मंगलबार, जेठ ७, २०८२

प्रचण्डलाई कोबाट र कहाँबाट छ खतरा?

२०७० सालको संविधानसभा निर्वाचनपछि पार्टी कमजोर हुँदासमेत संसदीय गणितको भरमा प्रचण्डले पार्टीलाई सत्तामा पुर्‍याए। यति हुँदाहुँदै पनि उनले निरन्तर आफूमाथि खतरा छ भनेर बताइरहनु ‘शंकास्पद’ छ।
 |  बुधबार, माघ २६, २०७८

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

बुधबार, माघ २६, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक–पटक आफूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिबाट खतरा बढेको बताइरहन्छन्। कहिले ‘नेपालको माओवादी सिध्याउन सबै शक्ति लागिपरेको’ अभिव्यक्ति दिने प्रचण्ड कहिले त ‘अर्को जनयुद्ध सुरु हुन सक्छ’ भनेर राजनीतिक माहोल तरंगित बनाउँछन्।  

हिजो मंगलबार उनले माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादी मिलेर सखाप पार्न लागेको अभिव्यक्ति दिए। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जुम्ला जिल्ला नेतृत्वलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रचण्डले भने, ‘माओवादी विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ। उनीहरू हामीलाई जसरी पनि सखाप पार्न चाहन्छन्।’

प्रचण्डमात्र होइन, अन्य माओवादी नेताहरू पनि कम्युनिष्ट आन्दोलन समाप्त पार्न सबै शक्ति लागिपरेको बताइरहन्छन्। शनिबार माओवादी प्रवक्ता कृष्णबहादुर महराले नेपाललाई समाजवादको बाटोमा रोक्न अन्तरािष्ट्रय शक्ति सक्रिय रहेको अभिव्यक्ति दिए। ‘साम्राज्यवाद केन्द्रित शक्तिहरू नेपाल समाजवादतिर अगाडि नबढोस्, बरू पुँजीवादी देशतिरै जाओस् भन्ने संघर्षमा छन्। एमसीसी भनेको पनि यही हो,’ महराले भनेका थिए। 

२०७० सालको संविधानसभा निर्वाचनपछि पार्टी कमजोर हुँदासमेत संसदीय गणितको भरमा प्रचण्डले पार्टीलाई सत्तामा पुर्‍याए। यति हुँदाहुँदै पनि उनले निरन्तर आफूमाथि खतरा छ भनेर बताइरहनु ‘शंकास्पद’ छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको ‘प्रतिवद्धतापत्र’ २३ माघमा सार्वजनिक भएपछि प्रचण्डमाथि चौतर्फी प्रश्न उठेको छ। सामाजिक सञ्जालमा उनलाई थुप्रैले ‘दुईजिब्रे’भनेर टिप्पणी गरेका छन्। प्रचण्डकै कारण मुलुकमा अस्थिरता बढेको अभिव्यक्ति पूर्वमाओवादी नेताहरूले पनि दिइरहेका छन्। 

प्रचण्ड भने आफूमाथि उठेका प्रश्नको सदावहार उत्तर दिन्छन्। त्यो हो– प्रतिक्रियावादीहरूको चलखेल। के प्रचण्डले भनेझैं उनीमाथि सधैं प्रतिक्रियावादीको चलखेल र घेराबन्दी भइरहेको छ त? एकैछिन विगततिर जाऔं।

विद्यार्थी जीवनदेखि नै लामो समय भूमिगत राजनीति गरेका प्रचण्ड २०६३ असार २ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सार्वजनिक भए। त्यही साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतायता उनी नेपाली राजनीतिको प्रमुख खेलाडीमध्ये एक रहँदै आएका छन्। यदि प्रचण्डले भनेको जस्तै खतरा उनीमाथि छ भने शान्ति प्रकियायता माओवादी सामेल भएका राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना निम्न हुन्ः

१) २०६६ वैशाखमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउन खोज्दा राष्ट्रपति रामवरण यादवले नहटाउने आदेश जारी गरेपछि बाध्य भएर राजीनामा।

२) २०७२ सालको संविधान घोषणा प्रक्रिया तथा नाकाबन्दी।

३) २०७४ मा पार्टी एकतापछि केपी ओलीले एकछत्र पार्टी चलाउँदा भूमिकाविहीन भएको अवस्था।

४) द्वन्द्वकालीन घटनाको प्रश्न उठ्दा प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालत लैजानेसम्मको चर्चा।

५. माओवादी युद्धयता चीन, भारत र अमेरिकासँगको सम्बन्ध तथा संयुक्त राष्ट्रसंघसँगको सम्बन्ध।

प्रचण्डको राजनीतिक जीवनमा देश–विदेशसँग जोडिएका मुख्य घटना यिनै हुन्। निर्वाचनमा हार्न, सरकारमा जान वा कुनै राजनीतिक निर्णयमा पछाडि पर्न कुनै शक्तिको हात चाहिँदैन। दैनन्दिन राजनीतिमा चलिरहेको उतारचढावलाई नै जोखिम भन्ने हो सबै नेतालाई यस्तो समस्या परिरहेको हुन्छ।

यदि अन्तर्राष्ट्रिय भेटघाटलाई नै उनले अन्तराष्ट्रिय शक्ति मानेको हो भने ती शक्ति कोको थिए त? प्रचण्डका पछिल्ला अन्तर्राष्ट्रिय भ्रमण तथा भेटघाटको समीक्षा गर्ने हो भने ती भेटपछि कुनै ‘निर्णायक मुभ’ देखिँदैन प्रचण्डको। त्यस्ता भ्रमणपछि पनि कुनै ठूलो राजनीतिक फेरबदल भएको देखिँदैन। 

