काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अहिले चर्चामा छन्। दुई महिनाको उपचारपछि बेइजिङबाट विमान चार्टर्ड गरी स्वदेश फर्कनेबित्तिकै उनले आफू माओवादी केन्द्रको महासचिव पदको दाबेदार रहेको प्रष्ट पारे। ‘विगतमा सचिव भएर काम गरिसकेकाले मैले अहिले महासचिवको दाबी गरेको पार्टी अध्यक्ष र वरिष्ठ नेताहरूलाई भनिसकेको छु,’ विमानस्थलमा उनले सञ्चारकर्मीहरुसँग भने, ‘सकेसम्म सहमतिमै पदाधिकारी चयन हुनेमा विश्वास लिएको छु।’
माघ १० गते साँझ काठमाडौं उत्रेका वर्षमान भोलिपल्ट बिहानै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे। वर्षमान नेपाल आएपछि मात्रै पदाधिकारी चयन गर्ने प्रस्ताव महाधिवेशनमा प्रचण्डले राखेपछि माओवादीको पदाधिकारी चयन रोकिएको थियो।
५० वर्षीय वर्षमान पुन ‘अनन्त’ तीनपटक मन्त्री र दुईपटक सांसद भइसकेका छन्। उनकी श्रीमती ओनसरी घर्ती पनि मन्त्री र सभामुख भइसकेकी छिन्। शक्तिशाली पदमा पुगिसकेका ‘वर्षमान परिवार’को प्रभाव पार्टी–पङ्क्तिमा बलियो मानिन्छ। प्रभावशाली नेताहरू मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र बाबुराम भट्टराईको बहिगर्मनपछि पार्टीमा वर्षमान, जनार्दन शर्मालगायत जनयुद्धकालीन कमाण्डरको पकड बढ्यो। यही सिलसिलामा आठौं महाधिवेशनसम्म आइपुग्दा पूर्व कमाण्डरद्वय वर्षमान र जनार्दनबीच महासचिव पदको प्रतिष्पर्धा सतहमा आएको छ।
मन्त्री र सांसदमा ‘ह्याट्रिक’
वर्षमान पुनको राजनीतिक ग्राफ निरन्तर उकालोमा छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट विजयी भएका उनी २०७० को दोस्रो संविधानसभामा भने मोरङ–९ मा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भए। २०७४ मंसिरको आम निर्वाचनमा भने आफ्नो आधार इलाका रोल्पाबाट कांग्रेस उमेदवारलाई भारी मतान्तरले पराजित गर्दै उनी सांसद भए।
दश वर्षको अवधिमा वर्षमान तीनपटक मन्त्री बने। २०६७ फागुनमा झलनाथ खनालको मन्त्रीमण्डलमा वर्षमान शान्ति तथा पुनर्निर्माण मन्त्री बने। शान्ति प्रकियाको मुद्दा उत्कर्षमा रहेको बेला माओवादी युद्ध कमाण्डर नै शान्ति मन्त्री बन्दा त्यतिबेला माओवादीलाई सहज भयो।
झलनाथको सरकार ढलेपछि तत्कालीन माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बने। उक्त मन्त्रीमण्डलमा वर्षमान अर्थमन्त्री नियुक्त भए। त्यतिबेला वर्षमानले १८ महिना अर्थ मन्त्रालयको कमाण्ड सम्हाले।
२०७४ चैतमा केपी ओली नेतृत्वको सरकारमा वर्षमान ऊर्जामन्त्री बने। अघिल्ला मन्त्री जनार्दन शर्माको कार्यकालमा लोडसेडिङ अन्त्य भइसकेको अवस्थाले गर्दा पनि वर्षमानको मन्त्रालयको प्रगति विवरण सकारात्मक रह्यो। त्यसको जस लिन उनी सफल भए।
युद्धले जन्माएको नेता
युद्धकालमा लडाकु तथा कार्यकर्ताहरू आफ्ना कमाण्डरप्रति बफादार रहन्थे। त्यसैले युद्धकालका सैन्य कमाण्डरहरू शान्ति प्रकियापछि संगठनमा पकड भएका नेताको रुपमा उदाएको पाइन्छ। त्यतिबेलाका प्रभावशाली कमाण्डरहरू नन्दबहादुर पुन, जनार्दन शर्मा, चक्रपाणि खनाल र वर्षमान पुन शान्ति प्रक्रियापछि प्रभावशाली नेता भए। जनयुद्धकै पृष्ठभूमिमा वर्षमानले मध्यपश्चिम, पूर्व तथा उपत्यकाको संगठनमा आफ्नो पकड बनाएका थिए।
त्यसो त जनयुद्धभन्दा अगाडिदेखि नै वर्षमान राजनीतिमा सक्रिय थिए। उनको राजनीतिमा ‘इन्ट्री’ एकता केन्द्रबाट भएको होे। २०४८ सालमा निर्मल लामाको नेतृत्वमा राष्ट्रिय जनआन्दोलन हुँदा रोल्पा जिल्ला संयोजकमा कृष्णबहादुर महरा र सहसंयोजक वर्षमान पुन थिए।
