काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई आएको मतबारे आशंका व्यक्त गरेका छन्। उक्त पार्टीको समानुपातिक मतको वृद्धिदर अस्वाभाविक देखिएको ओलीको आरोप छ।
एकीकृत समाजवादीको समानुपातिक मतको वृद्धिदरलाई संकेत गर्दै ओलीले सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वभाविक वृद्धि देखिन थालेका आरोप लगाएका हुन्।
'सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुन सक्छ,’ आफ्नो आधिकारिक फेसबुक पेजमा ओलीले लेखेका छन्, 'जिल्ला-जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस्।’
मतगणनामा प्रतिनिधि बसेका आफ्ना कार्यकर्तालाई मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेज बक्समा पठाउनसमेत ओलीको अनुरोध छ।