काठमाडौं- लियोनल मेस्सीले बार्सिलोनाको जर्सीमा जित्न बाँकी केही छैन। अनि अर्जेन्टिनाको जर्सीमा जितेको पनि केही छैन । फुटबल मैदानमा अर्जेन्टिनी फर्वाड मेस्सी जसरी विपक्षीसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्, खेल जीवनमा उनको जितले हारसँग त्यसैगरी प्रतिस्पर्धा गरिरहेको हुन्छ । व्यावसायिक क्लब फुटबलमा सफलताको पर्याय बनेका मेस्सी अर्जेन्टिनाका टप स्कोरर भएर पनि राष्ट्रिय टोलीलाई कहिल्यै जित दिलाउन सकिरहेका छैनन् ।
शान्त स्वभावका मेस्सी हत्तपत्त बोल्दैनन्। मैदानमा झगडाको अवस्था आए पनि उनि त्यतातर्फ आकर्षित हुँदैनन्। रेफ्रीसँग पनि शान्त मुद्रामा कुराकानी गर्छन्। अहिले कोपा अमेरिका खेलिरहेका मेस्सीका नेपाली फ्यानहरु पनि उनको त्यो शैलीको प्रशंसा गर्छन्।
‘न त कुनै झोंक छ, न त कुनै रिसराग। खेलाडीहरुको चर्काचर्कीलाई यसो पुलुक्क हेर्ने र ‘यी केटाहरु पनि त्यतिकै बम्किन्छन्’ भनेजसरी मुन्टो झुकाएर हिँड्ने। काँडैकाँडाको झ्याङबाट औलामा घाउ नलगाई स्वाट्ट फूल टिपेजसरी बल टिप्ने मेस्सी,’ लेखक बुद्धिसागरले केही दिनअघि ट्विटरमा लेखेका छन्, ‘तब पो मेस्सी।’
मेस्सीको खेल हेर्ने जोकोहीलाई पनि सायद यस्तै लाग्छ। उनी सहज रुपमा बल लिन्छन्, खेलाउँछन् र अरुलाई पास दिन्छन्। जुन फुटबल पारखीका लागि लोभदाग्दो दृश्य हो।
आफ्नो देशलाई अन्तर्राष्ट्रिय उपाधि दिलाउन नसकेका मेस्सीको आशा पुनः जागृत भएको छ। ब्राजिलमा जारी कोपा अमेरिकामा उनी नेतृत्वको अर्जेन्टिना फाइनलमा पुगेको छ। यसअर्थमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट मेस्सी केवल एक कदम पछाडि छन्।
यो सिजन उनी आफ्नो अवसर गुमाउन चाहँदैनन्। उनको टिमको लयले पनि यही देखाउँछ। मेस्सी जब लयमा आउँछन्, उनलाई रोक्न जोकोहीलाई पनि गाह्रो हुन्छ। यो सिजन मेस्सी उत्कृष्ट फर्ममा रहेको तथ्यले नै देखाउँछ। कोपा अमेरिकामा मेस्सी अहिले पनि सर्वाधिक गोलकर्ता र सर्वाधिक एसिस्ट गर्ने सूचीमा छन्। उनले अर्जेन्टिनाका लागि चार गोल र पाँच एसिस्ट गरिसकेका छन्। अर्जेन्टिनाले गरेका ११ गोलमध्ये ९ गोलमा मेस्सीले प्रत्यक्ष सहभागिता जनाएका छन्।
अर्जेन्टिनाका लागि सबैभन्दा धेरै खेल खेल्ने रेकर्ड मेस्सीले आफ्नो नाममा बनाइसकेका छन्। अब उनले राष्ट्रिय टिमबाट कोलम्बियाविरुद्ध १५० औं अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
उनले हाभिए मासुरानोले बनाएको १४७ खेलको रेकर्ड तोडेका थिए। त्यस्तै, २००७ र २०२१ को बीचमा ६ पटकको कोपा अमेरिका खेल्ने मेस्सी पहिलो खेलाडी बनिसकेका छन्। मासुरानोले बनाएको पाँच संस्करण खेल्ने खेलाडीको रेकर्ड मेस्सीले तोडे।
कोपा अमेरिकामा उनले अहिलेसम्म १३ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको रेकर्डबाट चार गोल पछि छन्। समान १७–१७ गोल गरेका जिर्जिन्हो र नोबर्टो मेन्डेसले सर्वाधिक गोलकर्ताको रेकर्ड सेयर गरेका छन्।
