बिस्केक (किर्गिस्तान)- काठमाडौंको ठमेलमा जीए फुटसल अझै छ। स्वयम्भूको फुटसल फ्याक्ट्री खाली ठाउँमा परिणत भएको छ। यी दुई ठाउँसँग विजय श्रेष्ठको गहन साइनो छ। यिनै दुई फुटसलको टर्फमा बल चलाउन उनले सिके। तिनै मैदानबाट बलसँगको ताल मिलाउन सिके र त्यसलाई निखार्दै लगे। त्यहाँबाट सुरु भएको विजयको यात्रा अहिले अन्तर्राष्ट्रिय फुटसल खेलाडीसम्म पुगिसकेको छ। त्यति मात्र होइन, नेपाली टिमको महत्वपूर्ण र अनुभवी फुटसलरको रुपमा स्थापित छन् विजय।
‘फुटसल एकदमै रमाइलो खेल हो। फिट पनि भइन्छ, शरीर राम्रो बन्छ। त्यसैले पनि खेलिन्थ्यो फुटसल,’ विजय आफूलाई फुटसल खेलिरहन प्रेरित गर्ने कुरा सुनाउँछन्, ‘मेरो बुबा पनि पहिलेको खेलाडी नै हो। त्यसैले उहाँले पनि मलाई राष्ट्रिय टिममा पुगेको हेर्न चाहनुहुन्थ्यो। र, अहिले म यहाँ छु।’
विजय व्यवहारमा जति शान्त देखिन्छन्, खेलमा पनि ठ्याक्कै त्यस्तै। त्यसैले त जटिल अवस्थाबाट पनि खेललाई नियन्त्रण गर्न सक्ने क्षमता राख्छन्। उनको जीवनको धार पनि सिधा र सरल भएकाले नै त होला उनले यसरी खेल्न सकेको। अनि खेल र टिममा प्रभाव पार्न सफल भएको।
‘विजय शान्त भएर खेल्छन्। आफ्नो सहकर्मीलाई उनले प्रेरणा दिएर खेलिरहेका हुन्छन्। विजय पछाडि भएपछि त्यो लाइन सुरक्षित छ भन्ने विश्वास लाग्छ,’ विजयबारे नेपाली फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले भने।
विजयको फुटसलसँग साइनो गासिएको स्कुले दौँतरीसँगै हो। उमेर सानै थियो। स्वयम्भूकै रियल मोडल स्कुलमा पढ्थे विजय। धरै नबोल्ने तर साथीहरुमाझ रहन रुचाउने विजय सहपाठीलाई फुटसलमा प्रतिद्वन्द्वी बनाउथे।
घर सिन्धुपाल्चोक भए पनि विजय काठमाडौंमै हुर्किए, स्वयम्भू क्षेत्र वरिपरि खेले। ‘सायद ८,९ कक्षामा पढ्दो हुँ त्यतिबेला। अन्तर्राष्ट्रिय साइज र मापदण्डको फुटसल त पाइन्थेन। त्यसैले टर्फदेखि नै खेल्न सुरु गरेको,’ विजय फुटसल सुरु गर्दाताकाको समय सम्झन्छन्, ‘त्यतिबेला क्लबहरु त केही पनि थिएन। त्यति बेला त हामी फुटबल भनेर खेल्ने हो। फुटसलको चलन पनि आइसकेको थिएन।’
उनले खेल्न सुरु गर्दा त फुटसलको राष्ट्रिय टिम बनेकै थिएन। अन्तर्राष्ट्रिय प्रतियोगिता होला भन्ने हेक्का कसैलाई थिएन। त्यसैले उनी फुटबलको मजा लिनकै लागि फुटसल खेल्थे।
सन् २०१७ मा ‘रेडबुल राष्ट्रिय लिग’ भनेर छनोटजस्तो भएको थियो। ‘छनोटअघि स्वयम्भुबाट खेल्न सुरु गरेका थियौँ। पहिले त फुटबल खेल्न थालेको नि! पछि विस्तारै विस्तारै फुटसलमा लागियो,’ विजयले नेपाल समयसँगको कुराकानीमा भने, ‘सुरुमा फुटसल र फुटबल मिक्स खेलियो। फुटसलको सुरुआत नै भइसकेको थिएन।’ नेपालले अन्तर्राष्ट्रिय फुटसल खेल्न थालेको पनि २०१७ बाट मात्रै हो।
