काठमाडौं- भनिन्छ, खेलाडीको दुई ओटा जीवन हुन्छन्। एउटा खेलको, अर्को खेलपछिको। नेपाली क्रिकेट टिमबाट भर्खरै सन्यास लिएका पारस खड्काले पनि यही संकेत गरेका छन्। खेल जीवनलाई प्यासन र खेलपछिको जीवनलाई करिअरका रूपमा परिभाषित गरेका पारसले भनेका छन्- ''प्यासन' सकियो। अब करियरको सुरुआत हुन्छ।'
पारसको संन्यासलाई सबैले स्वीकार गर्दै सामाजिक सञ्जालमा ‘ह्याप्पी रिटायरमेन्ट’को ट्रेन्ड चलाएका छन्। पारसको प्यासनसमा साथ दिएका दर्शक र फ्यानले समेत उनको करिअरको सफलताका लागि पनि शुभेच्छा दिइरहेका छन्।
उसो त, संन्यासपछि खेलाडीको जीवन फरकफरक हुन्छन्। कति खेलाडी खेलको भारी बिसाउन चाहन्छन्। कति त्यसै बिलाउँछन्। कता जान्छन् कसैले थाहा पाउँदैनन्। कति खेलाडीभन्दा फरक भूमिकामा खेल क्षेत्रमै फर्कन्छन्। कोही प्रशिक्षक, कोही रेफ्री तथा अम्पायर बन्छन्, त कोही खेलकै संस्थाहरूको नेतृत्वतर्फ लाग्छन्। कति हकहितका लागि आवाज उठाउँदै खेलकुद अभियन्ता हुन पनि सक्छन्।
बुधबार मात्र खेल जीवन अन्त्य गरेका पारसकै शब्द सापटी लिएर भन्ने हो भने उनले अब करिअरका रूपमा कुन पेसा अंगाल्लान्? पारसले भनिरहेको ‘अबको करिअर’ के त? चासो सर्वत्र छ। सबैको चासो चिर्ने प्रयास पारस आफैँले गरेका पनि छन्। क्यानको राजनीतिमा सक्रिय हुने उनको छनक छ, ‘म क्यानमा गएर नेपाली क्रिकेटको विकास चाहन्छु।’
१७ वर्षअघि क्रिकेट खेल्न सुरु गर्दा पारसलाई प्यासनबाहेक अरू केही थिएन। 'प्यासन'को लागि मात्रै खेल्थे उनी। पढाइमै भविष्य देखेका पारसले क्रिकेटलाई 'हब्बी'का रूपमा मात्र लिएका थिए। उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका पारस एकाएक क्रिकेटमा मोडिए। अध्ययनका लागि विदेश गएका भए पारसको विदेश यात्रा केही देशमा नै सीमित हुन सक्थ्यो, तर क्रिकेड खेलाडी भएर उनी थुप्रै देश पुगे, सयौँ फ्यान/फलोअरको शुभकामना, सहानुभुति र स्नेहका साथ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको सदस्य बनिसक्दा पनि पारसलाई कप्तान भइएला भन्ने लागेको थिएन। राष्ट्रिय टिमको कप्तानी सम्हालिसक्दा पनि उनलाई सायदै थाहा थियो, आफ्नो योगदान नेपाली क्रिकेटका लागि कति महत्वपूर्ण बन्नेछ भनेर। सन्यासका बखत सामाजिक सञ्जालमा छरिएका प्रतिक्रिया बटुल्ने हो र नेपाली क्रिकेट उपलब्धिको भित्तेपात्रो पल्टाएर हेर्ने हो भने उनको योगदानको महत्त्व प्रष्टै झल्किन्छ।
नेपाली क्रिकेट डिभिजन फाइभबाट एक दिवसीय मान्यताप्राप्त देशसम्म आइपुग्दा उनले आफ्ना खेलयात्रामा गर्व गर्नसक्ने थुप्रै ठाउँ बनाएका छन्। खेल जीवनको सफलताबाट पाएको सद्भावलाई कमी हुन नदिई उनी व्यवस्थापकीय भूमिकामा खरो उत्रिने संकेतलाई उनले करिअर भनेका हुन सक्छन्। ‘मैले जीवनभर कमाएको विश्वास हो। क्यानमा पुगेर पनि त्यो विश्वास कायम राख्न्नेछु,’ उनले भने।
सन्यास घोषणापछि पत्रकार सम्मेलनमा पारस।
रोजेको करिअरमा चुनौतीका पहाड छन् भन्ने कुरा पारसलाई थाहा नहुने कुरा भएन। ‘तर यो भन्दैमा एउटा खेलाडीको खेल्ने करियामा नेपाली क्रिकेटले निकै फड्को मार्यो, त्यसरी नै व्यवस्थापनमा पनि त्यसरी अघि बढ्ला भन्न चाहिँ सकिँदैन। जे पनि हुनसक्छ,’ करिअरबारे लामो सोचाइ राख्ने पारसले भने, ‘राम्रो गर्न सक्ने ग्यारेन्टी त छैन। राम्रो गर्न सक्ने खेलाडी राम्रो कप्तान बन्न सकेका छैनन्। राम्रो खेलाडी राम्रो प्रशिक्षक बन्न सकेका छैनन्। राम्रो प्रशिक्षक वा खेलाडी राम्रो व्यवस्थापक बन्न सकेका छैन।’ तर उनीसँग आत्मविश्वास छ।
क्यानको विधानले कुनै पनि राष्ट्रिय खेलाडीले क्रिकेटबाट संन्यास लिएको दुई वर्षमा संघमा जान पाउने व्यवस्था गरेको छ। तर त्यो काम त्यति सहज भने छैन।
क्रिकेटमा विकेट जोगाउन जति गाह्रो छ, त्यस्तै गाह्रो क्यानमा प्रवेश गर्न पनि छ। क्यानमा पुग्ने आफ्नै बाटो छ, र त्यो बाटो हो दुई वर्ष पछि हुने निर्वाचन। निर्वाचनकै लागि भनेर संन्यास घोषणा गरेको त पारसले बताइसकेका छन्।
हरेक चार वर्षमा क्यानको निर्वाचन हुन्छ। आउँदो निर्वाचन सन् २०८० को असोज आसपासमा हुनेछ। त्यसका लागि जिल्ला वा प्रदेश प्रतिनिधि भएर निर्वाचनमा जानुपर्ने हुन्छ। रेफ्री, अम्पायर र खेलाडी संघबाट पनि १–१ जना महाधिवेशन प्रतिनिधि हुन सक्छन्। रेफ्री–अम्पायर संघबाट उनले सहभागिता जनाउन सक्दैनन्। यता खलाडी संघबाट पनि एक जनाको मात्र कोटा हुन्छ।
त्यसैले पारसले अब जिल्ला वा प्रादेशिक प्रतिनिधि भएर क्यानका निर्वाचनसम्म पुग्नुपर्ने हुन्छ। त्यसमा पनि ३९ जिल्लाबाट १–१ जना मात्र प्रतिनिधि केन्द्रका लागि छानिन्छन्। प्रदेश तहका संरचनाबाट २० जना आउँछन्। कुल ५९ जनाको मतले नै क्यानको जोडघटाउ पूरा गर्छ। तिनै प्रतिनिधिमा पारसले अब आफ्नो स्पेस बनाउनु पर्नेछ। एक पदका लागि दुई जना मात्र उठेमा र सबैले मत दिएमा विजेता बन्न ३० मत चाहिन्छ। अब पारसको दुई वर्षे यात्रा पनि त्यही ३० मतको लागि हुनेछ।
उनले दलीय राजनीतिमा पनि आउन सक्ने संकेत गरेका छन्। किनभने उनलाई थाहा छ, क्यानमा पुग्न पनि राजनीतिक दलको सहारा लिनुपर्छ।
क्यानमा पुग्नका लागि चाहिने मुख्य हतियार नै भोटर हुन्। जति भोटर कमाउन सक्यो, नेतृत्वमा पुग्ने बाटो त्यति नै स्पष्ट हुन्छ। तर त्यसको लागि उनले जिरोदेखि अघि बढ्नु पर्नेछ।
यो सत्य हो कि, उनको खेलको र नामको प्रभाव हरेक भोटरमा हुनेछ। तर त्यो प्रभाव भोटमा परिणत हुने ग्यारेन्टी के त? त्यसको उत्तर स्वयं पारसलाई पनि थाहा छैन।
‘म त अहिले एकदमै सानो तरिकाले सुरु गर्दैछु। सात प्रदेश र जिल्लाहरू छन्। ठाउँठाउँमा गएर प्रदेश र जिल्ला प्रतिनिधिहरूसँग कुराकानी गर्नेछु,’ उनले मंगलबार पत्रकार सम्मेलनमा भने।
भोटका लागि अर्को बाटो भनेको देशको मूलधारका राजनीतिक पार्टीसँगको सहकार्य पनि हो। देशको हरेक ठाउँमा राजनीतिक दलको संयन्त्र छ। त्यसको गहिराइसम्मको ज्ञान पारसलाई नहुने कुरा भएन। उनको सोचाइ राजनीतिक दलको अफर बहिष्कार गर्ने लाइनमा पनि छैन।
त्यसैले देशको मूलधारको राजनीतिमा पनि उनले ठाउँ खोज्न थालिसकेका छन्। के क्यानबाहेक देशको राजनीतिमा पनि आउने हो त भन्ने प्रश्नको सम्बोधन गर्दै पारस भन्छन्, ‘मेरो त्यो ठाउँमा कति प्रभाव रहन्छ भन्ने कुराको चाहिँ जहिल्यै पनि तुलना गरेर मात्र निर्णय लिन्छु। म कुनै संस्थासँग जोडिएर नेपालको गरिमा बढाउन सक्छु भने म त्यहाँ जानेछु।’
उनले दलीय राजनीतिमा पनि आउन सक्ने संकेत गरेका छन्। किनभने उनलाई थाहा छ, क्यानमा पुग्न पनि राजनीतिक दलको सहारा लिनुपर्छ। अहिलेकै क्यान हेर्ने हो भने पनि एमाले र कांग्रेसका कार्यकर्ताको राजनीति गर्ने ठाउँ भएको छ।
अर्थात् क्यान आफैं राजनीतिक रूपमा विभाजित छ। त्यहाँ पनि राजनीतिक दल हाबी छ। प्रतिस्पर्धा छ। त्यसमा आफू कहाँ पाउनुहुन्छ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘देशको सबै क्षेत्रमा राजनीति छ। एउटा खराब राजनीति, एउटा राम्रो राजनीति। हामीले सुशासनले क्रिकेटमा कत्तिको प्रभाव पार्छ भनेर मात्र क्रिकेटमा राजनीति हाबी हुन दिनुपर्छ। राम्रो राजनीतिले कुनै खेल र खेल संघ बलियो हुन्छ भने मिलेर स्वागत गर्नुपर्छ।’
मुख्यतः नेपालमा नेपाली कांग्रेस, एमाले खेल संघमा हावी छन्। त्यसैबाट क्रिकेटमा पनि राजनीति हुने गरेको छ। यस्तोमा पारसले एमाले वा कांग्रेस कुन पार्टीको खेल राजनीतिलाई राम्रो देख्नेछन् त्यो त समयको गर्भमै छ।
