मंगलबार, वैशाख १६, २०८२

प्रभुलाई टक्कर दिन कसलाई पठाउला गठबन्धनले?

२०६४ को चुनावपछि यो जिल्लामा अर्का नेताको नाम जोडिएर आउन थालेको छ। २०६४ सालपछि यो जिल्लालाई प्रभु साहको जिल्ला पनि भन्न थालिएको छ। उनी हालको रौतहट-३ बाट लगातार तेस्रो पटक चुनिइसकेका छन्। यसपालि पनि उनी निर्वाचनको मैदानमा हुने निश्चितप्राय छ।
 |  शुक्रबार, असोज १४, २०७९

खिला कार्की

खिला कार्की

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- रौतहट यतिबेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहजिल्लाका रूपमा चिनिन थालेको छ। प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पर्ने स्थानीय तहमा समाजवादीको नतिजासँगै अध्यक्ष नेपालले यसपालि रौतहटबाटै चुनाव लड्ने मनशाय बनाएकाले जिल्लासँग जोडिने नेताको नाममा उनी अग्रपंक्तिमा देखिन थालेका हुन्। उनी २०४८ सालदेखि निरन्तर यही क्षेत्रबाट चुनावी मैदानमा छन्।

२०७४ सालको चुनावताका रौतहट कांग्रेस नेता मोहम्मद अफताव आलम(हाल जेलमा रहेका)को जिल्लाका रूपमा चिनिन्थ्यो। २०४८ सालतिर यो क्षेत्रलाई कांग्रेसका इमान्दार नेता शेख इद्रिसको जिल्ला भनेर चिनिन्थ्यो। पछि इद्रिसको क्षेत्रमा उत्तराधिकारीका रूपमा अफताब आलम उदाएका  थिए। 

२०६४ को चुनावपछि यो जिल्लामा अर्का नेताको नाम जोडिएर  आउन थालेको छ। २०६४ सालपछि यो जिल्लालाई प्रभु साहको जिल्ला पनि भन्न थालिएको छ। उनी हालको रौतहट-३ बाट लगातार तेस्रो पटक चुनिइसकेका छन्। यसपालि पनि उनी निर्वाचनको मैदानमा हुने निश्चितप्राय छ। 

माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीबाट तीन पटक चुनाव  जितेका साह यसपालि एमालेमा पुगेका छन्। हसियाँहथौडाबाट ह्याट्रिक गरेका साह यो पटक सूर्य चिन्ह लिएर चुनावी मैदानमा जानेछन्। एमाले र माओवादीबीचको एकीकरण बदर ठहर भएपछि साहले एमाले रोजेका हुन्। त्यही कारणले उनको सांसद पद पनि गुम्यो। यो पटक एमालेको चुनाव चिन्हबाट उम्मेदवार बन्न लागेका साहको प्रतिस्पर्धी सत्तामा रहेका ५ दलीय गठबन्धनले कसलाई बनाउला भन्ने चासोका साथ हेर्न थालिएको छ। 

यस्तो छ रौतहट-३ को अवस्था
आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेले रौतहट-३ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ प्रभु साहलाई सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिबाट सर्वसम्मत सिफारिस भएका साहलाई केन्द्रले सदर गर्ने पक्का जस्तै छ। यसो हुँदा उनी पाँचदलीय गठबन्धनविरुद्ध एक्लै चुनावमा होमिनेछन्। तर, पछिल्ला तीनै निर्वाचनमा माओवादीबाट जितेर ह्याट्रिक गरेका साहलाई यसपालि भने सत्ता गठबन्धन ठूलो चुनौती बन्ने देखिन्छ। उनले २०६४ र २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जित्दै ह्याट्रिक गरेका थिए। २०७४ को चुनावमा उनले नेपाली कांग्रेसका सुनीलकुमार यादवलाई हराएका थिए। साहले २७ हजार ७ सय ९९ मत ल्याउँदा यादवले १८ हजार २०६ मत पाएका थिए। 

