बुधबार, वैशाख १७, २०८२

बार्सिलोनामा मेस्सी : उपचार गर्न आएथे, 'लिजेन्ड' बनेर बाहिरिए

लियोनेल मेस्सी बिहीबार राति बार्सिलोनाबाट बिदा भए। स्पेनिस क्लब बार्सिलोनाले १० घरेलु लिग र चार च्याम्पियन्स लिग जिताएका मेस्सीलाई ला लिगाको तलबको नियमको कारण बिदा गरेको बताएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, साउन २२, २०७८

काठमाडौं– लियोनेल मेस्सी बिहीबार राति बार्सिलोनाबाट बिदा भए। स्पेनिस क्लब बार्सिलोनाले १० घरेलु लिग र चार च्याम्पियन्स लिग जिताएका मेस्सीलाई ला लिगाको तलबको नियमको कारण बिदा गरेको बताएको छ।

यससँगै २१ वर्षपछि अब ३४ वर्षे मेस्सी बार्सिलोनामा देखिने छैनन्। दुई दशकअघि उनी एटलान्टिक ओसनको दक्षिणबाट उत्तर पुगेका थिए। तर कसरी?

उनी सन् १९८७ को जुन २४ मा अर्जेन्टिनाको रोजारियो, सान्टा फिमा तेस्रो सन्तानका रुपमा जन्मिएका थिए। बावु जर्ज मेस्सी र आमा सेलिया कुसिट्टिनीबाट उनी जन्मिए। बाबु स्टिल फ्याक्ट्रीका व्यवस्थापक थिए। आमा चुम्बक उत्पादन गर्ने कम्पनीमा काम गर्थिन्।

अर्जेन्टिनी भएर पनि उनी बाबुका साइडबाट इटालियन–स्पेनिस हुन्। दक्षिण केन्द्रीय एडरिक्ट पेनिन्सुलाबाट त्यहाँ पुगेका आप्रवासीका नाति हुन् मेस्सी। र, उनकी आमा पनि इटालीय वंशकी हुन्।

फुटबलप्रति प्रतिबद्ध र खेलप्रेमले भरिएको परिवारमा हुर्किएका मेस्सीमा फुटबलको गाढा छाप सानै उमेरमा पर्यो। त्यो छाप क्रमशः सोखमा बढ्दै गयो अनि आदतमा परिणत भयो। उनी आफ्ना दाइ रोड्रिगो र मातियससँग सानैदेखि खेल्न थाले।

Metro Mart
worldlink

आफ्ना काकाबडाउका छोराछोरी म्याक्सिमिलानो र इम्यानुएल बोनुचीसँग पनि उनी फुटबल खेलमा निकै रमाउँथे। पछि तिनीहरु पनि उत्कृष्ट फुटबलर बने। म्याक्सिमिलानो फरवार्ड बनिन् भने बोनुची मिडफिल्डर।

उमेरले आधा दशक पनि पुगेका थिएनन्– मेस्सीको कौशल देखर उनका पिता जर्ज मेस्सीले उनलाई स्थानीय क्लब ग्रन्डोलीमा भर्ना गरिदिए। त्यहाँ उनलाई पिताले नै फुटबल पनि सिकाउँथे। यद्यपि खेलाडीको रुपमा उनीमाथि प्रारम्भिक प्रभाव उनको हजुरआमा सेलियाको थियो।

सेलिया मेस्सीको अभ्यासमा सँगै आउँथिन् र सँगै फर्किन्थिन्। त्यो सायद मेस्सीले आज पनि भुल्न सकेका छैनन्। हजुरआमाले त संसार छोडिन् तर मेस्सीले सेलियालाई विर्सन सकेनन्। ११ औं जन्मदिन मनाउनुअघि नै हजुरआमालाई गुमाएको पलमा मेस्सी क्षतविक्षत भएका थिए। त्यसैले हरेक गोलपछि मेस्सी हजुरआमालाई सम्झेर गोल उत्सव मनाउँछन्।

त्यतिबेलादेखि गोल गरिसकेपछि उनी आकाशतिर हेरेर हजुरआमालाई गोल गरेको सुनाउँछन्। आफ्ना दुई औंलाले पनि आशातिर इंगित गर्छन्।