यस्तो अवस्थामा राजनीतिक दल पनि पारसलाई आफ्नो दलमा भित्र्याउन मिहिन रूपले लाग्न सक्छन्। आफ्ना कार्यकर्तामाझ उनको नाम भजाउनु, उनको नेम र फेमलाई राजनीतिमा प्रयोग गर्न सक्नु कुनै पनि राजनीतिक दलका लागि फाइदाको कुरा पनि हो। गणितीय रूपमा जस्तो अवस्था भएपनि उनलाई राजनीतिमा आकर्षित गर्नेहरूको अभाव हुने छैन। तर जे भएपनि उनी आफ्नो पहिलो प्राथमिकता भने क्रिकेट नै रहेको बताउँछन्।
उनी चाँडै नै एकेडेमी स्थापनाको तयारीमा छन्। यसले उनलाई क्रिकेटबाट टाढा जान दिने छैन। क्रिकेटका विभिन्न स्तरका संघसँग सम्बन्ध कायम राख्न पनि त्यसले सहयोग गर्ने छ।
त्यसो त उनले केही वर्षभित्र देशका विभिन्न ठाउँमा नै एकेडेमी स्थापना गर्ने बताइसकेका छन्। त्यसले गर्दा पनि उनले कम्तीमा पनि चुनाव अघि विभिन्न जिल्ला र प्रदेशका संघहरूसँग एकेडेमीको प्रस्ताव लिएर जानेछन्। भन्छन्, ‘एक-दुई महिनामै क्रिकेट एकेडेमी सुरु गर्न लागेको छु। त्यो एकेडेमी एक-दुई वर्षमा नेपालभर लिएर जाने व्यक्तिगत योजना छ। क्रिकेट प्रतियोगिता आयोजना गर्न सकेमा एकेडेमीबाट राम्रो हुनेछ।’
पछिल्ला केही वर्षमा 'ग्रासरुट'को क्रिकेट ध्वस्त भएको अवस्थामा उनको यो रणनीतिले धेरै जिल्ला र प्रदेशस्तरका संघ आकर्षित हुन सक्नेछन्। यता खेलाडी उत्पादनमा त सहयोग हुनेछ नै, त्यसले पारसको उपस्थिति फैलाउन सहयोग गर्नेछ। आफ्नो रणनीति नै जिल्ला र प्रदेश संघलाई व्यवस्थित बनाउने उनले बताइसकेका पनि छन्। त्यसको सायद पहिलो कदम नै एकेडेमीको अवधारणा हुन सक्छ।
एकेडेमीका लागि एनजीओ, आईएनजीओ, अन्य बाहिरी डोनेसन उनले कति व्यवस्था गराउन सक्छन् त्यसले पनि उनको छवि थप उचो बनाउन सक्नेछ। एकेडेमीले राम्रा खेलाडी उत्पादन गरेजस्तै उनलाई पनि राजनीतिमा स्थापित हुन सहयोग पुग्नेछ।
क्यान सुधार गर्ने आफ्नो मुख्य चासो रहेको उनको भनाइ छ। क्यानमा अहिले तीन तह छन्। जिल्ला, प्रदेश र केन्द्र। उनी मौजुदा प्रणालीलाई नै प्रभावकारी, प्रतिबद्ध बनाउने बताउँछन्। क्रिकेट विकासको पहिलो चरण जिल्लाबाट सुरु हुनुपर्छ भन्ने पारसको धारणा छ। उसो त पारस आफैं पनि ग्रासरुट क्रिकेटबाटै राष्ट्रिय टिमसम्म आइपुगेका खेलाडी हुन्।
