काठमाडौं- आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन्।
यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन्।
निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ दुई हजार ४१२ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ। प्रतिनिधसभामा प्रत्यक्षतर्फ १६५ जना पहिलो हुने निर्वाचित हुनेछन्। समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुनेछन्।
प्रदेशसभातर्फ प्रत्यक्षतर्फ तीन हजार २२४ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ७०८ जना उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ। प्रदेशसभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।
यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कुल पाँच हजार ६३६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार ९०७ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ।
प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा गरी ४९५ सिटका लागि पाँच हजार ६३६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र देखाएर मतदान गर्न सक्नेछन्। मतदाता परिचयपत्र नभएका तर नाम सूचीकृत भएका मतदाताले अन्य सरकारी कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ।