बिहीबार, वैशाख १८, २०८२

शर्मालाई सहज छैन संसद्‌को बाटो, बाधक बन्‍नसक्छ सिटौलासँगको इगो

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भइसकेपछि शर्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेट्न पुगेका थिए। कयौंले सिटौला र शर्माको सम्बन्ध सुमधुर हुने आँकलन पनि गरेका थिए। तर, आम आकलन विपरित भयो, स्थानीय निर्वाचन।
 |  सोमबार, असोज ३, २०७९

विनय बाह्रकोटी

विनय बाह्रकोटी

सोमबार, असोज ३, २०७९

इटहरी- नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भइसकेपछि विश्वप्रकाश शर्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेट्न पुगेका थिए। कयौंले सिटौला र शर्माको सम्बन्ध सुमधुर हुने आँकलन पनि गरेका थिए। तर, आम आकलन विपरित भयो, स्थानीय निर्वाचन। जसमा सिटौला-शर्माको जुँगाको लडाइँको फाइदा अन्य पार्टीले लिए। 

गत स्थानीय निर्वाचनको टिकट वितरणमा चर्चित बन्यो झापाको मेचीनगर नगरपालिका। नेपाली कांग्रेसको विधान अनुसार महानगरबाहेक अन्य पालिकाको टिकट प्रदेशले नै टुंगो लगाउने प्रावधान छ। सोही बमोजिम प्रदेश १ संसदीय समितिले मेचीनगरको प्रमुखमा झापा जिल्ला उपसभापति केशवराज पाण्डेलाई टिकट दियो। 

पाण्डेले मनोनयन दर्ताको सम्पूर्ण तयारी गरे। बाजागाजासहित मनोनयन गर्ने तयारीमा थिए, पाण्डे। पछि निर्वाचन कार्यालयले कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनमा भइसकेको जानकारी दियो। पाण्डे सशंकित भए। लामो समयदेखि मेयरको तयारीमा रहेका पाण्डेलाई अन्तिम समयमा धक्का लाग्यो। 

पाण्डेको टिकट रोक्ने एकल खेलाडी थिए, महामन्त्री विश्वप्रकाश शर्मा। मेचीनगरकै स्थानीय रहेका शर्मा आफ्नो पक्षका नेतालाई टिकट नदिइएपछि आक्रोशित बनेका थिए। मेचीनगरमा पाण्डेको लोकप्रियता शर्मालाई पाच्य थिएन।

निवर्तमान मेयर विमल आचार्यलगायतले समेत पाण्डेलाई नै मेयरको उम्मेदवार बनाउन प्रस्ताव गरेको भए पनि शर्माले उनको बाटो छेके। गृहनगरमा आफूले भनेको नेताले नै टिकट पाउनुपर्ने अडान लिएका शर्माले टिकट परिवर्तन गरी इन्द्र बुढाथोकीलाई उम्मेदवार बनाए। शर्माकै आक्रोश र आवेगको परिणाम उनले उम्मेदवार बनाएका बुढाथोकी पराजित भए। 

Metro Mart
worldlink

त्यस्तै बिर्तामोड नगरपालिकामा पनि शर्मा समर्थित जलकुमार गुरुङले टिकट पाएनन्। गुरुङले स्थानीयस्तरमा लोकप्रिय नेताको छवि बनाए पनि पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको समर्थक नभएकै कारण उम्मेदवारीबाट विमुख भए। टिकट पाएका कृष्ण सिटौलाका भतिज भोजराज सिटौला पनि पराजित भए। 

मेचीनगरकै स्थानीय रहेका शर्मा आफ्नो पक्षका नेतालाई टिकट नदिइएपछि आक्रोशित बनेका थिए। मेचीनगरमा पाण्डेको लोकप्रियता शर्मालाई पाच्य थिएन।

शर्मा र सिटौला पक्षको टकराव १२ औं महाधिवेशन बाट सुरु भएको हो। तत्कालीन अवस्थामा झापा जिल्ला सभापतिको प्रत्याशी रहेका शर्मालाई हाल प्रदेश १ सभापति उद्धव थापाले पराजित गरेका थिए। सिटौला निकट थापा दुई कार्यकाल जिल्ला सभापति भए। 

