काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले चुनावी मत परिणामबारे पछि विश्लेषण गरिने बताएका छन्। बिहीबार झापाको भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले चुनावमा जितेका उम्मेदवारलाई बधाइ र पराजितप्रति सहानुभूति रहेको बताए।
उनले भने, ‘परिणामबारे पछि विश्लेषण गरौंला। विजयीलाई बधाइ र पराजित भएकालाई सहानुभूति छ। तर हराइएका र हराउन खोजिएकामा असहमति राख्छु।’
चुनावमा सत्ताको दुरुपयोग भयंकर भएको ओलीले आरोप लगाए। ‘बुथ कब्जा, हत्या र राज्य संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति देखिए। हेलिकोप्टरबाट गुन्डा ओसार्ने प्रवृत्ति चिन्ताको विषय हो। सत्ता संरक्षित, सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्याप्चार, हिंसाजस्ता कुरा निन्दनीय छन्,’ ओलीले भने।
ओलीले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मतबारे पनि बोले। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो कुरा होइन, मामुली हो। धेरै उदय भएको भनेर मिडियाले प्रचार गरे। यसमा पत्रकारको कृपा रहेको छ। तपाईंहरु (पत्रकार) ले देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको गन्तवय के हो, के कार्यक्रम हो, के नीति हो? थाहा छैन। हाहाहुहुमा देश चल्दैन।’ ओली झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन्।