मंगलबार, भदौ १०, २०८२

यी हुन् चुनाव हारेका निवर्तमान सांसद

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल पनि पराजित भए। यस्तै प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईलाई प्रतिनिधिसभाको यस निर्वाचन अफापसिद्ध रह्यो।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- अघिल्लो प्रतिनिधिसभामा रहेका ६० जनाभन्दा बढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। निर्वाचनको पूर्ण विवरण आइनसकेपनि १६५ मध्ये १५९ क्षेत्रको गणना सकिँदा संसदीय राजनीतिको अनुभव सँगालेका नेताहरूलाई पछि पारेको हो। यसपटक संसद प्रवेश गर्न नपाउनेमा पूर्वप्रधानमन्त्रीसहित कतिपय पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा प्रदेशका पूर्व-मुख्यमन्त्रीसमेत छन्।

इलाम-२ बाट चुनावी मैदानमा उत्रिएका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका सम्मानित नेता झलनाथ खनाललाई एमालेका महेश बस्नेतले हराएका छन्। हारेपछि खनालले आफूविरुद्ध षड्यन्त्र र चुनावमा धाँधली भएको आरोप लगाउँदै गठबन्धनमा आबद्ध दलका नेता/कार्यकर्ता/मतदातालाई द्रव्यपिशाचको संज्ञा दिइरहेका छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली निर्वाचनमा पराजित भए।

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल पनि पराजित भए। यस्तै प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईलाई प्रतिनिधिसभाको यस निर्वाचन अफापसिद्ध रह्यो। 

नेपाली कांग्रेसका सह-महामन्त्री उमाकान्त चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी समिति सदस्य अनिलकुमार झा तथा गृहमन्त्री बालकृष्ण खाण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ पनि निर्वाचनमा पराजित भए। कांग्रेसका अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बेको झिनो मतान्तरले पराजित भएपनि उनका प्रतिस्पर्धी एमालेका बसन्त नेम्वाङलाई निर्वाचन आयोगले आधिकारिक रूपमा विजयी घोषित गरेको छैन। 

पूर्व-सभामुख ओनसरी घर्ती, पूर्व-उपसभामुख पुष्पा भुसाल गौतम तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका लागि पनि यसपटकको निर्वाचन फलदायी हुन सकेन। सुनसरी-३ मा जारी गणनामा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार एमालेकी भगवती चौधरीभन्दा फराकिलो अन्तरले पछि परेका छन्।

अघिल्लो प्रतिनिधिसभा सदस्य अञ्जना विशङ्खे, अभिषेकप्रताप शाह, कृष्णकुमार राई, कृष्णभक्त पोखरेल, गणेश ठगुन्ना, गौरीशङ्कर चौधरी, गङ्गा चौधरी (सत्गौवा), घनश्याम भुसाल, चक्रपाणी खनाल, चित्रलेखा यादव, झपटबहादुर रावललाई निर्वाचन परिणामले निरासा तुल्यायो।

निवर्तमान सांसद देवेन्द्रराज कँडेल नवराज सिलवाल, निरुदेवी पाल, प्रमोद साह, बृजेशकुमार गुप्ता, भरतकुमार शाह, भानुभक्त ढकाल, भीमसेनदास प्रधान, भूमिप्रसाद त्रिपाठी र  महेश्वर बस्नेतका पक्षमा निर्वाचनको परिणाम आएन।

अघिल्लो प्रतिनिधिसभामा रहेका मातृकाप्रसाद यादव, मोहम्मद इस्तियाक राई, यज्ञराज सुनुवार, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, राजेन्द्रप्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, रामवीर मानन्धरलाई पनि निर्वाचन बार बन्यो। जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीलाई पनि यस निर्वाचनले सदन प्रवेशमा धक्का लगाएको छ। 

पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, लालबाबु पण्डित, सुजाता कोइराला, लेखराज भट्ट, विजयकुमार गच्छदार, बीना मगर, विरोध खतिवडा, सोमप्रसाद पाण्डेय, शेरबहादुर तामाङ तथा पूर्वसांसदहरू विजय सुब्बा, विशाल भट्टराई सूर्यप्रसाद पाठक र कोमल वलीका लागि पनि यो निर्वाचन बाधक रहन पुग्यो।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्रतिनिधिसभातर्फ हालसम्म १५९ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म कांग्रेसले ५३ स्थानमा जित निकाल्दै २ सिटमा अग्रता बनाएको छ। ४२ सिट जितेको एमाले एक स्थानमा अघि छ। माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, जसपा ७, स्वतन्त्र ५, लोसपा ५ र नागरिक उन्मुक्ति पार्टी ३ स्थानमा विजयी भएको छ। ५ स्वतन्त्र उम्मेदवारले जित्दा नेमकिपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट जितेका छन्। 

प्रकाशित: Nov 28, 2022| 15:50 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...