यता उनी ६ वर्षको हुँदा सहरी क्लब निवेल्स ओल्ड बोइजबाट खेल्न थाले, जुन क्लबमा उनी जीवनभरको समर्थक पनि हुन्। ‘मेसिन अफ ८७’ नामले चिनिएको मेस्सीले त्यहाँबाट पाँच सय गोल गरे।

युवा क्लबमा उनको टिम कहिल्यै नहार्ने टिमको रुपमा नामाकरण गरिएको थियो। उनको बाल्यावस्थाको खेल हरेर धेरै मानिस दंग पर्न थाले। त्यो उमेरमै शरीरमा सन्तुलन, बल ड्रिबलिङ, छक्याउनेमा युक्तिको प्रयोग विपक्षीलाई हैरान पार्ने खालको थियो।

तर उनको खेल जीवन तब असुरक्षित भयो, जब १० वर्षको उमेमा शरीर वृद्धिका लागि चाहिने हार्मोनमा समस्या पत्ता लाग्यो। उनको परिवार मनग्य धनी थिएन। बिमाको रकमबाट पनि उनको उपचारका लागि दुई वर्षको मात्र खर्चको व्यवस्थापन हुने देखियो।

मेस्सीको उपचारका लागि महिनाकै एक हजार डलर लाग्थ्यो। साढे दुई दशकअघि मासिक एक हजार अमेरिकी डलर कम मूल्य थिएन। जुन जर्ज मेस्सीले तिर्न सक्दैनथे। बिमाको रकमले छोराको भविष्य निश्चित गर्न नसक्ने भएपछि उनका पिता खुब आत्तिएका थिए।

न्युवेल्स क्लबले केही रकम दिने प्रतिज्ञा गरे पनि पछि बाचाबाट पछि हट्यो। त्यसैले ब्यूनस आयर्स क्लबले मेस्सीको उपचारमा सहयोग गर्ने भयो। तर त्यतिबेलै अर्जेन्टिना आर्थिक मन्दीको सिकार भयो। मन्दीले देशै संकटमा रहँदा क्लबले उनको उपचार गर्न नसक्ने भयो।

त्यतिबेला ब्राजिलका रोनाल्डो निकै चर्चामा थिए– मेस्सीका बेस्ट फर्वाड। उनी रोनाल्डोको खेल हेरेर खुब रमाउँथे, आइडल मान्थे। रोनाल्डो जसरी गोल गर्छु– सायद मेस्सी मनमनै सोच्थे। त्यो मेस्सीमा उत्साह देखेका उनका पितालाई मेस्सीको निकै चिन्ता लाग्दथ्यो।

त्यतिबेला उनैले स्पेनको क्याटलानमा बस्ने आफन्तलाई सम्झिएका थिए। ‘हुन्छ’ भन्ने संकेत आफन्तबाट पाउनेबित्तिकै बाउछोरा एटलान्टिक महासागर पार गर्दै युरोप पुगेका थिए।

त्यतिबेला उनको खेल अमेरिकामा मात्र होइन, युरोपका केही क्लबमा पनि चर्चा भइसकेको थियो। उनले बार्सिलोनामा छोरालाई अनुबन्ध गराउन निकै कसरत गर्नुपर्यो। त्यतिबेला डाइरेक्टर थिए चार्ली रिसाक। उनले मेस्सीका लागि ट्रायल खेलको व्यवस्था गरे। त्यो खेलपछि नै उनी मेस्सीबाट प्रभावित बने। तत्कालै अनुबन्ध गराउन राजी भए। तर बोर्ड बाधक बन्यो।

१३ वर्षे विदेशी केटोलाई क्याटलान क्लब भित्र्याउन चाहँदैनथियो। त्यतिबेला स्वदेशी खेलाडी त सानै उमेरमा अनुबन्ध हुन्थे र विदेशी खेलाडी अनुबन्ध गर्ने प्रचलन खास थिएन।

