बुधबार, वैशाख १७, २०८२

नेयमार जो ब्राजिल र आफ्नो घाउमा जितको मल्हम लगाउन चाहन्छन्

नेयमार घरेलु मैदानमा कोपाको उपाधि रक्षा गर्न चाहन्छन्। मराकाना स्टेडियममा यसअघि कन्फडेरेसन कप, ओलम्पिकको गोल्ड मेडल जितिसकेका उनी सोही स्टेडियममा कोपा अमेरिका जित्न चाहन्छन्।
 |  शनिबार, असार २६, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असार २६, २०७८

काठमाडौं– सन् २००२ मा २१ औं शताब्दीको पहिलो फिफा विश्वकप फुटबल जितेपछि ब्राजिल सर्वाधिक पाँच पटकको विश्वविजेता बन्यो। तर, पाँचौं विश्वकप जितेको १२ वर्षपछि सन् २०१४ मा ब्राजिलले इतिहासकै शर्मानाक हार व्यहोर्न पुगेको थियो। आफ्नै देशमा आयोजित विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलले हारेको त्यो क्षण सम्झँदा आज पनि ब्राजिलका समर्थकको मन पोल्छ। सात वर्षअघिको त्यो हारलाई लिएर हरेक जुलाई ९ मा सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका छन् ब्राजिलियन समर्थक।

सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा नेयमार १० वर्षका थिए। सन् २०१० को विश्वकपमा आइपुग्दा उनी उत्कृष्ट खेलाडी बनिसकेका थिए। उनलाई विश्वकपको टिममा सहभागी गराउन १४ हजार मानिसले पेटेसनमा हस्ताक्षर गरेका थिए। तर, ब्राजिलका तत्कालीन प्रशिक्षक डुंगाले उनलाई टिममा समावेश गरेनन्। उनको विश्वकप डेब्यू चार वर्ष पछाडि धकेलियो। सन् २०१४ को विश्वकपमा उनी विनाको ब्राजिलको टिम त कल्पना गर्नै नसकिने भएको थियो। 

फवार्डका रुपमा उनी टोलीका महत्त्वपूर्ण सदस्य बनिसकेका थिए। उत्कृष्ट लयमा रहेको ब्राजिलले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। ब्राजिलविरुद्ध सधैं आक्रामक देखिने कोलम्बियाका खेलाडी हुवान कमिलो सुनिगाले नेयमारमाथि फाउल गरेपछि उनी गम्भीर घाइते भए। ढाडमा चोट लागेका कारण नेयमारले विश्वकपमा बाँकी खेल खेल्न पाएनन्। 

सन् २०१४ को विश्वकपमा कोलम्बियासँग भएकाे सेमिफाइनलमा घाइते भएका नेयमार।

आफ्नो जीवनको त्यो त्रासदीपूर्ण घटनाबारे नेयमारले बार्सिलोनाका सहकर्मी (नेयमार बार्सिलोनाबाट खेल्दाताका) जेरार्ड पिकेलाई सुनाएका थिए। नेयमारले सुनाएको त्यो घटनाबारे पिकेले दी प्लेयर्स ट्रिब्युनमा भनेका थिए, ‘म सम्झन्छु त्यतिबेला म मैदानमा घोप्टिएको थिएँ। मार्सेलो मेरा नजिक आएर ‘नो नो ... डाक्टरलाई बोलाऊ’ भनिरहेका थिए। मैले भनेको थिएँ, होइन म खेल्न चाहन्छु। किनभने म स्कोर गर्न चाहन्थें। तर म उठ्न सकेको थिइनँ।’

‘मैले त्यतिबेला खुट्टा चलाउन सकिरहेको थिइनँ। डाक्टरले मलाई मैदानबाहिर लैजाँदा म खुब रोएको थिएँ। मलाई निकै दुखेको थियो। मैले केही सोच्नै सकिरहेको थिइनँ,’ नेयमारले भनेका छन्, ‘मैले आफ्नो खुट्टा भएको महसुस नै गरेको थिइनँ। त्यो रंगशालासँगैको अस्पतालमा रहँदा मेरो खुट्टा बांगिएको थियो। सीधा गर्न खोज्दा निकै दुख्यो। अनि मात्र थाहा पाएँ मेरा लागि विश्वकप सकिएछ।’

