बुधबार, वैशाख १७, २०८२

'ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रर्दशन हुने

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। 

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट भइसकेको फिल्म हो। 

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो।  

लेखक/निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यू हो। सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो। 

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ। 

Metro Mart
worldlink

सुजितले किशोरीको पढ्ने सपनालाई  ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए। ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन। हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ,' सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ। यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं।’ 

किशोरी र उनको ९ वर्षको भाइबीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोको रुपमा रहेको सुजितले बताए। ‘ दिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महत्वपूर्ण हिस्सा हो। यो सम्बन्धमार्फत् फिल्मले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनु पर्ने आवश्यकतालाई इंगित गरेको छ,’ सुजितले भने।  

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ। सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन्।  

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र  सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्।  फिल्ममा  अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ।

प्रकाशित: Jul 01, 2022| 11:34 शुक्रबार, असार १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्