बुधबार, भदौ ११, २०८२

यी बहालवाला मन्त्री, जसले चुनाव हारे/हार्दैछन्

सरकारमा रहेका मन्त्रिपरिषद् सदस्यमध्ये पम्फा भुसाल, महेश्वरजंग गहतराज, जीवनराम श्रेष्ठ, उमेश श्रेष्ठले निर्वाचनमा पराजय बेहोरेका छन् भने बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की मत गणनामा पछि परिरहेका छन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं– ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। प्रारम्भिक मत परिणामलाई हेर्दा प्रत्यक्षतर्फ कांग्रेस अगाडि देखिन्छ भने एमाले दोस्रोमा छ। हालसम्म प्रत्यक्षतर्फ प्रतिनिधिसभाको १६५ मध्ये ११६ सिटको नतिजा सार्वजनिक भइसकेको छ। नतिजालाई केलाउँदा कतिपय ठाउँमा बहालवाला मन्त्री नै पराजित भइरहेका छन्। अहिलेसम्म ५ जना मन्त्री पराजित भइसकेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, मत गणना चलिरहेको क्षेत्रका दुई मन्त्री पछाडि देखिन्छन्।

बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जना मन्त्री भने विजयी भएका छन्। मन्त्रीहरू जनार्दन शर्मा, नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, देवेन्द्र पौडेल, मेटमणि चौधरी र शेरबहादुर कुँवरले जित निकालेका छन्। अहिलेको मन्त्रिपरिषद्मा रहे पनि महिला तथा बालबालिकामन्त्री उमा रेग्मी, भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठ, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादव र स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले भने चुनावी प्रतिस्पर्धामा भाग लिएनन्। 

यी हुन्, चुनाव हारिसकेका र पछाडि परेका बहालवाला मन्त्री उम्मेदवार–

पम्फा भुसाल (ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री)
ललितपुर ३ बाट उम्मेदवार बनेकी ऊर्जामन्त्री पम्फा भुसाल निर्वाचनमा तेस्रो बनेकी छन्। माओवादीबाट चुनाव लडेकी उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की र एमाले उम्मेदवार अमृत खड्काले उछिनेका छन्। कार्कीले ३१  हजार १३६ मत ल्याएर पहिलो बन्दा दोस्रो बनेका खड्काले १२ हजार ९६३ मत ल्याए। भुसालले भने जम्मा ८ हजार ७६९ मत ल्याएर पराजय बेहोरिन्।

उमाकान्त चौधरी (खानेपानीमन्त्री)
बहालवाला खानेपानीमन्त्री उमाकान्त चौधरी बारा १ मा पराजित भएका छन्। उनलाई नेकपा एमाले उम्मेदवार अच्युतप्रसाद मैनालीले पराजित गरेका हुन्। मैनालीले ३९ हजार १९५ मत ल्याएर जित्दा चौधरीले ३० हजार ५६ मत ल्याएका छन्।

महेश्वरजंग गहतराज, अथक (युवा तथा खेलकुदमन्त्री)
युवा तथा खेलकुदमन्त्री एवं नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज पराजित भएका छन्। बाँके १ मा प्रतिनिधिसभा उम्मेदबार रहेका गहतराज एमालेका केन्द्रीय सदस्य सूर्य ढकालसँग पराजित भएका हुन्। ढकाल २५ हजार २६ मत ल्याएर निर्वाचित भए। मन्त्री गहतराज १९ हजार ६३२ मत ल्याउँदै दोस्रो भए। ढकालले ५ हजार ३९४ मतान्तर कायम गर्दै जित हात पारेका हुन्। २०७४ को निर्वाचनमा उक्त क्षेत्रमा गहतराज विजयी भएका थिए।

जीवनराम श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री)
काठमाडौं ८ मा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका जीवनराम श्रेष्ठ पराजित भएका छन्। तेस्रो भएका श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीले पराजित गरेका हुन्।

निर्वाचन अयोगका अनुसार सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याएर विजयी भएका छन्। त्यस्तै, दोस्रो बनेका हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन् भने श्रेष्ठले जम्मा ४ हजार ८७७ मत प्राप्त गरेका छन्।

उमेश श्रेष्ठ, राज्यमन्त्री
चितवन २ मा कांग्रेसबाट उम्मेदवार बनेका राज्यमन्त्री उमेश श्रेष्ठले पराजय बेहोरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पराजित गरेका हुन्। लामिछानेले ४९ हजार २६१ मत ल्याएर चुनाव जित्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन्। यी दुई उम्मेदवारको मतान्तर ३४ हजार १३२ रहेको छ।

पछि परिरहेका छन्, गृहमन्त्री बालकृष्ण खाण
रुपन्देही ३ मा बहालवाला गृहमन्त्री बालकृष्ण खाण पनि पछाडि परेका देखिन्छन्। हालसम्मको नतिजाअनुसार खाण १ हजार बढी मतले पछि छन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले उछिनेका छन्। बोहराले २७ हजार १४२ मत ल्याएर अग्रता लिँदा खाणले २६ हजार ५६५ मत ल्याएका छन्। यस क्षेत्रमा मतगणना जारी छ।

ज्ञानेन्द्रबहादुर कार्की पनि पछि परे 
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि मत गणनामा पछाडि परेका छन्। प्रारम्भिक मत परिणाम हेर्दा कार्की पनि सुरक्षित देखिँदैनन्। सुनसरी ४ मा उनलाई एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले करिब २ हजार मतले उछिनेका छन्। कुसियैतको १७ हजार १४१ मत रहँदा कार्कीको १५ हजार ९६४ मत छ। सो क्षेत्रमा मतगणना जारी छ।

प्रकाशित: Nov 25, 2022| 14:19 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...