राजदूतबाहेकका अन्तर्राष्ट्रिय तहका नेता एवं सरकारी अधिकारीसँग प्रचण्डको पछिल्लो भेट यस्तो छः 

– २०७५ भदौ २३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुष्मा स्वराजसँग नयाँ दिल्लीमा नेकपा अध्यक्षको हैसियतमा भेट।

– २०७५ असोज पहिलो हप्ता चीन भ्रमण। चिनियाँ उपप्रधानमन्त्रीसहित चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग बेइजिङमा भेट।

– २०७६ भदौ २४ गते चिनियाँ विदेश मन्त्री वाङ यीसँग काठमाडौंमा भेट।

– २०७६ असोज ७ गते चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओसँग काठमाडौंमा भेट।

– २०७६ असोज ६ गते भारतीय गुप्तचर ‘रअ’का प्रमुख सामन्त गोयलसँग भेटेको कुरा बाहिरएपछि खण्डन। 

– २०७६ असोज २६ गते काठमाडौंमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यक्तिगत तथा तत्कालीन नेकपा सचिवालयको टिमसहित भेटघाट।

– २०७८ भदौ २५ गते एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग सत्ता साझेदार एवं माओवादी केन्द्रका अध्यक्षको हैसियतमा भेट।

– २०७८ पुस १३ गते माओवादी नेता वर्षमान पुनद्वारा चिनियाँ उपमन्त्री चेन झाओसँग बेइजिङमा भेट, जुन भेटलाई प्रचण्डकै रणनीति मानिन्छ।

– २०७८ मंसिर ३ गते अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग सिंहदरबारमा भेट।

– २०७८ असारमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि भारत, चीन र अमेरिकाका राजदूतसँगका नियमित भेट।

२०७० सालको संविधानसभा निर्वाचनपछि माओवादी पार्टी कमजोर हुँदासमेत संसदीय गणितको भरमा प्रचण्डले पार्टीलाई सत्तामा पुर्याए। अहिले पनि उनको पार्टी सत्तामा साझेदार छ। 

प्रचण्ड किन निरन्तर आफूमाथि खतरा छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहन्छन् त? उनी साँच्चै खतरामा हुन्छन् कि पब्लिक सेन्टिमेन्टका लागि यस्तो गर्छन्? कम्युनिष्ट पार्टीमा कुनै न कुनै व्यक्ति वा समूहलाई ‘प्रधान शत्रु’ करार गर्ने चलन छ। जस्तो– चिनियाँ राष्ट्रपतिले आफू समस्यामा परेपछि अमेरिका वा भारतले सीमा मिचेको कुरा निकाल्ने गर्छन्। प्रचण्ड पनि कहिले भारत, कहिले अमेरिका त कहिले भूमण्डलीकृत पुँजीवादको कुरा निकाल्दै आफूमाथि खतरा रहेको बताउँछन्। 

सहयोद्धा छिन्नभिन्न भएपछि एक्लो रिले दौड 

स्मरणीय कुरा के छ भने, नेकपा माओवादीले जनयुद्ध सुरु गर्दाका १९ शीर्ष नेतामध्ये अधिकांश अहिले प्रचण्डसँग छैनन्। वैचारिक नेताका रुपमा चिनिने मोहन वैद्य, सिपी गजुरेल, बाबुराम भट्टराईले संविधान निर्माणसम्म आइपुग्दा माओवादी परित्याग गरिसकेका थिए। पछिल्लो समय भट्टराई माओवादी केन्द्र र अध्यक्ष प्रचण्डविरुद्ध खरो बोल्ने नेतामा पर्छन्।

यीसहित विश्वभक्त दुलाल आहुति, नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र विष्ट मगरले पनि माओवादी छाडिसकेका छन्। जिल्ला तहमा बलियो पकड भएका नेताहरू पनि माओवादी छाडेर एमाले प्रवेश गर्ने क्रम बढेको छ। फलस्वरुप माओवादी केन्द्रको सांगठनिक संरचना कमजोर बनेको देखिन्छ।

यद्यपि अधिकांश राजनीतिक मोडहरूमा निर्णायक बन्ने गरेका प्रचण्ड अहिले गठबन्धन सरकारमा छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रचण्डलाई छलफलका लागि बोलाएका थिए। छलफलमा कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए। बैठकमा प्रचण्डले एमसीसीलाई स्थानीय निर्वाचनभन्दा पछाडि सार्न प्रस्ताव गरेका थिए। साथै स्थानीय निर्वाचन वैशाखभन्दा पछि गर्न पनि प्रस्ताव गरे। तर, लगत्तै मन्त्रिपरिषद्ले वैशाख ३० गतेका लागि स्थानीय निर्वाचन घोषणा गर्‍याे। 

एमसीसीलाई लिएर प्रचण्ड चेपुवामा छन्। एकातिर उनी संशोधनबिना एमसीसी पारित हुन नसक्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् भने अर्कोतिर एमसीसी पारित गर्ने प्रतिवद्धतासहितको पत्र सार्वजनिक भएको छ। फेस सेभिङका लागि प्रचण्डले नेतृत्वको कूटनीतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र उचाल्नुको अर्थ नभएको प्रस्टीकरण दिए। एमसीसी परिमार्जनबिना पारित गर्न नहुनेमा आफ्नो पार्टी दृढ रहेको प्रचण्डको सचिवालयले उल्लेख गरेको छ। जानकारहरु भन्छन्– आफूलाई राजनीतिक–नैतिक संकट परेपछि प्रचण्ड खतरामा परेको फण्डा गर्छन्। अहिले पनि उनलाई नैतिक संकट परेको छ र ‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादी मिलेर सखाप पार्न लागेको’ अभिव्यक्ति दिएका छन्।

प्रकाशित: Feb 09, 2022| 17:16 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...