‘जिल्लाले अहिले केन्द्रबाट कति बजेट आउँछ भनेर पर्खिने गरेको छ। जिल्ला, प्रदेशको आशा केन्द्रले कसरी बजेट वितरण गर्छ भन्नेमा छ। पहिले क्षेत्रीय समितिमा पनि त्यस्तै हुन्थ्यो। सर्वप्रथम जिल्ला/प्रदेश/संघलाई बलियो बनाउनु पर्यो,’ पारस आफ्नो योजना सुनाउँछन्।
उनी चाँडै नै एकेडेमी स्थापनाको तयारीमा छन्। यसले उनलाई क्रिकेटबाट टाढा जान दिने छैन। क्रिकेटका विभिन्न स्तरका संघसँग सम्बन्ध कायम राख्न पनि त्यसले सहयोग गर्ने छ।
जिल्ला र प्रदेश बलियो हुने नीति बनाउन पारसको ध्यान जाने देखिन्छ। त्यो गर्ने हो भने बाँकी धेरै कुरा आफैं सुल्झिँदै जाने उनी बताउँछन्।
‘संघसंस्थामा जो पदाधिकारी छ, उसलाई जिम्मेवारी थप गर्नुपर्छ। राम्रो गर्नेलाई प्रोत्साहन पनि गर्नुपर्छ,’ पारस भन्छन्, ‘अहिलेको प्रणालीलाई नै अलि चुस्त बनाउने र जिल्ला, प्रदेशले स्रोतको राम्रो व्यवस्थापन गर्ने सकेमा राम्रो हुन्छ।’ जिल्ला, प्रदेश र केन्द्रका पदाधिकारीले प्रतिबद्ध भएर काम गर्ने बनाउने नै पारसको भिजन छ।
पारसले खेलाडी जीवनमा पनि क्यानको कामप्रति चासो दिइरहे। खेलाडीले पाउने सुविधा र अवसरबारे उनले जहिल्यै क्यानको ध्यानाकर्षण गराए। त्यति मात्र होइन, उनले क्यानको सुशासनलाई नजिकबाट हेरेका छन्।
सन् २०१४ को टी–२० विश्वकप खेलेपछि त उनले क्यानविरुद्ध विमानस्थलमै आन्दोलन गरे। त्यसपछि क्यान नेतृत्वले उनलाई कप्तानबाट हटाउने निर्णय गर्नै नपाई क्यान निलम्बनमा पर्यो।
नेपाली क्रिकेट अभिवावकविहीन रहँदा नेपाली क्रिकेट कप्तान खड्काकै पेरिफेरिमा घुमेको छ। उनले त्यही दौरान नेपाललाई एक दिवसीय मान्यता दिलाएका छन्।
पारससँग आज जुन परिचय जोडिन्छ, त्यो डिभिजन फाइभदेखि डिभिजन टू-सम्मको लगातार सफलतासम्म छ र, ओडीआईसम्म। उनले सन्यास लिइरहँदा धेरैले उनलाई नेपाली क्रिकेटको 'लेजेन्ड' भनेका छन्। त्यसअघि आईसीसीले पनि उनलाई दशककै उत्कृष्ट खेलाडी (प्लेयर अफ दि डिकेड)को मनोनयनमा राखेको थियो।
पारसले आफ्नो जीवनमा जति पनि गरे नेपाली क्रिकेटको पछिल्लो १५ वर्षको उपलब्धिको पर्याय हो। त्यसैले पनि हुन सक्छ उनले क्रिकेटलाई जहिल्यै पनि गलत हुन लागेको देखेमा बचाउन खोजेका छन्। दुषित राजनीतिबाट टाढा राख्न खोजेका छन्।
लहैलहैमा क्रिकेटमा लागे पनि खेलका दौरान सिरियस र आक्रामक भएर खेल्ने पारस शैली हो। उनले सुरुबाटै त्यसरी नै खेले।
तर जब २००९ मा उनी नेपाली टिमको कप्तान बने उनले त्यसपछि बुझे एउटा पदमा बस्नुको अर्थ। पदमा रहेर के सम्म गर्न सकिने रहेछ भनेर उनले कप्तान भएर नै थाहा पाएका हुन्।