Metro Mart
worldlink

उनका लागि खुसीको अर्को कुरा के थियो भने उनी जीवनभर फुटबल खेल्न नसक्ने चोटबाट मात्र दुई सेन्टिमिटरले बचेका थिए।नेयमारको चोटसँगै ब्राजिलले ठूलो घाटा त व्यहोर्‍याे नै। त्यति मात्रै होइन ब्राजिललाई अर्को झट्का पनि लागेको थियो– कप्तान एवम् डिफेन्डर थियागो सिल्भाको अभाव। सिल्भाले अघिल्लो दुई खेलमा एल्लाे कार्ड पाएपछि सेमिफाइनल गुमाएका थिए। महत्त्वपूर्ण फवार्ड र डिफेन्डरसँग ब्राजिलका समर्थकले ठूलो अपेक्षा गरेका थिए। घरेलु मैदानमा विश्वकप जिताउने अवसरसमेत उनीहरुलाई थियो। तर, यी दुईको अभावको फाइदा जर्मनीले लियो। 

फलस्वरुप ब्राजिलले जर्मनीसँग ७–१ गोलले हार व्यहोर्‍यो। जुन नतिजा ब्राजिलको फुटबल इतिहासमै निकै कमजाेर थियो। त्यसपछिको कुनै नतिजाले ब्राजिलको त्यो घाउ पुर्न सकेको छैन। अब कति प्रतियोगिता जित्दा ब्राजिलको त्यो घाउ पुरिएला भन्न मुस्किल छ। सन् २०१३ मा घरेलु मैदानमै भएको कन्फडेरेसन कप जिताएका नेयमारको सपना विश्वकप जित्नु थियो। घरेलु मैदानमै विश्वकपको ट्रफी उठाउने मन कसलाई पो नहोला र? 

सन् २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा ब्राजिलले इतिहासमै पहिलो पटक फुटबलमा स्वर्णपदक जित्यो। त्यो जितका नायक थिए, उनै नेयमार।

सोचेझैं कहाँ हुन्छ र? एकातिर आफैंले गम्भीर चोट सहन पर्‍यो, अर्कोतर्फ ब्राजिल फुटबलमा इतिहासकै लज्जास्पद हारको चोट। यस अर्थमा नेयमार र समर्थकले दोहोरो चोट बोकेका थिए। सन् २०१५ मा भएको कोपा अमेरिकामा त्यो सर्मनाक हारबाट माथि उठ्ने प्रयत्न क्वार्टरफाइनलमै समाप्त भयो। सन् २०१६ मा भएको कोपा अमेरिकामा समूह चरणमै ब्राजिलको यात्रा समाप्त भयो। सन् २०१४ को त्यो चोटबाट माथि उठ्ने प्रयास त ब्राजिलले गरकै थियो, तर गह्रौं भारी बोक्न सकिरहेको थिएन। 

जर्मनीविरुद्धको हारपछि प्रशिक्षक डुंगाले ब्राजिललाई सही बाटोमा अघि बढाउन सकेनन्। त्यो बेला कतिपयले टिप्पणी गरेका थिए, ‘डुंगाले ब्राजिललाई डुबाए।’ त्यसपछि ब्राजिलको मुख्य प्रशिक्षकमा नियुक्त भए टिटे। जसको नेतृत्वमा ब्राजिलले चार वर्षअघिको चोट भुलेर नयाँ यात्रा तय गर्ने प्रयास गरिरहेको छ। सन् २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा ब्राजिलले इतिहासमै पहिलो पटक फुटबलमा स्वर्णपदक जित्यो। त्यो जितका नायक थिए, उनै नेयमार।

सन् २०१६ मा ओलम्पिक गोल्ड मेडल जितेपछि नेयमार।

सन् २०१८ मा रसियामा भएको विश्वकपमा ब्राजिलले उपाधि जित्ने अपेक्षा राखेको थियो। तर, क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ गोलको हार व्यहोरेपछि छैटौं उपाधि जित्ने अभिलाषा अन्त्य भएको थियो। 