तर १४ डिसेम्बरमा बार्सिलोनालाई आफ्नो प्रतिबद्धता पूरा गर्ने एउटा अल्टिमेटम आयो। रिसाकको हातमा अन्य कुनै कागज थिएन, टेबलमा राखिएको न्यापकिन पेपरमै उनले पहिलो सम्झौता गरे।

त्यसपछि बाँकी उपचारको लागि खास गाह्रो भएन। तर पनि ट्रान्सफर समस्या र विदेशी खेलाडी भएका कारण उनले धेरै खेल खेल्न पाएनन्। मैत्रीपूर्ण खेल मात्र खेले। क्याटलोनिया लिगमा बल्ल खेल्ने मौका जुर्दै थियो। फुटबल बाहेक पनि उनी क्याटलान समाजमा जोडिन संघर्ष गरे।

हम्मेसी बोलेर प्रतिक्रिया नदिने मेस्सीका साथीहरुका माझ त उनी बोल्नै सक्दैनन् भन्ने छाप परेको थियो। पछि एक विदेशी लजालु केटा उनको परिचय रह्यो। दाजुहरुसँग आमा अर्जेन्टिना फर्किएपछि मेस्सी घरको न्यास्रोले हायलकायल भएका थिए।

बार्सिलोनाको ला मासिया एकेडेमीमा रहेको एक वर्षपछि मात्र उनी रोयल स्पेनिस फुटबल फेडेरेसनमा भर्ना भए। त्यसपछि मात्र उनी सबै प्रतियोगिता खेल्न सक्ने भए। त्यतिबेला मात्र उनको शरीर वृद्धिसम्बन्धी हर्मोनको उपचार पनि सम्पन्न भयो। तर, उनी अन्य फुटबलर जस्ता अग्ला भएनन्। तर, त्यतिबेलाबाटै जेरार्ड पिके र सेस फाब्रिगासलगायतका साथी पाए। त्यतिबेलासम्मकै सबैभन्दा उत्कृष्ट युवा खेलाडीको रुपमा उनी त्यतिबेला ‘बेबी ड्रिम टिम’को महत्वपूर्ण हिस्सा बने।

उनी पहिलो सिजनमै क्याडेट एको सर्वाधिक गोलकर्ता बने। ३० खेलमा ३६ गोल गरे। उनले क्याटलान ट्रिबल गरे– लिग, स्पेनिस र क्याटलान कप जितेर।

त्यो एस्पानोयलविरुद्ध भएको क्याटलान कप फाइनलमा एस्पानोयललाई हराउँदा उनले १० मिनेटभित्र दुई गोल गरेका थिए। उनको त्यो प्रदर्शन ठूला क्लबले हेरिरहेका थिए।

त्यो सिजनपछि आर्सनलले पिके, फाब्रिगास र मेस्सी अनुबन्धको प्रक्रिया थाल्यो। फाब्रिगास आर्सनल गए, अर्को सिजन पिके म्यानचेस्टर युनाइटेड गए। मेस्सी चाहिँ बार्सिलोनाकै सिनियर टिमबाट खेल्न थाले। त्यसपछि मेस्सीको खेल कौशल विश्वले भुल्न सक्दैन।

बार्सिलोनाबाट बाहिर, अब कता?

सन् २००४ देखि सिनियर टिममा मेस्सीले १७ वर्ष योगदान दिए। तर २०२०–०२१ सिजन सकिएपछि उनी फ्रि ट्रान्सफर भए। गएको जुलाई १ बाट उनको सम्झौता सकिएपछि मेस्सी फ्रि एजेन्ट भए। त्यसपछि उनी र बार्सिलोनाबीच एक मौखिक सहमति भयो। सम्झौतामा तलब घटाउने प्रस्ताव गरिएको थियो।

तर, त्यो प्रस्ताव लिखित हुन सकेन। मेस्सी र बार्सिलोनाबीचको सम्झौता टुंगोमा पुग्न नसकेपछि उनले बार्सिलोना छोड्ने पक्का भएको हो।

क्याटलान पत्रकार अर्नेस्ट मासियाका अनुसार दुवै पक्ष एकै लाइनमा छन्। दुवै पक्षको सम्झौतापत्र तयार छ। तर, पत्रमा हस्ताक्षर छैन। गर्न बाँकी छ तर ला लिगाको नियमले त्यो सम्झौता गर्न नमिल्ने क्लब बताउँछ।