कोपा अमेरिकाको यो संस्करणमा आफ्नो असफलताको शृंखला अन्त्य गर्न चाहन्छन् मेस्सी। उनको यो सपना साकार हुन्छ वा उही पुरानो नियति दोहोरिन्छ, त्यो भने फाइनलमा ब्राजिलसँगको खेलपछि नै थाहा हुनेछ।
फाइनलमा मेस्सीको सपनालाई सार्थक हुन नदिने योजना ब्राजिलको छ। ब्राजिलका स्टार डिफेन्डर मार्किन्योसले भनेका छन्, ‘यो सामान्य हो कि उनको इतिहासबाट प्रेरित भएर मेस्सीले उपाधि जितेको सबैले हेर्न चाहन्छन्। तर हामी उनलाई गोल गर्नबाट रोक्न चाहन्छौं। मेस्सीलाई एक्लैले रोक्नु गाह्रो हुन्छ। हाम्रो पूरा डिफेन्स सिस्टमले मेस्सीलाई छेक्नेछ। हाम्रा प्रशिक्षकलाई डिफेन्स कसरी गर्ने थाहा छ। तर हामी मेस्सीमा मात्र केन्द्रित भने हुँदैनौं।’
उता मेस्सीले पनि यो पटक उपाधि घर लगेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। ‘मैले राष्ट्रिय टिमका लागि सधैं सबैथोक दिएको छु। मैले जित्नुपर्छ र मेरो टिमले जित्नुपर्छ,’ उनले भनेका छन्। तर, ब्राजिलसँगको फाइनल खेल्न सहज भने उनी स्वीकार्छन्। ‘ब्राजिलसँग उसकै भूमिमा फाइनल खेल्नु ज्यादै कठिन हुनेछ। उनीहरु निकै खतरनाक छन्,’ उनले भनेका छन्।
अवश्य नै वर्तमान फुटबलमा मेस्सी उत्कृष्टमध्येका एक हुन् । उनी धेरै उतारचढावबाट गुज्रिरहेका छन्। उनको जीवनमा कहिले खुसीको बाढी आएको छ त कहिले गहभरि आँसु पनि । फुटबलप्रेमी र त्यसमा पनि मेस्सीका फ्यानले सम्झेको हुनुपर्छ, २७ जुन २०१६ । चिलीसँग कोपा अमेरिकाको फाइनलमा दोस्रोपटक पराजय भोगेपछि उनी बेस्सरी रोए । उनीसँगै संसारभरका उनका समर्थक पनि भावुक बने । उनले लगत्तै संन्यास घोषणा गरे । तर, देशका लागि उपाधि नजिती उनको मन कहाँ मान्थ्यो! र त, संन्यास फिर्ता लिएर पुनः उही १० नम्बरको अर्जेन्टिनी जर्सीमा मैदान उत्रिए ।
मेस्सीको फुटबल करिअर आफैंमा विचित्रको छ । विचित्र यस अर्थमा कि उनले सफलताको स्वाद पनि राम्रैसँग चाखेका छन् र असफलताको पीडामा पनि डुबेका छन् । बार्सिलोनाबाट जितैजितको इतिहास बनाएका मेसीले अर्जेन्टिनाको जर्सीमा जितेको केही पनि छैन । उनले अर्जेन्टिनाबाट २००५ मा अन्डर–२० विश्वकपको उपाधि र २००८ मा ओलम्पिक गोल्ड मेडल जितेका छन्, त्यत्ति हो ।
सिनियर टोलीमा डेब्यु गरेको १६ वर्ष बितिसकेको छ । तर, उनले असफलतालाई चिर्न सकेका छैनन् । उमेरले ३४ पुगेका उनी सन् २००५ देखि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । यो अवधिमा उनले १५० क्याप खेलेका छन् र ७६ गोल गरेका छन् । उनी अर्जेन्टिनाका टप स्कोररसमेत हुन्। उनी दक्षिण अमेरिकी सबै देशमा शीर्ष गोलकर्ता बन्नबाट दुई गोलले मात्र पछाडि छन्। उनले अब एक गोल गर्दा फुटबल जगतका सर्वकालीन महान खेलाडी पेलेको रेकर्डसँग बराबरी (७७ गोल) गर्नेछन्।
व्यावसायिक फुटबलको कुरा गर्ने हो भने सफलताको अर्को नाम हो, मेस्सी । बार्सिलोनाको सिनियर टोलीमा २००४ मा डेब्यु गरेयता उनले चार च्याम्पियन्स लिग, १० ला–लिगा, सात कोपा डेल रे, सात स्पेनिस सुपरकप, तीन क्लब विश्वकप र तीन युईएफए सुपरकप जितेका छन्। ६ बलोन डि’ओरसहित अन्य थुप्रै व्यक्तिगत अवार्डसमेत जितेका छन्। तर, अर्जेन्टिनालाई उपाधि जिताउन नसक्दा उनी आलोचनाको सिकार हुने गरेका छन् ।