विजय फुटसलमै आकर्षित भए। मनोरञ्जनका लागि नै खेल्दै थिए, कहिले यो खेल दिल र दिमागमा गढियो पत्तै भएन। तर घरमा बाबु वेदबहादुर श्रेष्ठले उनलाई राष्ट्रिय टिमको जर्सी लगाएको देख्न चाहन्थे। अब फुटसल खेलेर पनि राष्ट्रिय टिमको जर्सी लगाउने बेला आएसकेको थियो।
त्यसैले विजय रेडबुल लिगमा खेल्न गए। त्यो लिगबाटै उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणसम्म पुगे। उनले फुटसलमा आफ्नो भविष्य खोज्न थालेको त्यही समयदेखि हो।
‘अब केही गर्नुपर्छ भन्ने लाग्यो। पहिलो पटक बन्द प्रशिक्षणमा छनोट हुँदा धेरै खुसी लागेको थियो। अन्तर्राष्ट्रिय इतिहासमा नै नेपाल पहिलो पटक खेल्न लाग्दै थियो। त्यसको बन्द प्रशिक्षणमा नाम आउँदा खुसी लाग्यो,’ उनी पाँच वर्षअघिको क्षण सम्झन्छन्, ‘मेरो नाम आउँदा म लोकल खेलमा थिएँ। त्यतिबेला कल आएको थियो। २० वर्षको थिएँ। म निकै खुसी भएँ।’ तर विजयको त्यो खुसी धेरैदिन टिकेन। अन्तिम १८ बाट बाहिरिए।
बाहिरिएपछि कस्तो लाग्यो?
जवाफमा उनी भन्छन्, ‘युवा अवस्था थियो। खेल्दिन भन्ने त छँदै थिएन। जे होस् अर्को पटक टिममा परियो भने चाहिँ राम्रो गर्छु भन्ने थियो।’
तर २०१९ मा फेरि नेपाली फुटसल टिमले अन्तर्राष्ट्रिय खेल खेल्यो। विजय पहिलो पटक राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय यात्रामा निस्किए। त्यति बेला चाहिँ विजयलाई राम्रो अनुभव भयो।
‘अन्तर्राष्ट्रिय खेल्दा धेरै कुरा सिक्न पाइन्छ। अनि डेब्यू खेलकै कुरा गर्दा पनि डर धेरै थियो। अनुभव थिएन। मैत्रीपूर्ण खेल पनि खेलेको थिएन। सिधै प्रतियोगिता खेल्दा डर भयो नि,’ विजयले पहिलो खेलअघिको क्षण सम्झिए।
सुरुमा जे जस्तो भए पनि उनले अभ्यास छोडेनन्। त्यसपछि उनले राम्रो गर्न सके त? त्यो चाहिँ अहिले उनको अवस्थाबाट प्रष्ट हुन्छ।
गएको सेम्टेम्बर अक्टोबरमा नेपालमा ए डिभिजन फुटसल लिग भयो। उनले फुटसल फाइभ धरानबाट लिग खेले। विभिन्न कठिनाइका बाबजुद उनको टिमका धेरै खेलाडीले लिगको सबैभन्दा महत्वपूर्ण खेल खेल्न नपाएपछि नकआउट चरणमा पुग्न सकेन।
‘धेरै खेलाडीले कार्ड खाएपछि हामीले क्रुसियल खेलमा जित निकाल्न सकेनौँ। फुटसलमा लागेपछिको सबैभन्दा नराम्रो क्षण त्यही नै हो,’ विजय सुनाउँछन्, ‘तर म लिगमा बेस्ट फिक्सो पनि भएको थिएँ। त्यो रमाइलो पनि थियो। तर टिम पाँचौँ हुँदा भएको बेस्टले चाहिँ सन्तुष्टि दिएन।’
सुरुमा राष्ट्रिय टिममा पुग्दा र आज खेल्दा राष्ट्रिय टिममा धेरै फरक आइरहेको विजयले देखेका, महसुस गरेका छन्। ‘धेरै फरक छ। किनभने त्यतिबेला अन्तर्राष्ट्रिय साइजका मैदानमा खेल भएका थिएनन्। यो वर्ष पार्केटिङमै खेलेर टिम छनोट भएर आएको छ। राम्रो छ,’ उनले तुलना गरे।
