बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नवनिर्वाचित जनप्रतिनिधिका प्राथमिकता : अधुरा र अलपत्र योजना सम्पन्न गर्ने

नवनिर्वाचित जनप्रतिनिधिका प्राथमिकता : अधुरा र अलपत्र योजना सम्पन्न गर्ने

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनालाई छ महिनाभित्र सुरु गर्ने बताए।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

म्याग्दी- म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरूले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनालाई छ महिनाभित्र सुरु गर्ने बताए।

‘म्याग्दीमा विकास निर्माणका काम अलपत्र छन्। ठेकेदार साथीहरूलाई लुकाएर राखेका छन्’, उनले भने, ‘अबको छ महिनाभित्र यी अलपत्र योजनालाई तीव्रताका साथ कार्यान्वयन हुने वातावरण बनाउँछौँ।’ जिल्लाका २०  सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अलपत्र परेका छन्। सडक र पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको छ। 

म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका नौवटा सडक र मोटरेबल पुलसम्बन्धी आयोजना अलपत्र परेका हुन्। पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छवटा सडक र पाँचवटा मोटरेबल पुल थलिएका छन्। 

यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको भवन निर्माण योजना अलपत्र छ। व्यवसायीको ढिलासुस्ती, सङ्घबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको प्रक्रियागत ढिलाइ, सडक क्षेत्रमा पर्ने जग्गाधनीको अवरोध, कोरोना महामारी, पहिरो, बाढी र कटानका कारण सडक र पुल निर्माणकार्य प्रभावित भएको हो।

प्रदेशसभा (२) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रेशमबहादुर जुग्जालीले समृद्ध, सुन्दर र विकसित म्याग्दी बनाउन प्रतिस्पर्धी दलका नेताहरूलाई समेत सहकार्यको वातावरण बनाउन आह्वान गरे।

‘म्याग्दीका जनताको विश्वास र आशालाई हामीले मर्न दिने छैनौँ’, उनले भने, ‘संसदमा म्याग्देली जनताको समस्या उठान गरी समाधानको पहल गर्नुका साथै र जनताको अपेक्षा पूरा गरेरै छाड्छौँ।’ पाँच वर्षभित्रमा हामीभन्दा अगाडिका जनप्रतिनिधिले गरेका भन्दा धेरै र फरक किसिमको काम गरेर विकास र परिवर्तनको अनुभूति दिलाउने प्रतिबद्धता जनाए।

प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का हरिबहादुर भण्डारीले म्याग्दी जिल्लाको विकासको संवाहक बन्ने र परिवर्तनको दियो बालेर गाउँ बस्तीमा आउने बताए। ‘म्याग्दीको पूर्वाधार, सामाजिक र आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन हामीले प्राथमिकता दिन्छौँ’, उनले भने– ‘म्याग्दीमा विकासको संवाहक, जनताको दुःखमा सेवक र सुखमा साथी बनेर आउनेछु।’ 

युवाहरूको बेरोजगारको समस्या समाधानका लागि विशेष योजना बनाउने र नीतिगतरूपमा पहल गर्ने जनप्रतिनिधिको भनाइ छ। विकासका नयाँ योजना र रोजगारीका अवसर सिर्जना गर्ने वचनबद्धता व्यक्त गरे। उनीहरूले अब जिल्लाले विकास निर्माणको क्षेत्रमा फड्को मार्ने दाबी गरे।  -रासस

प्रकाशित: Nov 25, 2022| 08:20 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...