१४ वर्ष राष्ट्रिय टोलीमा रहँदा मेस्सीले ९ प्रशिक्षकको नेतृत्व पाएका छन् भने ९ असफलता पनि । सन् १९८६ मा अर्जेन्टिनालाई उपाधि दिलाएका म्याराडोनापछि अर्जेन्टिनी फुटबलमा धेरै आशा राखिएका खेलाडी मेस्सी नै हुन्। उनले राष्ट्रिय टोलीमा डेब्यु गर्दा अर्जेन्टिनाले उपाधि नजितेको १२ वर्ष भइसकेको थियो । भलै त्यसबीचमा ग्य्राबियल बाटिस्टुटा, हार्नान्ड क्रेस्पोलगायत उम्दा खेलाडी अर्जेन्टिनासँग नभएका होइनन्, तर मेसीले लामो समयदेखिको उपाधि खडेरी टार्ने विश्वास थियो । अर्जेन्टिनी फुटबल समर्थकको त्यो विश्वास मेस्सीले अझै पूरा गर्न सकेका छैनन्।
निरन्तरको असफलताले मेसी मात्रै निराश छैनन्, उनका करोडौं समर्थक पनि निराश छन् । हुन पनि हो, अर्जेन्टिनाले अन्तर्राष्ट्रिय उपाधि नजितेको पनि २८ वर्ष भइसकेको छ।
पछिल्लोपटक अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । विश्वकप भने सन् १९८६ मा । मेस्सी राष्ट्रिय टोलीमा आएपछि अर्जेन्टिनाले चार फाइनल खेलेको छ । १४ वर्ष राष्ट्रिय टोलीमा रहँदा मेस्सीले चार विश्वकप र पाँच कोपा अमेरिकामा सहभागिता जनाएका छन् । यो उनले खेलेको छैटौं कोपा अमेरिका हो। तीमध्ये एक विश्वकप र तीन कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले खेलिसकेको छ। अब अर्जेन्टिनाका लागि मेस्सीले आइतबार पाँचौं फाइनल खेल्नेछन्। कोपाको मात्र हिसाब गर्ने हो भने चौथो फाइनल।
सन् २००७, २०१५, २०१६ मा कोपा अमेरिका र सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेर पनि अर्जेन्टिना अभागी ठहरियो । ००७ को कोपाको फाइनलमा अर्जेन्टिना ब्राजिलसँग ३–० ले पराजित भएको थियो । २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित हुन पुग्यो । विश्वकपको उपाधिनजिक पुगेर असफल बनेको अर्जेन्टिना सन् २०१५ मा कोपा अमेरिका जितेर पीडा भुलाउने सोचमा थियो । फाइनलमा पनि पुग्यो । तर, चिली अर्जेन्टिनाका लागि बाधक बन्यो र पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो । कोपा अमेरिका सुरु भएको सय वर्ष पुगेको अवसरमा पुनः २०१६ मा प्रतियोगिता आयोजना गरियो । जहाँ अर्जेन्टिना अघिल्लो सालको असफलता दोहोर्याउन चाहँदैनथ्यो । तर, भाग्यले साथ दिएन । पुनः चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो ।
दोस्रोपटक चिलीसँग पराजित भएर उपाधि जित्न नसकेपछि मेस्सी रोएनन् मात्रै, अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा नै गरिदिए । उनको त्यो निर्णय समर्थकलाई प्रिय लागेन । लगत्तै संसारभरका समर्थकले ‘डन्ट गो, लियो’ भन्ने अभियान नै चलाए । ब्युनस आयर्सका मेयरले मेसीको मूर्ति बनाए, अनि संन्यास फिर्ता गर्न आग्रह गरे । अर्जेन्टिनाका ५० हजार दर्शक एकैसाथ उपस्थित भएर संन्यास फिर्ता लिन आग्रह गरेपछि १२ अगस्ट २०१६ मा मेसीले संन्यासको घोषणा फिर्ता लिए ।