त्यसो त राष्ट्रिय टिमको प्रतियोगिता मुस्किलले दुई/तीन वर्षमा हुने गरेका छन्। घरेलु लिग त यो वर्षबाट मात्र सुरु भयो। प्रतियोगिता कम हुनुको अर्को फाइदाको को कुरा के हो भने, विजयले मज्जाले पढ्नका लागि समय भने पाएका छन्। ‘मलाई पढाइमा त असर गरेन। मेरो ब्याचलर क्लियर भइसक्यो। दुवै सँगसँगै लगेको हो,’ विजय सुनाउँछन्।
खेलाडीलाई चिन्ता त खेलकै हुन्छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षण नभएको अवस्थामा खेलको लय बिग्रने चिन्ता हुन्छ। फुटसलको लिग सुरु भएपछि अभ्यास राम्रो हुँदै जानेमा विजय विश्वासी देखिन्छन्। ‘लिग भएपछि अलिकति भए पनि राम्रो भएको छ। भविष्यमा पनि राम्रो हुँदै जान्छ भन्ने आशा छ,’ उनले भने।
घरबाट पनि खेल्नका लागि सँधै प्रेरणा र हौसला मिलिरह्यो। ‘परिवार 'सपोर्टिभ' नै हुनुहुन्छ। औपचारिक शिक्षा त्यति भएपछि धेरै दबाब दिनुहुन्न। मैले सुरु गर्दा पनि खासै अवरोध गर्नुभएन,’ उनले परिवारबारे भने, ‘राष्ट्रिय टिममा परेर बाबाआमाको शान बढोस् भन्ने चाहन्थेँ। बाबाले पनि खेलाडी होस् भन्ने चाहनुभयो।’
सबैले कुनै न कुनै कुरा सुरु गर्दा प्रेरणा दिने एउटा कुरा त हुन्छ नै। त्यो एउटा कुरा विजयको पनि छ। उनी साथीसँग खेल्न जान्थे र जित निकालेर फर्किन्थे।
विजयको टिम चाहिँ जहिल्यै पनि जित्ने। काठमाडौंमा फुटसल खेल्न त पैसा चाहिन्छ। तर जितेपछि पैसा तिर्न पनि नपर्ने। ‘लुजिङ पे’ खेल्थ्यौँ। जसले हार्छ उसले तिर्नेुपर्ने नियम थियो। तर हामी धेरै जस्तो जित्ने गर्दथ्यौँ,’ लामो कुराकानीका क्रममा विजय बल्ल खुल्न थालेका थिए, कुराकानीका दौरान उनी पहिलो पटक हाँस्दै भने, ‘त्यो भएर पनि पैसा कम तिर्नु पर्यो। जितिरहे पछि त खेल्न पनि मन लाग्छ नि!’
भविष्यका फुटसल सँधै रहला? फुटसल नै भनेर बस्न सजिलो त पक्कै छैन। जीवनमा कमाउने बाटो पनि त चाहियो। फुटसल व्यवसायिक भइसकेका छैन। ‘फुटसलमा धेरै खेल भए भने हामीलाई यसमा टिक्न सहज हुन्छ। हरेक वर्ष एनएफएलजस्ता लिगहरु हुनुपर्छ। त्यति भयो भने हामीलाई खेलिरहने वातावरण मिल्छ,’ विजय भन्छन्, ‘अन्य देशसँग मैत्रीपूर्ण खेलहरु भइरहेमा हामी फुटसलमा टिकिरहन सक्छौं।’
अहिले उनी राष्ट्रिय टिमबाट एसिया कपको छनोट खेलन किर्गिस्थानको राजधानी बिस्केक आइपुगेका छन्। टिमको वातावरण पनि सौहार्दपूर्ण छ। ‘अहिलेको टिमको वातारवण पनि राम्रो छ। हामी दाजुभाई जसरी बसेका छौं। प्रशिक्षकले पनि धेरै कोसिस गरिरहनु भएको छ। हामीले एएफसी छनोटअघि मैत्रीपूर्ण खेल्दा पनि दोस्रो खेलमा कति सुधार देखिएको थियो। कति चाँडो सिक्यौँ र सिक्न सक्छौं भन्ने थाहा हुन्छ नि! अघिल्लो दिनको तुलनामा भोलिपल्टको खेल धेरै सुधारिएको थियो। जोस पनि राम्रो छ,’ विजय नेपाली टिमबारे भन्छन्।