१४ औँ महाधिवेशनमा प्रदेश १ को पहिलो सभापति बन्‍ने अवसर पाए। सिटौला र सभापति देउवा पक्षको संयुक्त उम्मेदवार बनेका थापाले अर्का उम्मेदवार गुरुराज घिमिरेलाई २ मतले पराजित गरे। टिकट बाँड्ने ठाउँमा पुगेका थापालाई राजनीतिक चेक दिन शर्माले मेचीनगरको टिकट परिवर्तन गरेको देखिन्छ। 

झापा जिल्ला अधिवेशनमा पनि सिटौला पक्षकै उम्मेदवार विजयी भए। सिटौला पक्षका देउमान थेबे विजयी हुँदा शर्मा पक्षका राम कट्टेल पराजित भए। केन्द्रीय महाधिवेशनमा पनि शर्मालाई महामन्त्रीमा रोक्न देउवासँग सिटौलाले महामन्त्रीमा आफ्नो भाग मागे। सिटौलाको पक्षबाट देउवाको प्यानलमा उम्मेदवार बनेका प्रदीप पौडेल पराजित भए। जसले सिटौलालाई केही कमजोर बनायो। तर, जिल्लाको राजनीतिमा शर्मालाई कमजोर बनाउन सिटौला र सिटौलालाई बलियो हुन नदिन शर्मा प्रयासरत छन्। 

सिटौला-शर्मा टकराबले झापाको मेचीनगर र बिर्तामोड नगरपालिका कांग्रेसले गुमाएको आरोप कार्यकर्ताले लगाउने गरेका छन्। स्थानीय स्तरमा लोकप्रिय भन्दा पनि गोजीका मान्छेलाई टिकट दिँदा दुईवटा नगरपालिकामा कांग्रेस कमजोर भएको उनीहरू बताउँछन्। 

पार्टी राजनीतिमा प्रभावशाली बनेका शर्माले संसदीय राजनीतिमा भने प्रवेश पाएका छैनन्। कम्युनिस्टको गढ मानिएको क्षेत्रमा कांग्रेसको एकता नहुँदा उनी सफल हुन सकेका छैनन्। २०७० मा पहिलो पटक चुनावी मैदानमा उत्रिएका उनी एमाले उम्मेदवार रविन कोइरालासँग पराजित भए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका राम कार्कीले शर्मालाई पराजित गरे। कार्की ३६ हजार १७३ मत ल्याएर विजयी हुँदा शर्माले ३३ हजार ३१० मत प्राप्त गरे। 

गत स्थानीय तहको निर्वाचनले पनि शर्मालाई कमजोर देखाएको छ। आन्तरिक समस्याका बाबजुद एमाले राप्रपा गठबन्धन सँग सत्तारुढ ५ दलीय गठबन्धन कमजोर छ। क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका सम्पूर्ण वडा पर्छन्। भद्रपुर नगरपालिकाका ९ र १० र बुद्धशान्ती गाउँपालिकाका ४, ५, ६, ७ नम्बर वडाहरू छन्। 

वडाध्यक्षका उम्मेदवारको मत हेर्दा कांग्रेसले २४ हजार ५९, माओवादी केन्द्र ३ हजार ९०५ मत र एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २५२ मत प्राप्त गरेका थिए। एक्लै प्रतिस्पर्धा गरेको एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २३२ मत ल्याउँदा राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ८३० मत पाए। अन्य साना दल र स्वतन्त्रको मत हिसाब गर्दा ४ हजार ६५२ मत पुग्छ। दलीय हिसाबमा सत्तारुढ गठबन्धन भन्दा एमाले एक्लै मत २ हजार ५०० ले बढी छ। 

अहिलेको अवस्थामा झापाका राप्रपाले एमालेसँग गठबन्धन गर्ने अवस्था छ। यस्तो अवस्थामा शर्मा झनै समस्यामा पर्ने निश्चित छ। स्वतन्त्र मतलाई आफ्नो पक्षमा पार्न सक्नु र कांग्रेसभित्रको असन्तुष्टि मिलाउन सक्नु उनको लागि सजिलो विषय भने छैन।

प्रकाशित: Sep 19, 2022| 07:56 सोमबार, असोज ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...