भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन्। बिहीबार बिहान सकिएको मतगणना अनुसार थापा २४ हजार २३८ मत ल्याएर विजयी भएका हुन्।
थापाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २७५ मत ल्याएका छन्। थापाले बस्नेतलाई ९६३ मतले हराएका हुन्। यो क्षेत्रमा सुरुदेखि नै थापाले लिड गरिरहेका थिए। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। यसअघि २०७४ मा महेश यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।
कांग्रेस महाधिवेशनका कार्यक्रम सुरु हुनुभन्दा केही दिनअघि महेशले प्रधानमन्त्री देउवालाई आफूसँग चुनाव लड्न आउन र जितेर देखाउन चुनौती दिएका थिए। महेशको चुनौतीलाई प्रतिचुनौती दिँदै कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले आगामी चुनावमा आफूलाई नभएर भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापालाई जितेर देखाउन चुनौती दिएका थिए।
‘महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन्। बस्नेतजीले मलाई होइन, भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्,ु प्रधानमन्त्री देउवाले भनेका थिए।
२०७४ सालको निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेतलाई यसपालि दुर्लभले हराएपछि देउवाको त्यो चुनौतीका विषयमा पुनः चर्चा हुन थालेको छ।