सन् २०१९ मा घरेलु मैदानमा भएको कोपा अमेरिका जितेर ब्राजिलले उपाधि भोकलाई केही हदसम्म तृप्त गरेको छ। नेयमारको कोपा अमेरिका जित्ने सपना भने त्यो बेला पूरा भएन। कोपा अमेरिका सुरु हुन केही दिन बाँकी रहँदा बोकेको चोटले उनले प्रतियोगिता खेल्न सकेनन्। ब्राजिल घरमै भइरहेको कोपा अमेरिकाको फाइनलमा पुगेको छ। यहाँसम्म पुग्न उनै नेयमारको उत्कृष्ट प्रदर्शनले सम्भव भएको हो। ब्राजिलले उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ।  

फाइनलमा ब्राजिलका महत्त्वूर्ण स्ट्राइकर गाब्रियल जेसुस उपस्थित हुने छैनन्। क्वार्टरफाइनलमा चिलीविरुद्धको खेलमा रेडकार्ड पाएका उनलाई दुई खेलमा प्रतिबन्ध लागेको छ। चिलीको युगेनियो मेनालाथि प्रहार गरेको फ्लाइङ किकका कारण उनले रातो कार्ड पाएका थिए। जेजुसलाई प्रतिबन्ध लागेपछि नेयमारले विरोध गरेका थिए। ‘जेसुसबारेको निर्णय गर्ने अधिकार जसको हातमा पुग्यो उसको निर्णयले दुःखी बनाएको छ,’ नेयमारले इन्स्टाग्राममा व्यंग्य गर्दै लेखेका थिए ‘उनीहरुले खेलको धेरै सुन्दर विश्लेषण गरेका छन्। हामीले धन्यवाद दिनुपर्छ।’

आइडलसँगको भिडन्त झनै रोचक
नेयमारका लागि आइडल हुन्, अर्जेन्टिनी कप्तान लियोनल मेस्सी। सन् २०१३ मा नेयमार भित्र्याउन स्पेनिस क्लब रियल मड्रिडले लामै कसरत गरेको थियो। तर मेस्सीकै कारण उनले रियलको प्रस्ताव अस्वीकार गरे र बार्सिलोना गए। त्यसमा उनको एकमात्र स्वार्थ थियो– एकै महादेशका मेस्सीसँग खेल्नु।

मेस्सीको साथमा रहेर उनले थुप्रै कुरा सिके। मेस्सी र उरुग्वेका स्टार लुइस सुरआरेजसँग एमएसएनको ट्रियोले क्लब फुटबलमा तहल्कै मच्चाएको थियो। सन् २०१५ मा उनीहरुले ट्रेबल जितेका थिए। बार्सिलोनाको त्यो उत्कृष्ट ट्रियो सायदै कसैले भुलेको होला। बार्सिलोनामा सँगै खेलको यी तीनबीचको मित्रता अझै प्रगाढ छ।  

आ–आफ्नो देशको जर्सीमा नेयमार र मेस्सी।

गत वर्ष मेस्सीले बार्सिलोना छोड्ने बताउँदा नेयमारले मेस्सीसँग फेरि खेल्ने इच्छा व्यक्त गरेका थिए। सन् २०१७ मा बार्सिलोना छोडेयता मेस्सीसँग पुनः एकै टिमबाट खेल्ने नेयमारको सपना भने पूरा भएको छैन। तर, फरक टिमबाट नेयमार र मेस्सी कोपा अमेरिकाको फाइनल खेल्दै छन्।

