सोमबार, असार २, २०८२

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।
 |  सोमबार, साउन २३, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, साउन २३, २०७९

काठमाडौं– २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनताका माओवादीको जगजगी थियो। माओवादी ‘अरूलाई हेर्यौं पटक–पटक, माओवादीलाई हेरौं यो पटक’ नारा दिएर चुनावी मैदानमा थियो।

२०६४ को चुनावमा नेपालको संसदीय राजनीतिका खेलाडीलाई पाखा पार्दै जनयुद्धको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन नेकपा माओवादीले जित हात पार्यो। पहिलो पटक संसदीय राजनीतिमा होमिएको माओवादी २२० ठाउँमा जितेर पहिलो दल बन्यो। त्यो बेला कांग्रेसले ११० र नेकपा एमालेले १०३ सिटमै चित्त बुझाए।

२०६४ को चुनावमा कांग्रेस, एमालेका धेरै दिग्गज नेताहरूले हार बेहोरेका थिए। यस्तै हार बेहोर्नेमध्ये नेकपा एमालेका वर्तमान अध्यक्ष केपी ओली पनि एक थिए। माओवादीबाट उम्मेदवार बनेका विश्वदीप लिङ्देनले पहिलो संविधानसभामा ओलीलाई रोकेका थिए। लिङ्देनले ओलीलाई १ हजार १४० मतले पराजित गरेका थिए। लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा ओलीको पक्षमा १४ हजार ९५९ मत आएको थियो।

पहिलो संविधानसभापछि राजनीतिको खासै चर्चामा नरहेका लिङ्देनलाई फेरि ओलीले नै चर्चामा ल्याइदिए। १२ साउनमा झापाको दमक पुगेका ओलीले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनको खोजी गरे। उनले भनेका थिए, ‘२०६४ को निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो। तर तपार्इंहरूले जिताएर पठाएको मान्छे आज कहाँ छ?’ ओलीले झापा पुगेर लिङ्देनलाई खोजेपछि उनको फेरि चर्चा बढेको छ। 

झापामा ओली खोज्दै लिङ्देन
लिङ्देन आफूले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा बसेर ओलीको खोजी गरिरहेको बताउँछन्। उनले २०६४ मा संविधानसभा सदस्य भएपछि आफू काठमाडौंमा महल बनाएर नबसेको भन्दै झापा क्षेत्र नम्बर ५ का जनता सँगै रहेको प्रतिक्रिया दिए। लिङ्देनले ओलीले आफ्ना दुईचार जना कार्यकर्ता राखेर १२ साउनमा आफूलाई कहाँ छ भनेर खोजेको प्रति असन्तुष्टि जनाए। 

उनले आफू अहिले झापामा बसेरै ओलीको खोजी गरिरहेको सुनाए। उनले भने, ‘म झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य केपी ओलीलाई खोजिरहेको छु। दमकमा खोज्दा पनि भेट्टाएको छैन। कमल गाँउपालिकामा पनि देख्दिनँ।’ गौरीगञ्ज, गौरादह कतै ओलीलाई नभेट्टाएको लिङ्देनले सुनाए। उनले भने, ‘जनताको नेता भन्ने ओली जनतालाई समस्या परेका ठाउँमा त भेटिनुहुन्छ कि भनेको, कहीँ भेट्दिनँ। न जन्त जाँदा भेट्छु, न मलामी जाँदा भेट्छु। अस्पतालतिर बिरामी भेट्न पुग्नुभयो कि भन्यो, त्यहाँ पनि भेटिनुहुन्न।’ आफूले ओलीझैं १२ महिनामध्ये ११ महिना काठमाडौं बस्ने ठूला–ठूला गफ चुट्ने काममा नलागेको उनले सुनाए। उनले भने, ‘म झापा ५ का नागरिक सँगैसँगै हाँस्ने, सँगै रुने गरेको छु। ओलीझैं बल्लबल्ल एक दिन दमक आएर २०६४ मा मलाई हराउने विश्वदीप लिङ्देन कहाँ जानुभयो भनेर खोजेको छैन। म दिनहुँ झापा ५ मा ओलीलाई खोजिरहेको छु।’

विश्वदीप लिङ्देन कहाँ छ भनेर दमक, कमल गाउँपालिका, गौरादह, गौरीगञ्जका नागरिकलाई सोध्न पनि उनको आग्रह छ। 

