काठमाडौं– माओवादी केन्द्रबाट थप चार जना मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रबाट सिफारिस चारमध्ये तीन जना मन्त्री र एक जना राज्यमन्त्री चयन भएका छन्।
कार्य विभाजनअनुसार शशि श्रेष्ठ भूमि व्यवस्था, सहरकारी तथा गरिबी निवारणमन्त्री, देवेन्द्र पौडेल शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, महेश्वर गहतराज खेलकुदमन्त्री र बोधमायाकुमारी यादव शिक्षा तथा विज्ञान प्रविधिमन्त्री राज्यमन्त्री बनेका हुन्।
माओवादी केन्द्रले मन्त्री छान्दा पहिले मन्त्री नभएकाहरुलाई प्राथमिकतामा राख्ने मापदण्ड बनाएको थियो। सोही मापदण्डबमोजिम अहिलेसम्म मन्त्री नभएका चार जनाले अवसर पाएका छन्। बाग्लुङबाट निर्वाचित सांसद देवेन्द्र पौडेल यसअघि एकपटक पनि मन्त्री बनेका छैनन्। २०६७ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी भट्टराईका राजनीतिक सल्लाहकार थिए।
बाँकेका सांसद महेश्वर गहतराज र धनुषाकी सांसद बोधमायाकुमारी यादव पनि अहिलेसम्म मन्त्री भएका छैनन्। उनीहरु केन्द्रीय राजनीतिमा खासै चर्चामा नरहेका पात्र हुन्। तर, राज्यव्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठ भने यसअघि राज्यमन्त्रीसम्म बनेकी थिइन्। यस्तो छ नेताहरुको राजनीतिक विगत-
देवन्द्र पौडेल
२०२१ साल पुस २८ गते जन्मिएका पौडेलले राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। माओवादी केन्द्रको स्थायी समिति सदस्य पौडेलले आफ्नो राजनीतिक यात्रा विद्यार्थी संगठन अखिल छैटौंबाट सुरु गरेका थिए।
अखिल क्रान्तिकारीको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएर काम गरेका पौडेल २०५२ सालबाट माओवादीमा आबद्ध भई सशस्त्र संघर्षमा सहभागी भएका थिए। युद्धको मोर्चा सम्हाल्नेभन्दा पनि विभिन्न रणनीतिक काममा संलग्न हुने गरेका उनी २०५७ सालमा माओवादीको केन्द्रीय सदस्य भए। २०६२ सालमा पोलिटब्युरो सदस्य हुँदै पौडेल २०७१ सालमा माओवादी केन्द्रको स्थायी समिति सदस्य भएका थिए।
उनी २०६८ सालमा भट्टराई प्रधानमन्त्री हुँदा उनको राजनीतिक सल्लाहकार थिए। डा. भट्टराईले माओवादी छाडेर २०७३ असार २ गते नयाँ शक्ति पार्टी गठन गर्दा उनी नयाँ शक्तिमै गएका थिए। तर, १४ महिनामै भट्टराईको साथ छाडेर पौडेल २०७४ भदौ ६ गते माओवादीमै फर्किए।
माओवादीमा फर्केपछि पौडेल २०७४ मा भएको संघीय प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट विजयी भए। पार्टीको अञ्चल र विभिन्न ब्युरोमा इन्चार्जको जिम्मेवारी सम्हालेका उनी २०७५ साल माओवादी र एमाले मिलेर बनेको नेकपामा पनि उनी स्थायी कमिटी सदस्य थिए। नेकपा विभाजित भएर माओवादी ब्युँतिएपछि उनले राजनीतिक गतिविधिमा सक्रियता बढाएका थिए। विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भएका पौडेल २०४२ सालदेखि २०४४ सालसम्म १८ महिना धनगढी जेलमा परेका थिए। उनले पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत जीवन बिताएका छन्।
शशि श्रेष्ठ
