पाल्पा- मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा पाल्पाका एकै परिवारका दाजुभाइ निर्वाचित भएका छन्। रुपन्देही-२ 'ख' बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ र पाल्पा-१ 'क'बाट निर्वाचित राजु प्रसाद श्रेष्ठ सहोदर दाजुभाइ हुन्। दुवै जना नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
रुपन्देहीबाट निर्वाचित भोजले नेकपा माओवादी केन्द्रका उम्मेदवार वामदेव क्षेत्रीलाई पराजित गरेर निर्वाचित भए। भोजले १६ हजार ३ सय मत पाउँदा क्षेत्रीले ९ हजार ४१० मत पाए। पाल्पा-१ 'क'बाट निर्वाचित राजुले १७ हजार ६४२ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत पाए।
भोजप्रसाद २०५४ सालमा बुटवल नगरपालिकाको नगरप्रमुख भएका थिए। राजु पनि २०७४ मा रामपुर नगरपालिकामा नगरप्रमुखमा पराजित भएका थिए। यसपटक दाजुभाइ नै सांसद निर्वाचित भए।
भोज यसअघि पनि सांसद बनेका थिए। उनी लुम्बिनी सरकारमा मन्त्रीसमेत भए।