काठमाडौं– सहरी विकास मन्त्रालय सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा सोमबार मन्त्री रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन आयोजना गरिन्। दुई घण्टाभन्दा बढी चलेको कार्यक्रममा झाँक्रीले मन्त्री भएयता सम्पादन गरेका कामकारबाहीको ३७ बुँदे फेहरिस्त प्रस्तुत गरिन्।
आफू मन्त्री भएपछि ‘राष्ट्रिय सहरी नीति’मा उल्लेख्य परिवर्तन गरेको कुरामा जोड दिँदै उनले राउटेदेखि प्रधानमन्त्री बस्ने घरको निर्माण सम्पन्न भएको बताइन्। ‘सय दिनमा देखिने काम के गर्नुभएको छ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री झाँक्रीले भनिन्, ‘पर्यटनमन्त्रीले जस्तो तत्काल देखिने काम गर्न मेरो मन्त्रालयको अवस्था छैन। यसैले सरकारी निकायबीच समन्वयदेखि नीति निर्माण गर्न खटिरहेका छौं।’
आफू मन्त्री भएपछि ‘राष्ट्रिय सहरी नीति’मा उल्लेख्य परिवर्तन गरेको कुरामा जोड दिँदै उनले राउटेदेखि प्रधानमन्त्री बस्ने घरको निर्माण सम्पन्न भएको बताइन्।
त्यसो त सहरी विकास मन्त्री नियुक्त भएपछि नेकपा समाजवादीकी सचिवसमेत रहेकी झाँक्रीको सक्रियता निकै बढेको देखिन्छ। पार्टीको कामदेखि गृहजिल्लाको भ्रमणसम्म भ्याउनुपर्दा मन्त्रालयको काममा पर्याप्त समय दिन पाएकी छैनन्। त्यसैले मन्त्रालयका धेरै विषयगत कुरामा मन्त्री झाँक्री अनभिज्ञ रहेको पत्रकार सम्मेलनमा प्रष्ट देखियो।
अधिकांश विषयगत कुरा उठ्दा सहसचिव र उपसचिवले जवाफ दिए। झाँक्रीले भने बढ्दो सहरीकरणको व्यवस्थापनबारे आफ्ना कुरा राखिन्। ‘सहरी विकासको लागि सरकारी निकायहरूबीच समन्वयको अभाव रहेको देखियो,’ उनले भनिन् ‘हामीले सबै पक्षसँग समन्वय गरेर बागमती करिडोरदेखि जनता आवासको काम गरेका छौं। १ लाख ८० हजार मानिसको घर पुनर्निर्माणको दायित्व लिएका छौं।’
पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल भने कोरोना संक्रमित भएकाले उपस्थित थिएनन्। मन्त्रालयका सहसचिव तथा सहरी विकास तथा भवन विभागका महानिर्देशक पद्मकुमार मैनालीको उपस्थितिमा मन्त्रालयको कामकारबाहीबारे बिफ्रिङ गरियो।
चर्चा ज्यादा, काम कम
एकपछि अर्को सन्दर्भमा भाइरल हुने झाँक्रीको पर्फर्मेन्स मन्त्रालयमा भने धीमा देखिएको छ। मन्त्री भएको तीन महिना नाघिसक्दा समेत उनको पहदकदमी कुनै ठोस काममा भएको पाइँदैन।
नेकपा समाजवादीको काम र गृहजिल्लामा मन्त्री झाँक्री धेरै दिन व्यस्त रहँदा मन्त्रालयका कतिपय काम नै प्रभावित बनेको मन्त्रालयका एक उच्च अधिकृत बताउँछन्। उनका अनुसार मन्त्रीको उपस्थितिमा बस्नुपर्ने कतिपय बैठक उनको व्यस्तताका कारण बस्न सकेको छैन। साथै अघिल्ला सरकारको पालादेखि थाँती रहेका योजना पनि अगाडि बढ्न सकेका छैनन्।
झाँक्रीले पनि नेकपा समाजवादीबाट देउवा सरकारमा मन्त्री भएका प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडाकै शैलीमा अनुगमन र निरीक्षण गर्दै आएको देखिन्छ। मन्त्री भएको केही सातामा नै गृृहजिल्ला गुल्मी पुगेर जिल्लाका सबै कार्यालय प्रमुखहरूलाई विकास निर्माण, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएकी थिइन्। त्यसयता अन्य जिल्लामा पनि उनको भ्रमण नियमितजसो भइरहेको छ। पछिल्लो साता धोबीखोला र बागमती नदीको अनुगमनदेखि राउटे बस्तीको भ्रमणमा झाँक्री व्यस्त रहिन्।
‘सय दिनमा देखिने काम के गर्नुभएको छ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री झाँक्रीले भनिन्, ‘पर्यटनमन्त्रीले जस्तो तत्काल देखिने काम गर्न मेरो मन्त्रालयको अवस्था छैन। यसैले सरकारी निकायबीच समन्वयदेखि नीति निर्माण गर्न खटिरहेका छौं।’
मन्त्रालयको प्रगति विवरणबारे बोल्दा अधिकांश कर्मचारीले मन्त्रालय सहरी विकासका आन्तरिक कामहरूको तयारीमा व्यस्त रहेको बताए। नयाँ मन्त्री आएयता जनकपुरमा क्षेत्रीय खोप भण्डारण केन्द्रको उद्घान, संघीय संसद् भवन र संघीय मन्त्री आवास निर्माण कार्य मात्र अघि बढेको पाइन्छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, पुनर्निर्माण तथा निजी आवास तथा राष्ट्रिय आवास कम्पनी लिमिटेडतर्फका अधिकांश काम भर्खरैमात्र सुरु भएका छन्। सोमबारको प्रेस विज्ञप्तिमा मन्त्रालयको समग्र प्रगति १८.९१ प्रतिशत रहेको बताइको छ। मन्त्रालयको काम एकातिर र मन्त्रीको ध्यान अर्कोतिर हुँदा झाँक्रीको कामलाई कतिपयले ‘स्टन्ट’को रुपमा मात्रै गरिएको भन्दै आलोचना हुन थालेको छ।
‘बोल्ड’ नेतृको छवि
२०७७ पुस ५ गते केपी ओली सरकारले संसद् विघटन गरेपछि त्यसविरुद्ध सडक तताउनेमा रामकुमारी झाँक्री अग्रमोर्चामा थिइन्। तत्कालीन प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध कडा आलोचना गरेकाले उनलाई मानहानि गरेको अभियोगमा प्रहरीले पक्राउसमेत गरेको थियो। माधवकुमार नेपाललाई नेकपा समाजवादी गठन गर्न झकझक्याउनेमा पनि झाँक्रीले सक्रिय भूमिका खेलेकी थिइन्। नयाँ पार्टी निर्माण र प्रतिगमनको विरोध गरेकै कारण उनी देउवा सरकारमा मन्त्री बन्न सफल भइन्।
विद्यार्थी राजनीतिमा छँदादेखि नै चर्चामा आइरहने झाँक्री मन्त्री भएपछि ‘पिर्के सलामी’देखि राउटे युवतीसँग मितिनी लगाएका कारण चर्चामा रहिन्। दुई साताअघि झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पद्मकुमार मैनालीले प्रकाश शाहीसँग मीत लगाएका थिए।
२०७७ पुस ५ गते केपी ओली सरकारले संसद् विघटन गरेपछि त्यसविरुद्ध सडक तताउनेमा रामकुमारी झाँक्री अग्रमोर्चामा थिइन्।
बोल्ड नेतृको छवि बनाएकी झाँक्रीको काँधमा अहिले महत्वपूर्ण मन्त्रालय छ। राजधानी काठमाडौंको सरसफाइ, भवन निर्माण, करिडोर निर्माणलगायत काम गर्ने अख्तियारी पाएको सहरी विकास मन्त्रालयको काम सिधै जनतासँग ठोक्किने गर्छ। त्यसैले पनि कुनै काम समयमै सम्पन्न नहुँदा सहरीमन्त्रीको आलोचना हुने गर्छ।
विगतमा संघीय संसद्को अर्थ समिति सदस्यसमेत रहेकी झाँक्रीले अर्थ मन्त्रालयको काममा खरो प्रश्न उठाउने गर्थिन्। तत्कालीन सत्तारुढ दल नेकपा र त्यसअघिको एमाले नेतृत्वलाई पनि उनले जबर्जस्त प्रश्न गर्ने गर्थिन्। सत्ता बाहिर हुँदा शासकमाथि सधैं प्रश्न उठाउने मन्त्री झाँक्रीलाई पहिलोपटक मन्त्री भएर सरकारी निकायको नेतृत्व गर्न पक्कै सहज भएको छैन।