खेलाडी दर्ता, वित्तीय नियम र संरचनागत व्यवधानका कारण उनीसँग नयाँ सम्झौता हुन नसकेको बार्सिलोनाको मत छ। नेयमार क्लबबाट बाहिरिँदै जसरी क्लबका खेलाडीले चर्चा गरेका थिए, आज मेस्सीप्रति त्यस्तै चर्चा खेलाडीले गरेका छैनन्।

मेस्सी आफैंले पनि केही बताएका छैनन्। उनी पहिलोपटक बार्सिलोनामा देखिएझैँ मौन छन्। विश्वका सबैभन्दा उत्कृष्ट फुटबलर मानिएका मेस्सीको खेल हेर्न जो पनि लालायित हुन्छ। त्यसैले मेस्सीलाई अनुबन्ध गर्न जुनसुकै ठूला क्लब राजी हुनेछन्।

उनको तलब निकै महँगो छ तर उनी अनुबन्ध भएपछिको टेलिभिजन राइट जर्सीको व्यापार सबै क्लबको आँखामा नाचिरहेको कुरा हो। उच्च खेल कौशलका धनी एवम् फर्वाड मेस्सी अहिले प्लेमेकरका रुपमा फेमस छन्। यता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मिडफिल्डर खोजी गरिरहेको छ।

यस्तो अवस्थामा मेस्सी पीएसजीमा जाने सम्भावना पनि उस्तै छ। तर मेस्सी आफैं भने पेप ग्वार्डिओलाको अन्डरमा खेल्न चाहन्छन्। त्यसले उनको अघिल्लो कदम त्यता हुनसक्ने आशंका समर्थकले गर्न लागेका छन्। उनी गएको वर्ष नै फ्रि ट्रान्सफरमार्फत म्यानचेस्टर सिटी जान चाहेका मेस्सीलाई बार्सिलोना सात सय मिलियन पाउन्डको बाँध लगाएको थियो। त्यो बाँध सिटीले तोड्न सकेको थिएन। तर यो सिजन बाँध छैन। सायद मेस्सी सिटीको कदम कुरिरहेका हुनसक्छन्।

स्पेनिस फुटबल राइटर गुलियम बलेगको शब्दमा भन्ने हो भने मेस्सी अहिले पर्ख र हेरको अवस्थामा छन्। जुन अवस्था बार्सिलोनासँग मौखिक सम्झौता हुनुअघिसम्म थियो। तर अहिले यो चाहिँ स्पष्ट छ कि मेस्सी बार्सिलोनामा रहन सक्ने आर्थिक बाटोहरु चाहिँ बन्द छन्।

तर, युवा समर्थकहरुले त मेस्सीबाहेकको बार्सिलोना देखेकै छैनन्। बलेग भन्छन्, ‘तर यो कथाको अन्त्य भने होइन।’

ला लिलासँग बार्सिलोनाको शक्तिसंघर्ष

एक स्पेनिस फुटबल विश्लेषक बार्सिलोना र मेस्सीको प्रकरण बाहिर हल्ला गरिएजस्तो नभएको बताउँछन्। उनले ला लिगाको फेयर प्ले सिस्टमसँग बार्सिलोनाको शक्ति संघर्षका रुपमा मात्र हेर्नुपर्ने बताउँछन्।

उनले मेस्सी बाहिरिनेबारे मृत कल्पना नगर्न अनुरोध गर्दै यो सबै ‘स्टन्ट’ कप्तान मेस्सीको भव्य बिदाइका लागि गरिएको नाटकजस्तो देखिएको बताएका छन्। मेस्सीबारे अन्य खेलाडीले नबोल्नुले त्यो हुनसक्ने संकेत पनि गरेको छ।

अहिले बार्सिलोना ला लिगासँग संघर्ष गरिरहेको छ। किनभने ऊ निकै ठूलो आर्थिक संकटमा छ। र, यो जोखिम मोलिरहेको छ। त्यसैले उसले दुवै पक्ष सहमत हुन नसकेको आरोप ला लिगालाई लाएको हो।

