काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्। झापामा बिहीबारनिर्वाचित भएको प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा उनले निर्वाचनको परिणाम सुखद् नभएको बताए।
ओलीले अब यही अवस्थामा मिलीजुली सरकारमात्र बन्ने अवस्था रहेको बताए। उनले भने, ‘राजनीति अब जनताका समस्यामा भन्दा १–२ महिना सरकार गठनको खेलमा बित्ने भयो। जो मन्त्रीले जस्तो बोलोस्, कारबाही हुँदैन। सरकार टिकाउनुपर्यो। त्यसैले पनि सरकार अस्थिरतातर्फ जाने खतरा देखिन्छ।’
अध्यक्ष ओलीले निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप पनि लगाए। उनले भने, ‘यो परिणाम अपेक्षित छैन। धेरै ठाउँमा धाँधली भएको छ। हामी धाँधली भएका ठाउँमा पुनः निर्वाचनको माग गर्छौं।’
निर्वाचन परिणाप्रति असन्तुष्ट देखिएका ओलीले अब मुलकमा पुनः फोहोरी खेल सुरु भएको जिकिर गरे। ‘पछिल्लो दुई वर्षमा मुलुकमा जस्तो फोहोरी खेल भएको थियो, अब त्यही दोहोरिनेछ। क्षमताको आधारमा जिम्मेवारी दिनेभन्दा टाउको गनेर मोलमोलाइ गर्ने समय आएको छ,’ उनले भने।