‘क्रिकेटर र कप्तानका हिसाबले एउटा पदमा पुगिसकेपछि कतिको गर्न सकिन्छ भनेर थाहा पाएको हुँ। त्यहीँबाट संघमा के-के गर्न सकिन्छ भनेर देखेँ,’ उनले भने।
उनले यो कुरा त्यतिबेला बोले, जब उनलाई मूलधारको राजनीतिमा लाग्ने वा नलाग्ने भनेर प्रश्न गरियो। उनले थपे भनेका थिए, ‘आगामी दिनमा अवसर आउँछ भने म पछि हट्दिनँ। तर मूलधारको राजनीतिको अवसर मैले त्यतिबेला लिनेछु, जब मैले क्रिकेटलाई कुनै ठाउँमा पुर्याउने छु।’
त्यसो भए के उनी पदको लोभमा त परेका होइनन्? भनेर शंका गर्ने ठाउँ पनि प्रशस्त छन्। तर त्यसलाई नै सकारात्मक ढंगले सोच्ने हो भने जुन कुरा उनले बाहिरबाट गर्न खोजिरहेका छन् त्यो काम संघका पुगेर थप प्रभावकारी ढंगले पनि गर्न सक्नेछन् भनेर बुझ्न पनि सकिन्छ।
उनी निर्णय लिने क्रममा कसैको सुन्दैनन्। आफ्नो मात्र सुन्छन्। मनको सुन्छन्। उसो भए पारसले के गर्लान्? उनी आफैं भन्छन्, ‘क्रिकेटमा सँधै आफैं डिसिजन लिएको हो। क्रिकेटको कुनै पनि निर्णय म आफैं लिन्छु। नजिकको साथीलाई र घरलाई पनि सन्यासबारे भनें तर लिने/नलिनेबारे प्रश्न सोधिनँ।’
उनलाई क्रिकेटको कतिपय निर्णय लिने बेलामा कठोर भएको पनि संज्ञा दिने गरिएको छ। क्यान निलम्बनमा परेपछि र कप्तान रहँदा उनले क्रिकेटका निर्णायक घडीमा आफ्नो पक्ष च्यापेको पनि आरोप लाग्ने गरेको छ।
‘म एकदमै साधारण तरिकाले बाँकी खेलाडीसँग प्रस्तुत हुन्छु। म साधारण र नरम नै बन्ने प्रयास गर्छु। त्यो कुरा त अन्य खेलाडीलाई सोधे पनि हुन्छ,’ उनले आफूबारे भने, ‘तर सत्यको पक्षमा उभिने सन्दर्भमा कहिलेकाहीँ कठोर निर्णय लिएको हुन सक्छु।’
उनी आफूले चाहिँ धेरै सोचेर निर्णय गर्ने बताउँछन्। ‘पहिला कप्तानबाट राजीनामा दिनेबित्तिकै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले फोन गरेर राजीनामा फिर्ता गर्न अनुरोध गर्नुभएको थियो। तर मैले गरिनँ,’ पारस सुनाउँछन्, ‘हिजो पनि त्यस्तै भयो, मैले सन्यास घोषणा गरेपछि अध्यक्षज्यूले पुनर्विचार गर्ने कि भनेर सोध्नु भएको थियो। मैले सोचेरै निर्णय गरेको बताएँ।’
उनी आफ्नो निर्णयबाट हत्पत पछि नहट्ने बताउँछन्। खेल जीवनभर कप्तानको निर्णय निकै महत्वपूर्ण हुन्छ। कप्तानको निर्णय सबैले मान्नु पर्ने हुन्छ। तर क्यानमा पुगिसकेपछि त्यो व्यक्तिगत शैलीले कतिको प्रभाव राख्ला। राम्रो कि नराम्रो छाप छोड्ला?
