मंगलबार, भदौ १०, २०८२

मतदाताले रुचाएनन् परिवारवाद

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा धेरै हस्तीहरु पराजित भएका छन्। पराजित हुने धेरै हस्तीहरु एमालेका छन्।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा धेरै हस्तीहरु पराजित भएका छन्। पराजित हुने धेरै हस्तीहरु एमालेका छन्। 

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल पराजित भए भने नेपाली कांग्रेसका गृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला पराजित भएका छन्। 

त्यस्तै माओवादी केन्द्रका महासचिव देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती पराजित भइन्। जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि यो चुनावमा पार पाउन सकेनन्। यस्तै यो चुनावमा नेताहरुका परिवारका सदस्यहरु धेरैले पार पाउन सकेनन्। 

नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला मोरङ–२ बाट उमेदवार बनेकी थिइन्। तर उनले यो चुनावमा पार पाउन सकिनन्। विगतमा गिरिजाप्रसादले चुनाव लड्दै आएको क्षेत्रबाट उमेदवार बनेकी सुजाताले आफू गिरिजाको उत्तराधिकारी भएको प्रचार गरेकी थिइन्। तर मतदाताले उनलाई स्वीकार गरेनन्। एमालेका ऋषिकेश पोखरेलले ३३ हजार १४८ मत ल्याउँदा सुजाताले ३१ हजार ९४० मत मात्रै पाइन्।

रौतहट–२ बाट जेलमा रहेका पूर्वसांसद मोहम्मद अफताब आलमको उत्तराधिकारी बन्न गएको उनका छोरा फिरदोस आलमलाई पनि मतदाताले अस्वीकार गरिदिए। आफ्नै राजनीतिक योगदान भन्दा पनि बाबुको कारण टिकट पाएका फिरदोस स्वतन्त्र उम्मेदवार किरणकुमार साहसँग पराजित भए। साहले ३२ हजार ८४२ मत ल्याएर चुनाव जित्दा आलमले २८ हजार २४८ मात्रै मत पाए। यो क्षेत्रबाट २०५६ देखि २०७४ सालसम्म अफताब आलमले चुनाव लडेका थिए।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर पनि यसपटक कञ्चनपुर–१ बाट पराजित भइन्। २०७४ मा यसै क्षेत्रबाट चुनाव जितेकी विनालाई यसपटक नेकपा एमालेका तारा लामा तामाङले ५ हजार भन्दा बढी मतान्तरले पराजित गरे। लामाले २४ हजार ८९२ मत पाउँदा बिनाले १९ हजार ३४६ मात्र पाइन्।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट निर्वाचित हुँदा उनकी पत्नी ओनसरी घर्ती भने काठमाडौं–२ बाट पराजित भइन्। पूर्वसभामुखसमेत रहेकी ओनसरीका लागि काठमाडौं नयाँ निर्वाचन क्षेत्र थियो। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम १५ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा ओनसरीले ९ हजार ४५९ मत मात्रै पाइन्। 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि मतदाताको रोजाइमा परिनन्। माओवादी केन्द्रको चुनाव चिन्हबाट उमेदवार बनेकी मानुषीलाई काठमाडौं–७ का मतादाताले स्वीकार गरेनन्। यो क्षेत्र कुनै समय मानुषीका आमा हिसिलाको चुनावी क्षेत्र हो। मानुषी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइन्। पराजुलीले ८ हजार ७४३ मत पाएर चुनाव जित्दा मानुषी ६ हजार ६३ मत पाएर तेस्रो स्थानमा रहिन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्याम घिमिरेले ६ हजार ८०० मत पाए।

सर्लाहीका शिवपूजन राय २०६४ सालको संविधानसभा सदस्य थिए। तर कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग प्रकरणमा उनलाई विशेष अदालतले दोषी ठहर गरेपनि उनी उमेदवार हुन पाएनन्। उनले यसपटक काठमाडौंमा नर्सिङ पढिरहेकी छोरी मधुमालाकुमारी यादव सर्लाही–४ बाट उम्मेदवार बनाए। तर यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह निर्वाचित हुँदा मधुमालाकुमारी तेस्रो स्थानमा रहिन्। सिंहले २० हजार १७ मत ल्याएर निर्वाचित हुँदा मधुमालाले १४ हजार ६२२ मत पाइन्। बाबुको सहयोगबाट संसद बन्ने मधुमालाकुमारीको योजना यसपटक मतदाताले अनुमोदन गरेनन्।

यस्तै नेकपा एमालेका नेता रघुवीर महासेठ र उनकी पत्नी जुलीकुमारी महतो दुवै यसपटक धनुषाबाट उम्मेदवार थिए। रघुवीर धनुषा–४ मा थिए भने जुली धनुषा–३ मा। तर रघुवीर कांग्रेस नेता महेन्द्र यादवसँग प्रतिस्पर्धामा पछि परिरहेका छन् भने जुलीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिलकुमार झालाई पराजित गरिन्। जुलीले ३३ हजार ३५५ मत पाउँदा झाले २३ हजार ६८६ प्राप्त गरे। तर रघुवीर भने करिब एक हजार मतान्तरले पछि छन्।

प्रकाशित: Nov 28, 2022| 10:12 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...