नेपालका प्रतिस्पर्धी कमजोर छैनन्। यो वर्ष नेपालमा पहिलो पटक लिग भयो। नेपालले खेल्न लागेको ताजिकिस्तान, उज्वेकिस्तानमा धेरै पहिलेबाट यस्ता प्रतियोगिता हुँदै आएका छन्। धेरै अनुभव भएका खेलाडी प्रतिस्पर्धामा छन्। ‘हामीले कम समयमै यति धेरै राम्रो गर्न सक्नु भनेको राम्रो हो जस्तो लाग्छ। फुटसललाई अलिक फोकस गर्न सकियो भने हामी धेरै माथि पुग्न सक्छौं भन्ने विश्वास छ,’ विजयले भने।
000
विजयलाई दशैंअघि भएको लिग सम्झनामा आइरहन्छ। उनी बेस्ट फिक्सो भएका थिए। शीर्ष चारभित्रको टिमले नै बेस्ट फिक्सो पाउला भन्ने लागेको थियो उनलाई। तर उनी आफैँ पाए। ‘त्यो लिग नभएको भए राम्रो खेलाडी छान्न पाइँदैन थियो होला! खेलाडीहरुले खेल देखाउन सक्दैन थियो होला! त्यो लिगमा खेलाडीले नयाँ खेलाडी जम्माउन धेरै सहयोग गरेको छ। यो छनोटमा पनि लिगको राम्रो प्रभाव छ।’
उनी थप्छन्, ‘आउँदा दिनमा यस्तै लिग अझै हुनुपर्छ। खेलाडीको लागि मैत्रीपूर्ण खेलको आयोजना गर्नुपर्छ। मेरो व्यक्तिगत भन्नुपर्दा चाहिँ फुटसललाई अघि लाने सोच छ। तर यसमै टिकेर रहन चाहिँ गाह्रो छ। फुटबलमा जस्तै लगानी गरेर मैदान बनाउने हो भने राम्रो हुन्छ। धेरै माथि पुग्छ भन्ने लागेको छ।’
टिमका प्रशिक्षक गौरव पनि विजयको खेल्ने शैली र उनको प्रदर्शनबाट प्रभावित छन्। विजय कस्तो खेलाडी हो? प्रशिक्षक जवाफ दिन्छन्, ‘उसले लिगमै बेस्ट फिक्सो पाएको थियो। त्यसबाट विजय कस्तो खलाडी हो भन्ने प्रमाणित हुन्छ। विजयले सन् २०१९ मा राष्ट्रिय टिममा पनि राम्रो प्रदर्शन गरेका थिए। एक दुई वटा ब्याडलकका कारण धरानले शीर्ष चारमा स्थान बनाउन सकेन्। तर उनको ट्यालेन्ट छुपेन। र, उनी राष्ट्रिय टिमलाई चाहिने खेलाडी हुन्।’
फुटसलमा फिक्सो, पिभोट र आला हुन्छन्। उनीहरुले रोटेसनमा खेलिरहेका हुन्छन्। विजयले चाहिँ जुनै पोजिसनबाट पनि खेल्न सक्ने क्षमता राख्ने प्रशिक्षक गौरव बताउँछन्। गैरवका अनुसार विजयले टिमलाई पनि सम्हालेर लैजान सक्छन्।
‘टिमलाई गति दिने सवालमा उनको अनुभव काम लागि रहेको हुन्छ। उनी अनुभवी खेलाडी भएकाले नयाँ आएका खेलाडीलाई भन्दा उसलाई धेरै थाहा छ,’ गौरवले भने, ‘उसले नयाँ आउने खेलाडीलाई प्रेरणा दिएर अघि बढाउन सक्छ। बाहिरको कुरा गर्ने हो भने उनी प्रशिक्षकसँग नजिक हुन्छन्। किनेभने प्रशिक्षकसँग खेलाडीले सिधा कुरा गर्न हिचकिचाउँछ।’
प्रशिक्षक गौरव पनि खेलाडीसँग साथिभाइको व्यवहार गर्छन्। त्यसले टिममा मैत्रीभाव पैदा गरेको छ। सबैको लक्ष्य टिम राम्रो बनाउनु छ।