व्यक्तिगत स्वभावले धेरै अर्थ राख्ने राजनीतिक जीवनमा उनको ‘एटिच्युड’ले सकारात्मक वा नकारात्मक प्रभाव पार्ने छ। तर यी कुराबाट अघि बढिसकेका पारस अब क्यानका जोसँग पनि नेतृत्व सेयर गर्न प्रतिबद्ध भने देखिन्छन्।
‘म क्यानमा पुगिसकेपछि पनि त्यो एक्लै चलाउने होइन। त्यहाँ नयाँ अनुहार पनि हुन सक्छ पुरानै दोहारिन पनि सक्छ। त्यसले मैले सबैसँग सहकार्य गर्नुपर्ने छ,’ पारसले आफैं सम्झिएको पारामा मंगलबारको पत्रकार सम्मेलनमा सुनाएका छन्।
लामो समयपछि नेपाली टिमले मलेसिया र नेदरल्यान्डसँग पारसविहीन भएर खेल्यो। उक्त खेल घरेलु मैदानमा भएकाले खेल हेर्न पारस मैदानमै पुगेका थिए। जोरा समूहले आयोजनाको जिम्मा पाएको प्रतियोगिता कुमको चोटका कारण पारसले खेल्न पाएका थिएनन्।
नेपाली टिमलाई पारसको आवश्यकता कति छ भन्ने प्रश्नमा पारस भन्छन्, ‘अहिले नेपाली टिम पनि राम्रो छ। मैले नेपाली क्रिकेटमा पार्ने प्रभाव यति नै थियो। आफूले टिम छोडेपनि टिमभित्रको वातावरणलाई मिस गर्ने बताए।
कतिपय खेलाडी खेल जीवनपछि खेल क्षेत्रबाट टाढिने गरेका पनि छन्। तर पारसलाई त्यस्तो कहिल्यै लागेन। र, संन्यासपछि उनले नेपाली क्रिकेटलाई एक ठाउँमा ल्याउने गोल सेट गरेको बताए। अहिलेको संन्यास उनी चाँडो नभएको बताउँछन्। भन्छन्, ‘मैले लामो समयसम्म खेलें नि त। जसरी म आएँ त्यसरी त मैले लामो समय बिताएँ नि। म त ५० वर्ष पुगेको अनुभव गरिसकेँ।’
तर पनि उनको खेल्ने चाहना मरेको छैन। तर उनले आफ्नो भन्दा देशको राम्रो प्रदर्शन हेर्न चाहे। भन्छन्, ‘नेपालले २००५ मा एकदिवसीय भएको भए अहिले हामीले टेस्ट खेलिदक्थ्यौँ होला। अलि राम्रो बोर्ड भएको भए अर्कै कुरा हुन्थ्यो होला। तर अब मेरो लक्ष्य टेस्ट राष्ट्र बनाउने नै हो। मेरो लाइफमा नै बन्न सक्छ।’
सन् २०१४ मा नेपालले विश्वकप खेल्यो। तर त्यो विश्वकपमा समूह चरणबाटै बाहिरिएको चोट पारसलाई अझैसम्म बिझेको छ। सुनाउँछन्, ‘हाम्ले विश्वकप खेल्यौं तर हार्यौँ। हामी अघिल्लो चरणमा किन पुग्न सकेनौँ? कम्तिमा अब त्यो व्यवस्थापन गर्न सक्छौँ।’
क्यानसम्मको अप्ठ्यारो बाटो यात्रा थाल्न लागेका उनी खेल्दाताका भन्दा अहिले सजिलो भएको बताउँछन्। कहिले हो थाहा छैन, तर कप्तान खड्काको आफ्नोबारे किताब लेख्ने इच्छा पनि छ।
पारसको खेल यात्राः
उमेर : ३३ वर्ष २८३ दिन
एकदिवसीय : १० खेलमा ३१५ रन, ११५ रनको उच्च स्कोर, एक शतक, एक अर्धशतक, ९ विकेट, इकोनामी : ३.९१
टी-२० आई : ३३ खेलमा ७९९ रन, १०६ रनको उच्च स्कोर, एक शतक, चार अर्धशतक, ८ विकेट इकोनामीः ६.२०
फस्ट क्लास : २ खेलमा ७२ रन, ४४ उच्च स्कोर एक विकेट
इकोनामीः २.१०
लिस्ट ए : ४४ खेलमा १४९७ रन, ११५ रनको उच्च स्कोर, तीन शतक, ९ अर्धशतक, २६ विकेट, इकोनोमीः ३.८४
टी-२० : ५६ खेलमा १३१७ रन, १०६ उच्च स्कोर, एक शतक, ८ अर्धशतक, २८ विकेट,
इकोनोमीः ५.९६
अन्तर्राष्ट्रिय डेब्यू- २००४ अप्रिल ३
अन्तिम अन्तर्राष्ट्रिय- २०२० मार्च ४