काठमाडौं- फुटबलको सबैभन्दा रोमाञ्चक कुरा हो गोल हुनु। नेपाली राष्ट्रिय फुटबल टिममा पनि लामै समय रहेको गोल नहुने समस्या सहिद स्मारक ए डिभिजन लिगमा पनि देखिएको छ।
लिगको दोस्रो चरणमा सात गोल भए। अर्थात् सात खेलमा सात गोल। प्रतिखेल औषत एक गोल। दोस्रो चरणमा पुलिसले जावालाखेललाई, च्यासलले एपीएफलाई, सातदोबाटोल थ्रीस्टारलाई र मनाङले हिमालयन शेर्पामाथि एकै नजित निकाल्यो। त्यो नतिजा १-० गोलअन्तरको रह्यो।
त्यस्तै, दोस्रो सप्तान्तको अन्तिम दुई खेल सोमबार भएका थिए। सोमबारका दुवै खेलमा गोल हुन सकेन। तसर्थ आर्मी र मछिन्द्र गोलरहित बराबरीमा रोकिए भने ब्रिगेड बोइज क्लब (बिबिसी) र न्युरोड टिमको स्पर्धामा पनि गोल हुन सकेन।
लिगमा संकटाले फ्रेन्डस् क्लबलाई २–१ गोलअन्तरले हराएको खेल नै सबैभन्दा धेरै गोल भएको खेल थियो। तर लिगको सुरुको चरणमा गोलको समस्या दोस्रो चरणमा जस्तो गरी देखिएको थिएन। दोस्रो चरणमा कुनै खेलाडीले दोहोरो गोल गरेनन्।
यता, जावलाखेललाई गोलको अझ ठूलो समस्या छ। जवालाखेलमा सुनील खड्का, सन्त बहादुर श्रेष्ठ, मनिष पौडेलसँगै विदेशी फरवार्ड ओन्गुना एनेकेन्गे जुनियर पनि छन्। तर उनीहरुको अग्रपंक्तिले गोल गर्न सकिरहेको छैनन्।
दोस्रो चरणको दोस्रो सकिँदा पनि गोल गर्न नसक्ने एक्लो टिम जावलाखेल नै भएको छ। आफ्नो अवसर निरन्तर खेर गइरहेपछि जावलाखेलका प्रशिक्षक किशोर कुमार केसीले भनेका थिए, ‘दुई बल त बारमै लागेर बाहिरिएको छ। अर्को टिमले चाहिँ काउन्टरमा पनि सफलता पायो। गोल नभएपछि टिममा फनिसिनङमै समस्या हो त भन्नैपर्यो नि! दुई वटा प्रहार बारमा लागेर पनि फर्किन्छ। के हो, के हो– पूजा गर्नपर्ने हो कि।’
लिगको पहिलो चरणमा १६ गोल भएका थिए भने दोस्रो चरणमा ७ गोल मात्र भएका छन्। यस्तोमा जावलाखेल, मनाङ, पुलिस, आर्मीसहित मछिन्द्रले पनि गोलकै लागि धेरै मेहेनेत गरिरहेका छन्। दोस्रो चरणको अन्तिम खेलमा मछिन्द्र आर्मीसँग बराबरीमा रोकियो। अहिले लिटमा सबैभन्दा धेरै फरवार्ड भएको टिम मछिन्द्र नै हो। ऊसँग सबैभन्दा धेरै स्टार खेलाडी पनि छन्।
यो चरण सकिएसँगै मनाङ बलियो देखिएको छ। उसले दुई खेलममै जित निकालेको छ। पहिले खेलमा जावलाखेललाई हराएको मनाङले दोस्रो खेलमा हिमालयन शेर्पालाई हराएको छ। यससँगै उसले ६ अंक बनाएको हो। उसले पहिलो खेलमा १-० गोलअन्तको जित निकालेको थियो भने दोस्रो खेलमा पनि १-० गोलअन्तरकै जित निकालेको हो।
अंकतालिका
अंकतालिकामा अहिले मनाङ अगाडि छ। दुई खेल जित्ने टिम पनि मनाङ मात्रै हो। त्यस्तै समान ४-४ अंक भएका ब्रिगेड बोइज, संकटा, मछिन्द्र, पुलिस र सातदोबाटो क्रमशः दोस्रोदेखि छैटौं स्थानसम्म छन्।