त्यो बेला अर्जेन्टिना रसिया विश्वकपमा छनोट नहुने खतराबाट गुज्रिरहेको थियो । मेस्सीको काँधमा अर्जेन्टिनालाई रसिया विश्वकपमा छनोट गराउने जिम्मेवारी थियो । तर, सोही समयमा उनले चार अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध व्यहोर्नुप¥यो । यसका कारण अर्जेन्टिना १९७० पछि विश्वकपमा छनोट नहुने खतरा थियो । तर, मेस्सीले समर्थकलाई निराश बनाएनन् । छनोट चरणको निर्णायक मानिएको इक्वेडरविरुद्धको खेलमा मेस्सीले ह्याट्रिक गर्दै ३–१ को जित निकाले र अर्जेन्टिना विश्वकपमा छनोट भयो । विश्वकपमा छनोट भएसँगै २०१४ को चोटलाई शक्तिमा बदल्दै रसियामा उपाधि जित्ने अर्जेन्टिनाको योजना तब तुहियो, जब अन्तिम १६ मा फ्रान्ससँग अर्जेन्टिनाले ४–३ को हार व्यहोर्यो ।
विश्कपमा व्यहोरेको हारलाई भुल्दै २०१९ मा ब्राजिलमै भएको कोपा अमेरिका जित्ने अवसर मेस्सीसँग थियो। अर्जेन्टिना सेमिफाइनलसम्म पुग्यो पनि। तर, ब्राजिलसँग २–० ले पराजित भएपछि मेस्सीको उपाधि जित्ने योजनामा ब्रेक लाग्यो। अब उही ब्राजिलसँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछ। ब्राजिलसँग बदला लिने अवसर मेस्सी र अर्जेन्टिनासँग छ।
हो, राष्ट्रिय टिमबाट मेसी अभागी खेलाडी हुन् । आलोचकहरू भन्छन्– मेस्सीले क्लबमा जस्तो राम्रो देशमा खेल्दैनन्। तर, यो केवल आरोप मात्रै हो र मेस्सीका लागि अन्याय पनि । यद्यपि, तथ्यचाहिँ त्यस्तै छ। बार्सिलोनामा उनले जति सफलता चुमेका छन्, अर्जेन्टिनामा त्यति नै असफलता भोगेका छन्।
उनकै प्रभावशाली प्रदर्शनको सहयोगमा अर्जेन्टिना पाँचपटक फाइनल पुगेको छ । मेस्सीले भनेका छन्, ‘मैले यसअघि पनि फाइनल खेलिसकेको छु। तर, ती सबै बिर्सनलायक थिए। म फेरि त्यस्तै समय भोग्न चाहन्नँ। मैले यो जर्सीमा केही न केही ठूलो कुरा जित्नु छ। विश्वकप होस् वा कोपा। हामी देशका लागि उपाधि जित्नका लागि अर्को संघर्ष गर्न तयार छौं। हामी धेरै नजिक छौं। हामी उपाधि जित्न एक सुन्दर खेल खेल्न गइरहेका छौं।’
अहिलेसम्मको स्थिति हेर्ने हो भने कुरा यत्ति हो, सायद उनलाई भाग्यले ठगेको छ । त्यसैले त पटक–पटक उपाधि नजिक पुगेर पनि असफल भएका छन्। ३४ वर्षीय मेस्सीको एउटा अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको यसपटक पूरा हुन सक्छ। अन्तर्राष्ट्रिय उपाधि जितेपछि उनले व्यावसायिक फुटबलमा सफलताको शिखर चुमेको क्लब बार्सिलोनामा नयाँ सम्झौता गर्न सक्छन्। अहिले बार्सिलोनामा उनको सम्झौता समाप्त भइसकेको छ। नयाँ सम्झौता हुन्छ वा हुँदैन यकिन हुन सकेको छैन।
अहिलेका लागि मुख्य प्रश्न यही हो– के उनले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्लान् देशका लागि? प्रतीक्षा ब्राजिलसँगको खेलको छ।
मितिः आइतबार, २७ असार
समय (नेपाली): बिहान ५ः४५ बजे
स्थानः माराकाना स्टेडियम (ब्राजिल)
–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा