मंगलबार, वैशाख १६, २०८२

प्रचण्डको खल्तीबाट छानिँदै माओवादी पदाधिकारी, महासचिवमा चुनाव!

महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल र देव गुरुङले आकांक्षा देखाएपछि दाहाल सकसमा छन्।
 |  सोमबार, पुस १९, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

सोमबार, पुस १९, २०७८

काठमाडौं– आइतबार सकिएको महाधिवेशनबाट २९९ मध्ये २३६ जना केन्द्रीय सदस्य छानेको माओवादी केन्द्रले सोमबार पदाधिकारी छनोट गर्दैछ। अध्यक्षसहित १५ पदाधिकारी छनोटका लागि नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दैछ। माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।

अध्यक्षमा दाहाल आफैं दोहोरिने निश्चित छ भने वरिष्ठ उपाध्यक्षमा दाहालले नारायणकाजी श्रेष्ठलाई चयन गर्ने तयारी भएको एक नेताले जानकारी दिए। दाहालले उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, मातृका यादव, लीलामणि पाखरेल, हरिबोल गजुरेल चयन गर्न लागेको ती नेताले बताए।

दाहालले उपमहासचिवमा शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, ओनसरी घर्तीमध्येबाट तीन जना छनोट गर्ने बताइएको छ। यस्तै सचिवमा दीनानाथ शर्मा, गणेश साह, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, लेखनाथ न्यौपाने, हिमाल शर्मा, महेन्द्रबहादुर शाहीलगायतको नाम चर्चामा छ। केन्द्रीय सदस्यमा चयन भएका नेतामध्येबाट पदाधिकारी चयन हुने माओवादी प्रावधान छ। चुनाव भएमा  २३६ जना केन्द्रीय सदस्यले मतदान गर्नेछन्।

महासचिवमा चुनाव हुने सम्भावना 

माओवादीको पदाधिकारीका अन्य पदमा नेताहरुको व्यस्थापन गर्न त्यहि ठूलो समस्या नभए पनि  महासचिवमा भने दाहाललाई सकस पर्ने देखिएको छ। आफ्ना दुई विश्वास पात्रले दाबी नछाडेपछि चुनावमा जाने सम्भावना बढेको हो। महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल र देव गुरुङले आकांक्षा देखाएका छन्। 

Metro Mart
worldlink

माओवादीमा अन्य पदभन्दा पनि अध्यक्षको उत्तराधिकारी रुपमा चिनिने महासचिव पद नेताहरुको तानातानमा परेको छ।

पुन उपचारका लागि विदेशमा रहेकाले उनी अध्यक्षले सीधै नियुक्त गरे पदमा हुने नभए महासचिवको रिङबाट बाहिरिने सम्भावना छ। तर, अन्तिम समयमा महासचिवको दाबी गरेका  गुरुङ र अर्थमन्त्रीसमेत रहेका शर्मा अडानमै छ। दाहालले गुरुङलाई महासचिव बनाउन चाहेको स्रोतको दाबी छ। दाहालले गुरुङलाई अघि सारेसँगै शर्माले कुनै पनि हालतमा आफू पछि नहट्ने बताइरहेका छन्। उनले आफ्नो नाममा सहमति नहुने हो भने चुनावी प्रक्रियामा जान समेत तयार रहेको बताएका छन्।

अर्का दाबेदार नेता वर्षमान पुन उपचारको सिलसिलामा विदेशमै रहेपछि आफू नै महासचिव हुने आधार बलियो हुँदै गएको ठानेका शर्माका लागि गुरुङ बाधक बनेका छन्।

शर्मा निकट एक नेताका अनुसार उनी सकेसम्म अध्यक्षमार्फत सहमतिमै महासचिव बन्ने त्यस्तो अवस्था नबने चुनाव लडेर भए पनि महासचिव बनिछाड्ने अडानमा छन्। शर्माको अडानकै कारण महासचिवमा चुनावको सम्भावना बलियो बनेको एक नेताले बताए। ‘सहमतिका लागि अध्यक्षले अहिले प्रयास गरिरहनुभएको छ। शर्माजीले मान्नु भएको छैन। अध्यक्षले अरु नेताको नाम ल्याए शर्माकै कारण महासचिवमा चुनाव हुन सक्छ’, ती नेताले भने। उनका अनुसार अन्य पदमा भने करिब सहमति भएको छ। 

महासचिव पदमा महाधिवेशन सुरु भएदेखि अर्थमन्त्रीसमेत रहेका शर्माले लबिङ गरिरहेका थिए। अर्का दाबेदार नेता वर्षमान पुन उपचारको सिलसिलामा विदेशमै रहेपछि आफू नै महासचिव हुने आधार बलियो हुँदै गएको ठानेका शर्माका लागि गुरुङ बाधक बनेका छन्। अध्यक्ष दाहालको रोजाइमा परेका गुरुङ पनि दाबीबाट पछि नहट्ने मनस्थितिमा पुगेको स्रोतको दाबी छ। गुरुङ पार्टी विभाजन हुँदा मोहन वैद्य समूहतिर लागेका थिए। उनी बादलको नेतृत्वमा माओवादीमा फर्किएका नेता हुन्। 

शर्मा भने पछिल्लो समय प्रचण्डको बलियो भरोसा बनेका छन्। पार्टी एकता, विभाजनदेखि निर्वाचनसम्म शर्माले अध्यक्षलाई बलियो साथ दिँदै आएका थिए। नेतृत्वलाई सफल बनाउन आफूले महत्त्वपूर्ण भूमिका खेलेको, पार्टीको उतारचढावमा अविचलित कठिन संघर्ष गरेकाले आफूले महसचिव हुन पाउनुपर्ने आफू निकटका नेताहरुसँग बताउने गरेका छन्। 


प्रकाशित: Jan 03, 2022| 16:06 सोमबार, पुस १९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...