Metro Mart
worldlink

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रौतहट-३ मा एमाले पहिलो दल बनेको छ। तर, वडागत मतमा भने एमाले गठबन्धनभन्दा धेरै पछाडि छ। यसकारण दलगत रूपमा एमाले बलियो देखिए पनि पाँच दलको संयुक्त मोर्चासामु कमजोर नै छ। जिल्लाका १८ मध्ये यस क्षेत्रमा ६ पालिका पर्छन्। ती गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, कटहरिया नगरपालिका सबै वडा र गरुडा गाउँपालिकाका ५, ६, ७, देवाहीगोनाही नगरपालिकाका ५, ६, ७, ८, ९ र मौलापुर नगरपालिकाका १, २, ३, ४, ५, ८, ९ वडाहरू हुन्। यहाँ कुल ४४ वडा छन्। 

पालिका र वडामा एमाले पहिलो दल भए पनि गठबन्धनविरुद्ध उसलाई जित निकाल्न चुनौती छ। गठबन्धन घटकहरूले प्राप्त गरेको सम्पूर्ण मतलाई जोडेर तुलना गर्दा एमाले झन्डै ३० हजार मतले पछाडि छ।

यो क्षेत्रमा पर्ने ६ पालिकामध्ये एमालेले तीनमा प्रमुख र दुईमा उपप्रमुख जितेको छ। कांग्रेसले दुईमा प्रमुख र चारमा उपप्रमुख जितेको छ। एक पालिकाको प्रमुखमा जसपा विजयी छ। 

कुल ४४ वडामध्ये एमालेले १८ वडा जितेको छ। दोस्रोमा कांग्रेसले १५ वडा जितेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान तीनतीन वडा जितेका छन्। २ वटामा भने स्वतन्त्र विजयी छन्।

वडाध्यक्षले पाएको मतमा पनि एमाले नै अगाडि छ। कुल ४४ बाट २१ हजार ८ सय १ मत प्राप्त गर्दै एमाले पहिलो दल बनेको छ। कांग्रेस १९ हजार २ सय ७० मत पाएर दोस्रो बनेको छ। त्यस्तै, एकीकृत समाजवादीले ११ हजार ७ सय ३६ मत ल्याएर तेस्रो बनेको छ भने माओवादी केन्द्र ११ हजार २ सय ७६ मत पाएर चौथो दल बनेको छ। 

वडागत मतमा पाचौँ दल बनेको जसपाले ९ हजार ४ सय २६ मत प्राप्त गरेको छ। मधेश प्रदेशका केही स्थानमा राम्रो प्रभाव भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले यो क्षेत्रमा १ हजार ८१ मत पाउँदा राप्रपाको १ सय ४३ मत आएको थियो। 

पालिका र वडामा एमाले पहिलो दल भए पनि गठबन्धनविरुद्ध उसलाई जित निकाल्न चुनौती छ। गठबन्धन घटकहरूले प्राप्त गरेको सम्पूर्ण मतलाई जोडेर तुलना गर्दा एमाले झन्डै ३० हजार मतले पछाडि छ। गठबन्धनले ५१ हजार ७ सय ८ मत हुँदा एमालेको २१ हजार ८ सय १ मत मात्र छ। त्यसो त एमालेले राप्रपा र लोसपासँग चुनावी तालमेल गर्ने निर्णय भइसकेको छ। तर, तालमेल भए पनि त्यसले एमालेलाई ठूलो सहयोग हुने देखिँदैन। एमालेले लोसपा र राप्रपाबाट केही मत पाउँछ, जुन गठबन्धनविरुद्ध जित दिलाउन पर्याप्त देखिँदैन। 

गठबन्धनबाट उम्मेदवार को? 
सत्तारुढ गठबन्धनले सिट भागबण्डा गर्दा यो क्षेत्र जसपाका भागमा परेको छ। जसपाले यो क्षेत्रमा गोविन्द चौधरीलाई उमेदवारका रुपमा अगाडि सारेका छन्। मधेश प्रदेशका कांग्रेस सभापति कृष्ण यादव रौतहट-३ कांग्रेसको आधार क्षेत्र भएपनि गठबन्धनले जसलाई उम्मेदवार बनाएपनि कांग्रेसको पूर्ण साथ रहने उनले बताउँछन्। 

प्रकाशित: Sep 30, 2022| 19:00 शुक्रबार, असोज १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...