त्यसबाहेक थ्रिस्टार र च्यासलको समान ३–३ अंक हुँदा दुवै खेल बराबरी खेल्ने एक मात्र टिम आर्मी भएको छ। आर्मी २ अंकसहित नवौं स्थानमा छ। यसबाहेक एक अंक भएका फ्रेन्ड्स, हिमालयन शेर्पा र न्यु रोड टिम क्रमशः १० देखि १२औं स्थानमा छन्।
अहिलेसम्म दुवै खेलमा हार बेहोरेका टिम जावलाखेल र एपीएफ हुन्। यी दुवै टिम तालिकाको पुछारमा छन्। यसकारण अहिलेबाटै यी दुई टिमले आफूलाई रेलिगेसनबाट कसरी बचाउने भन्नेबारेमा सोच्नुपर्ने भएको छ।
पछिल्लो सिजनमा पनि एपीएफ रेलिगेसनबाट मुस्किलले मात्र बँचेको टिम हो।
दोस्रो चरणमा कुल २१ पहेंलो कार्ड प्रयोग भएका छन्। त्यसमा सबैभन्दा धेर्रै आर्मी र मछिन्द्रको खेलमा ५ कार्ड खेलाडीले पाएका छन्। त्यस्तै, ब्रिगेड बोइज र न्यु रोड टिमको खेलमा पनि पाँच खेलाडीले कार्ड भोगेका थिए। तर यो चरणमा कुनै खेलाडीले रातो कार्ड भने पाएनन्।
न्यु रोड टिमका आन्द्रे थियरीले भने पहिलो र दोस्रो खेलमा नै पहेंलो कार्ड पाएका छन्। त्यसैले उनले अब तेस्रो चरण खेल्ने पाउने छैनन्।
के भन्छन् दर्शक?
चिरञ्जिवी लावतीको घर झापामा हो। ललितपुरको महालक्ष्मीस्थानमा बस्दै गरेका उनी विद्यार्थी हुन्। उनलाई फरवार्ड भरत खवास निकै मन पर्छ। उनको सपोर्ट गर्न चिरञ्जिवी गत सोमबार साँझ दशरथ रंगशाला पुगेका थिए। त्यही साँझ रंगशालामा चार हजार दर्शकको उपस्थिति थियो।
‘आर्मी एक त देशको गौरव पनि हो त्यसमाथि उसको अलि स्पिड खेल पनि हुन्छ। पछिल्लो वर्षको तुलनामा लिगमा केही धेरै दर्शकहरु आएका छन्। त्यो हेर्दा चाहिँ केही विकास हुँदैछ जस्तो लाग्छ,’ उनले भने। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आएपछि नेपालमा फुटबलको क्रेज बढेको र राम्रो गर्न सके अवसर पाइने पनि बुझेको उनको भनाइ छ।
‘नयाँ प्रशिक्षक (अल्मुताइरी) आएपछि फुटवल प्रेम बढेको हो कि भन्ने पनि लागेको छ। नयाँ प्रशिक्षकले खेलाडीको सीपलाई हेरेर राम्रो खेलाडी छानिरहेका छन्,’ उनले भने, ‘त्यसले गर्दा लिगमा खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्। अब सरकारले पनि खेलकुदका लागि प्राथमिकता दिनुपर्छ।’
उनले अन्य देशको पुरस्कार रकम धेरै भएको भन्दै लिगमा पुरस्कार रकम धेरै बनाउनु पर्ने र क्लबलाइ प्रोफेसनल बनाउन आवश्यक रहेको बताए। ‘फुटबलमा चर्चा कमाएका देशले कसरी खेल विकास गरे हामीले पनि त्यो सिकेर लागू गर्नुपर्यो। ग्रासरुट फुटबललाई प्राथमिकतामा राख्नुपर्यो। एकेडेमी धेरै खोल्नु पर्यो। वर्षभरि लिग हुनु पर्यो,’ उनको सुझाव पनि छ।
त्यस्तै, मेरो विशाल घर्ती मगरको घर दाङ हो। उनले यो सिजन लिगको उपाधि दावेदारको रुपमा मछिन्द्र र आर्मीलाई लिएका छन्। ‘धेरै खेलाडी चोटग्रस्त छन्। तर पनि ठिकै खेलिरहेका छन्। आर्मीलाई सपोर्ट गरेको नै जित्छ भनेर हो। मछिन्द्र त झन् राष्ट्रिय टिमका खेलाडी धेरै नै छन्।’