माओवादी छाडेर कांग्रेसमा 
पहिलो संविधानसभा निर्वाचनमा ओलीलाई हराएर चर्चा कमाएका संविधानसभा सदस्य लिङ्देन २०७४ को आमचुनाव अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनी कांग्रेस प्रवेश गरेपछि पार्टीका विभिन्न काममा निरन्तर लागिरहेका छन्। गत चौधौं महाधिवेशनअन्तर्गत भएको झापा जिल्ला अधिवेशनमा लिङ्देन जिल्ला सचिवको प्रत्यासी बनेका थिए। 

लिङ्देनले कांग्रेसको झापा जिल्ला सचिवको प्रतिस्पर्धामा सम्मानजनक मत प्राप्त गरेका थिए। सचिव पदमा विजयी नवीन विमली १,८३८ र कृष्ण हुमागाईंले १,६७६ मत ल्याएका थिए भने प्रतिस्पर्धामा रहेका विश्वदीप लिङ्देनले १,४३१ मत ल्याएका थिए। चौथो मत टुमलाल राजवंशी १,३२१ ल्याएका थिए।

माओवादीबाट संविधानसभा सदस्य भइसकेको मान्छे किन कांग्रेस प्रवेश गर्नुभयो भन्ने प्रश्नमा लिङ्देनले भने, ‘अहिले कांग्रेसको राजनीतिमा छु। खुसी छु। म माओवादी छाडेर कांग्रेसमा आएँ। अहिले माओवादी र हामी फेरि गठबन्धन गरेर सहकार्य गरिरहेका छौं। अहिले किन माओवादी छाडे भन्न चाहन्नँ।’

कांग्रेसको सिद्धान्त मन परेकाले माओवादी छाडेको उनले सुनाए। उनले बीपी कोइरालाले आफूलाई कांग्रेसको सिपाही हुन मन लागेको  भनाइ स्मरण गर्दै भने, ‘म अहिले कांग्रेसको सिपाही हो। कांग्रेसको सिपाही भएर बस्दा खुसी छु।’

ओलीसँगै चुनावी मैदानमा उत्रने आकांक्षा
लिङ्देनलाई आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको चुनावमा झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष ओलीसँग चुनावी मैदानमा उत्रिने आकांक्षा छ। उनले झापा ५ का जनता सचेत रहेको दाबी गर्दै वाइड बडी जहाज, बालुवाटार काण्ड, संविधान च्यात्न प्रयास गर्ने र संसद् विघटन गर्नेहरूलाई दण्डित गर्ने बताए। लिङ्देन आफूले कुनै दिन फेरि ओलीसँगै झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रन्छु भन्ने ढंगले तयारी गरिरहेको सुनाए।

उनले भने, ‘म झापा क्षेत्र नम्बर ५ का नागरिकको सुख–दुःखमा सँगै छु। म झापा ५ का अधिकांश नागरिकको निधन हुँदा रुँदै घाटमा पनि पुगेको छु। विवाहमा बोलाउँदा खुसी हुँदै जन्तसमेत जाने गरेको छु। नागरिक बिरामी पर्दा बोकेरै अस्पताल पुगेको छु। पैसा तिर्न नसक्नेलाई अस्पतालसँग हारगुहार गरेर उपचार खर्चमा केही छुट गराउँदै आएको छु।’

झापा क्षेत्र नम्बर ५ का नागरिकलाई अभर पर्दा उनीहरूसँगै अड्डा अदालतदेखि प्रहरी प्रशासनसम्म पुग्दै आएको दाबी उनको छ। यो सबै काम चुनावको तयारीका लागि गरेको उनले स्पष्ट पारे। लिङ्देनले देशभर गठबन्धन भएकाले झापा ५ मा पनि दलीय गठबन्धन हुने, कांग्रेस र गठबन्धनमा रहेका दलहरूले झापा ५ मा ओलीसँग प्रतिस्पर्धाका लागि योग्य ठाने आफू चुनाव लड्न तयार रहेको बताए। उनले भने, ‘२०६४ मा झापा क्षेत्र नम्बर ५ को जनप्रतिनिधि भएपछि म त्यहीँका नागरिकसँगै छु। ओलीझैं भ्रष्टाचार र विभिन्न काण्डको विवादमा परेको छैन। म ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न कमजोर, होइन बलियो छु।’ 

प्रकाशित: Aug 08, 2022| 18:12 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...