वर्षमान युद्धकालदेखि नै संस्थापन पक्ष अर्थात् सुप्रिमो प्रचण्डको विश्वासपात्र रहेको एक पूर्वलडाकु बताउँछन्। उनका अनुसार वर्षमानलाई सैन्य कमाण्डर बनाउनेदेखि मन्त्री बनाउनेसम्ममा प्रचण्डकै प्रत्यक्ष हात छ।
होलेरी इलाका प्रहरी कार्यालय आक्रमण गर्दा जिल्लाको लडाकु दस्ता उनकै नेतृत्वमा थियो। जनयुद्धमा वर्षमानको भूमिका कमाण्डर तथा कमिसार (लडाकुलाई पार्टीको वैचारिक मार्गमा परिचालन गर्ने) दुवैमा रह्यो। फौजी मोर्चादेखि राजनीतिक मोर्चा दुवै जिम्मेवारी पाएपछि वर्षमान शक्तिशाली बन्दै गए।
घोराही ब्यारेक, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महत गाउँलगायतमा माओवादीले गरेको कारबाहीमा वर्षमान कमिसार तथा कमाण्डरको भूमिकामा रहे। २०५९ सालमा पार्टीले उनलाई पूर्वी मोर्चामा खटायो। काठमाडौंको थानकोट, भक्तपुरको दधिकोट र साँखु, सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पनौती लगायत आक्रमणमा वर्षमान आफैं सहभागी भए। दोस्रो जनआन्दोलनताका उनले अन्य पार्टीका नेतासँग कुराकानी गरेर आन्दोलन सफल बनाउन गाउँगाउँबाट आन्दोलनकर्ता उतारे।
२०६३ को विस्तृत शान्ति सम्झौतापछि नेकपा माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो। वर्षमान त्यसमा सदस्य भए। तत्कालीन एकीकृत माओवादीको विराटनगरमा राष्ट्रिय सम्मेलनबाट सचिवमा निर्वाचित भए। एमाले–माओवादी एकतापछि बनेको नेकपामा उनी ४५ जनाको स्थायी कमिटीको अटाए।
आधारभूमि रोल्पा
२०४५ मा वर्षमान महेन्द्र बहुमुखी क्याम्पस दाङमा कानुन पढ्न भर्ना भए । २०४८ मा उत्कृष्ट विदार्थी हुँदै आईएल उत्तीर्ण गरे। त्यहीबेला पूर्णकालीन राजनीतिमा होमिए। २०४९ मा काठमाडौं आएर प्रदर्शनीमार्गको नेपाल ल क्याम्पसमा बीएलमा भर्ना भए र काठमाडौंको राजनीतिमा एकता केन्द्रसँग जोडिए।
राजनीति र युद्धका क्रममा जहाँ भए पनि वर्षमानको आधार इलाका रोल्पा नै रहँदै आएको छ। उनका बुबाआमा र अन्य आफन्त रोल्पामा नै छन्। अहिलेको चुनाव क्षेत्र पनि रोल्पा नै भएकाले उनी त्यहाँ गइरहन्छन्।
सुप्रिमोका प्रिय!
त्यसो त वर्षमान युद्धकालदेखि नै संस्थापन पक्ष अर्थात् सुप्रिमो प्रचण्डको विश्वासपात्र रहेको एक पूर्वलडाकु बताउँछन्। उनका अनुसार वर्षमानलाई सैन्य कमाण्डर बनाउनेदेखि मन्त्री बनाउनेसम्ममा प्रचण्डकै प्रत्यक्ष हात छ।
उमेर र राजनीति प्रवेशमा कान्छो भए पनि पार्टीमा वर्षमानको पकड बलियो छ। २०६८ सालमा मोहन वैद्य, सीपी गजुरेल, विप्लव लगायतका नेताले माओवादी परित्याग गरेपछि प्रचण्डले दोस्रो तहका नेताहरूलाई अघि बढाए। २०७२ असोजमा बाबुराम भट्टराईले पनि पार्टी छाडेपछि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दनहरू नै प्रचण्डपछिका नेता भए।
२०७६ मा तत्कालीन सभामुख एवं प्रभावशाली नेता महरा ‘रोशनी काण्ड’पछि राजनीतिमा पछाडि परे। अदालतले सफाइ दिए पनि नैतिक रुपमा तत्काल महत्त्वपूर्ण पदमा बस्न उनलाई गाह्रो भयो। त्यो घटनापछि माओवादीमा युवा नेताहरूमा शक्ति सञ्चय बढ्यो।
अहिले अध्यक्ष प्रचण्डले सहमतिमै वर्षमान र जनार्दनमध्ये एकलाई महासचिव बनाउने वा तेस्रो व्यक्ति छान्ने बताइसकेका छन्। स्रोतका अनुसार प्रचण्डले वर्षमान र जनार्दन दुवैलाई सँगै राखेर यही साता कुरा गर्नेछन्। त्यसक्रममा सहमति भए दुईमध्ये एक महासचिव हुनेछन्। सहमति नभए प्रचण्ड दोस्रो विकल्पमा जाने सम्भावना छ। त्यो विकल्प के हुने भन्ने खुलिसकेको छैन।