सांसद शशि श्रेष्ठ संसदीय समितिकी सभापति छिन्। उनी चर्चित वाम विश्लेषक श्याम श्रेष्ठकी बहिनी तथा माओवादी नेता लीलामणि पोखरेलकी पत्नी हुन्। २०३४ सालदेखि विद्यार्थी राजनीति सुरु गरेकी श्रेष्ठले २०३६ सालमा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन समूहबाट औपचारिक रूपमा पार्टीगत राजनीति सुरु गरेकी थिइन्। श्रेष्ठले २०३७ सालमा कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्यता पाएकी थिइन्। २०३८ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापतिमा निर्वाचित भएकी उनी २०४० सालमा नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भएकी थिइन्।
काठमाडौंको कोटेश्वर स्थायी घर भएकी श्रेष्ठ २०५५ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य र २०५९ सालमा जनमोर्चाको सचिवालय सदस्य भएकी थिइन्। २०६५ सालमा माओवादी केन्द्रीय सदस्य भएकी उनी २०७१ सालमा माओवादी पोलिटब्युरो र २०७२ मा सचिवालय सदस्य भएकी थिइन्। २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन्।
२०७५ सालमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति भएकी श्रेष्ठ देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने भएकी छिन्। उनी जनयुद्धकालमा माओवादीमा थिइनन्, नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रको नेतृ थिइन्। माओवादी खुला राजनीतिमा आएसँगै एकता केन्द्रले माओवादीसँग एकता गरेको थियो।
महेश्वर गहतराज
२०७४ को निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद गहतराजले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए। नेपालगन्ज स्थायी ठेगाना भएका ५० वर्षीय गहतराजले २०४५ सालमा अनेरास्ववियु वीरेन्द्र मावि बाँफीकोटको सचिवबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। २०४८ सालमा अखिल नेपाल युवक संघ रुकुमको जिल्ला समिति सदस्य रहेका उनी २०५१ सालमा माओवादीमा लागे।
जनयुद्ध कालमा माओवादीमा सक्रिय रहेका उनी २०५६ सालमा रुकुम जनसरकार उपप्रमुख भएका थिए। २०५७ सालमा क्षेत्रीय ब्युरो प्रमुख तथा रुकुम इन्चार्ज भएका उनी २०५८/५९ सालमा विभिन्न जिल्लाको इन्चार्जको भूमिकामा रहे। २०६० सालमा माओवादीको केन्द्रीय सदस्यमा बढुवा भएका उनी २०६५ सालमा थारुवानको सेक्रेटरी भएका थिए।
उनी २०७३ सालमा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य र २०७५ मा तत्कालीन नेकपाको केन्द्रीय सदस्य भएका थिए। गहतराज २०७४ मा बाँके क्षेत्र नम्बर १ बाट चुनाव जित्दै पहिलो पटक संसद् प्रवेश गरेका थिए।
बोधमायाकुमारी यादव
यादव माओवादी आन्दोलनका सहिद स्व.राम वृक्ष यादवकी छोरी हुन्। स्थायी ठेगाना धनुषा नगरपालिका १० भएकी उनले २०४४ सालमा अखिल छैटौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेकी थिइन्। स्नातक तहको अध्ययन गरेकी यादव २०५८ सालमा तत्कालीन नेकपा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भएकी थिइन्। यादव २०६० सालमा माओवादीको धनुषा जिल्ला समिति सदस्य र २०६७ सालमा माओवादीको धनुषा जिल्ला सह–सेक्रेटरी भएकी भइन्।
राजनीतिक आन्दोलनका क्रममा २०६२ चैत २९ देखि २०६३ असार १ गतेसम्म उनी नजरबन्दमा परेकी थिइन्। २०६८ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य भएकी यादव २०७० सालमा एकीकृत माओवादीको पोलिटब्युरो सदस्य बनिन्। २०७४ सालको निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद भएकी यादव पहिलो पटक मन्त्री बनेकी हुन्। उनलाई माओवादीले सहिद परिवार र मधेसी समुदायको कोटाबाट सरकारमा छानेको हो।