च्याम्पियन्स लिग जित्ने योजना अधुरै

नेमारले क्लब फुटबलतर्फ थुप्रै व्यक्तिगत अवार्ड जितेका छन्। उनी सन् २०१० को कोपा डो ब्राजिलको शीर्ष गोलकर्ता थिए। सन् ११ मा भएको दक्षिण अमेरिकी युवा च्याम्पियनसिप र २०१२ को कोपा लिबर्टिडोसमा सर्वाधिक गोलकर्ता रहे नेयमार। त्यसको अर्को वर्ष त उनी स्पेनिस क्लबमा पुगिहाले। उनी त्यहाँको कोपा डेल रेमा सर्वाधिक गोलकर्ता बने। २०१४–१५ को च्याम्पियन्स लिगमा उनले मेस्सी र रोनाल्डोसँग गोल बराबरी गरे। तीनै जनाले सर्वाधिक धेरै गोल गरेका थिए।

त्यसपछिका दुई च्याम्पियन्स लिगमा उनले सबैभन्दा धेरै एसिस्ट गरे। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी हानिएका उनको व्यक्तिगत प्रदर्शन सधैं उच्च छ। क्लबबाट उनले कोपा डो ब्राजिल र कोपा लिबर्टिडोसदेखि युरोपियन च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप जितिसकेका छन्। तर पीएसजीबाट होम ट्रिबल गरे पनि उनको च्याम्पियन्स लिग जित्ने योजना भने अधुरै छ।

नेयमारको विलासी जीवन र आलोचना

नेयमार फुटबलमा जति शक्तिशाली छन्, त्यति नै विलासी पनि। सन् २०१७ मा सर्वाधिक मूल्यमा पीएसजी जाँदा होस् वा सामाजिक सञ्जालमा उपस्थित हुँदा अथवा बिदा मनाउँदा नै किन नहोस् विलासिताको आलोचनाबाट उनी मुक्त हुन सकेका छैनन्। एकपटक त एक ब्राजिलियन मोडेल नाजिला त्रिन्दादीले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि नेयमार विवादमा तानिएका थिए।
पेरिसको एक होटेलमा नेयमारले आफूलाई बलात्कार गरेको आरोप त्रिन्दादीको थियो। तर पछि प्रमाण नपुगेको भन्दै प्रहरीले उजुरी नै रद्द गरेको थियो।

त्यस्तै, सन् २०२१ नयाँ वर्ष सुरु हुँदा पनि उनी विवादमा आए। नेयमारले रियो डी जेनेरियो नजिक समुद्र किनारमा अवस्थित आलिसान बंगलामा ५०० जना पाहुना बोलाएर अंंग्रेजी नयाँ वर्षमा पार्टी गरेका थिए। 

पार्टीकै कारण बारम्बार विवादित भएकाले त्यो पार्टीले छिमेकीलाई असर नपुगोस् भनेर उनले साउन्ड प्रुफिङको व्यवस्था गरेका थिए। नेयमारको पार्टीमा लुडमिला र वेस्ले साफादाओ जस्ता कलाकारले प्रस्तुति दिए। र, पार्टीमा सामेल सबैलाई मोबाइल फोन ढोकामै छोड्न लगाइएको थियो। कोरोनाको महामारीबीचको समयमा भीड जम्मा पारेको भनेर नेयमारको आलोचना भएको थियो।

नेयमार भर्सेस मेस्सी 

सन् २०१९ मा काेपा अमेरिकामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग पराजित भएको थियो। त्यस बेला नेयमार ब्राजिलको टिममा थिएनन्। ब्राजिलसँग पराजित भएपछि मेस्सीले कोपाको त्यो संस्करण ब्राजिलका लागि सहज र अन्य टिमका लागि गाह्रो बनाइएको आरोप लगाएका थिए।

यो संस्करणमा नेयमारले फाइनलमा मेस्सीविरुद्ध खेल्ने इच्छा व्यक्त गरेका छन्। ‘म उपाधिका लागि अर्जेन्टिनाविरुद्ध खेल्न चाहन्छु। किनभने त्यहाँ मेरा साथीहरु छन्। तर फाइनलमा हामी जित्नेछौं र उपाधि घरमै राख्नेछौं,’ पेरुलाई हराउँदै फाइनल पुगेपछि नेयमारले भनेका  थिए। त्यसको एक दिनपछि अर्जेन्टिनाले कोलोम्बियालाई हराउँदै फाइनल यात्रा तय गर्‍यो। यसरी मेस्सी विरुद्ध खेल्ने नेमयारको इच्छा पूरा भएको छ। 