यो प्रकरणसँगै केही समयअघि उदाएको युरोपियन सुपर लिगको असफल घटना पनि जोडिन्छ। अहिले लगानी कोष सीभीसीसँग ला लिगाले सम्झौता गरेको छ। त्यस अनुरुप उसले बार्सिलोनालाई दुई सय मिलियन दिनेछ, जुन मेस्सीलाई क्लबमा राख्न पर्याप्त हुनेछ तर उसले सुपर लिगको सपना त्यागेर ला लिगासँग लामो समयका लागि प्रतिबद्ध हुनुपर्ने छ।

यता बार्सिलोनाको सूचनापछि अर्को क्लब रियल मड्रिडले पनि क्लबको सहमति बिना नै ला लिगाले सीभीसीसँग सम्झौता गरेकोबारे आपत्ति जनाएको थियो। रियलले त्यो सम्झौताले फाइदा नगर्ने पनि बताएको थियो।

यी सबै परिघटनापछि बार्सिलोनाका अध्यक्ष लापोर्टाले ला लिगाका अध्यक्ष जेभियर टेबसलाई भनेका छन्, ‘अब हेरौं, कसरी तपाईंको नयाँ पार्टनरले मेस्सीबिनाको लिग गराउने रहेछन्। अबको चाल तपाईंको हातमा छ।’

न रह्यो रोनाल्डो–मेस्सी युग, न रह्यो एमएसएन ट्रियो

क्रिस्टियानो रोनाल्डो तीन वर्षअघि इटाली गए। त्यसपछि ला लिगामा मेस्सी निकटतम प्रतिद्वन्दीविहिन भए। त्यसपछिको एल क्लासिको केही फितलो भएको समर्थकले महसुस गरे।

३६ वर्षका रोनाल्डो बाहिरिएको तीन वर्षपछि ३४ वर्षे लियोनेल मेस्सी पनि बार्सिलोनाबाट बाहिरिँदै छन्। यससँगै अब ला लिगा मेस्सीविहिन हुनेछ।

बार्सिलोनाका सर्वाधिक गोलकर्ता मेस्सी र च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोको नामले पनि स्पेनिस लिग विश्वमा चर्चित थियो।

यता दुई सिजन अघिबाट उनीहरु फाइनल्समा पुग्न नसक्दा च्याम्पियन्स लिगमा उनीहरुको उपस्थितिलाई लिएर टिप्पणी सुरु भइसकेको छ। मेस्सी बार्सिलोनामा पुनगरागमन नभएको अवस्थामा ला लिगामा पछिल्ला दशककै विश्वकै महान खेलाडीविहीन हुनेछन्। यता पछिल्लो समय उनीहरुले बनाएको रेकर्ड पनि तोडिँदै आएको छ।

एक समयमा बार्सिलोनामा मेस्सी, लुइस स्वारेज र नेयमारको ट्रियो थियो। जसलाई ‘एमएसएन’को उपनामले चिनिन्थ्यो। त्यो ट्रियोले ट्रिबल जित्यो। अर्थात् च्यम्पियन्स लिग, ला लिगा र घरेलु कप एकै सिजनमा जित्यो।

त्यो समयको बार्सिलोनालाई हराउन सक्ने विश्वमा सायदै कुनै क्लब थियो। यी तीन स्पेनिस क्लबमा यस्ता खेलाडी थिए, जसको चर्चा विश्वभर थियो नै। सँगै उनीहरुले मैदानमा अद्भूत खेल पस्कन्थे।

तर नेयमार २०१७ यता पीएसजीमा छन् भने स्वारेज गएको सिजनको सुरुमा बार्सिलोनाबाट बाहिरिए। उनी अहले एट्लेटिको मड्रिडमा छन्। गएको सिजनसम्म त बार्सिलोनामा एमएसनका मेस्सी मात्रै बाँकी थिए तर उनी बाहिरिएसँगै बार्सिलोनामा त्यो ट्रियोको सबै अंश सकिएको छ।


प्रकाशित: Aug 06, 2021| 17:44 शुक्रबार, साउन २२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।