बेलाका सहकर्मी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग थापा पराजित भए।
तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जामा लिँदासमेत गृहमन्त्रीजस्तो महत्त्वपूर्ण पदमा पुग्न सफल भएका थापा मकवानपुरका मतदाताले सूर्य चिह्नमा आफूलाई मत दिनेमा ढुक्क थिए । तर मत परिणामले उनलाई पराजित मात्र गरेन, राप्रपा फुटाएर राप्रपा नेपालमा गएका उनको महत्त्वाकांक्षामा समेत धक्का लागेको छ।
देवेन्द्रराज कँडेल-ध्रुवबहादुर प्रधान
नवलपरासी २ मा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार चुनावी मैदानमा थिए। प्रतिनिधिसभातर्फ कांग्रेसले पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई नवलपरासी २ मा टिकट दिएको थियो।
यहाँ एमालेका दीपेन्द्रकुमार अधिकारी, कांग्रेसका देवेन्द्रराज कँडेल र राप्रपाका ध्रुवबहादुर प्रधानबीच मुख्य प्रतिस्पर्धा हुने आकलन थियो। चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिए पनि राप्रपाका प्रधान निकटतम प्रतिस्पर्धीभन्दा १५ हजार १७० मतान्तरले विजयी भए। उनका निकटम प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेलले १९ हजार ५९४ मत पाए।
२०५६ को आमनिर्वाचनमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका प्रधान नवलपरासीबाट २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार थिए। पराजित हुँदै आएका उनी यस पटक भने विजयी भए। नेपाल प्रहरीको १७औं महानिरीक्षक बनेका प्रधान नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्षसमेत हुन्।