बार्सिलोनामा मेस्सीसँग नेयमार।

फाइनल खेलको सुरुबाटै दबाब बनाउने अर्जेन्टिनी टिमको दाउ छ। सेमिफाइनल खेलमा कालम्बियाविरुद्ध टाइब्रेकरमा जित निकालेको अर्जेन्टिनाका प्रशिक्षक लोयोनल स्कोलोनीले भनेका छन्, ‘हामीले सानदर सुरुआत गर्दै बाँकी समय सुरक्षित गर्नुपर्छ।’ जब कि अर्जेन्टिनाको योजनालाई त्यसलाई भत्काउने चुनौती नेयमारको हुनेछ। किनभने उनले ब्राजिलको आक्रमण सम्हाल्नेछन्। तर, फाइनलअघि केही ब्राजिलियन समर्थकले अर्जेन्टिनाको सपोर्ट गरिरहेका छन्।

यस्तो अवस्थामा राष्ट्रिय टिमका खेलाडीलाई हौसला बानाइराख्न निकै अप्ठ्यारो हुन्छ। ब्राजिलका समर्थकले अर्जेन्टिनाको पक्ष लिएपछि उनले इन्स्टाग्राम पोस्टमा आक्रोश व्यक्त गरेका छन्। ‘म ब्राजिलियन खेलाडी हुँ र मलाई ब्राजिलियन खेलाडी हुनुमा गर्व र माया छ,’ उनले लेखेका छन्, ‘सधैं ब्राजिलको राष्ट्रिय टिममा रहनु, समर्थकले हौसला दिऊन् भन्ने मेरो इच्छा हो।’

 ‘म ब्राजिलियन खेलाडी हुँ र मलाई ब्राजिलियन खेलाडी हुनुमा गर्व र माया छ,’ उनले लेखेका छन्, ‘सधैं ब्राजिलको राष्ट्रिय टिममा रहनु, समर्थकले हौसला दिऊन् भन्ने मेरो इच्छा हो।’

मेस्सीको कप्तानीमा रहेको टिमले कोपा जितोस् भनी चाहने ब्राजिली फ्यानलाई नेयमार लेख्छन्, ‘चाहे खेलकुद, मोडलिङ वा ओस्कार नै किन नहोस्। जसले ब्राजिलको प्रतिनिधित्व गर्छ मैले उसलाई आक्रमण गरेको छैन, र गर्दिनँ पनि। यो ब्राजिल हो, म ब्राजिलियन हुँ भने देशको विरोध गर्ने कसरी ब्राजिलियन हुन्छ?’

उनले आफ्नो देशको प्रतिस्पर्धीलाई सपोर्ट गर्नेलाई ‘गो टू हेल’ भनेका छन्। यसबाट पत्ता बुझ्न सकिन्छ, कोपा जित्न नेयमार कति लालयित छन्।  जारी प्रतियोगितामा नेयमार र मेस्सी दुवै चम्किएका छन्। मेस्सीले चार गोल गर्दा नेयमारले दुई गोल गरेका छन्। त्यस्तै, मेस्सीले पाँच एसिस्ट गर्दा नेयमारले तीन एसिस्ट गरेका छन्।

नेयमार घरेलु मैदानमा कोपाको उपाधि रक्षा गर्न चाहन्छन्। मराकाना स्टेडियममा यसअघि कन्फडेरेसन कप, ओलम्पिकको गोल्ड मेडल जितिसकेका उनी सोही स्टेडियममा कोपा अमेरिका जित्न चाहन्छन्। नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ मा हुने फाइनलमा ब्राजिलले कोपाको उपाधि जितेमा नेयमार ब्राजिलका कन्फडेरेसन कप, ओलम्पिक गोल्ड मेडल र कोपा अमेरिका उपाधि जित्ने खेलाडी बन्नेछन्। 

[ - यो सामग्री विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका रिपोर्टलाई आधार बनाएर तयार पारिएको हो- सम्पादक ]

प्रकाशित: Jul 10, 2021| 07:48 शनिबार, असार २६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।