बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अरु युरोपेली देशभन्दा किन अलग खेल्छ स्पेन? यस्तो छ टिकिटाकाको रहस्य

अरु युरोपेली देशभन्दा किन अलग खेल्छ स्पेन? यस्तो छ टिकिटाकाको रहस्य

यूरोपियन फुटबलको विशेषता हो– फिजिकल र प्राविधिक खेल। तर, युरोपमा एउटा यस्तो टोली छ, जसले फरक शैलीको फुटबल खेल्छ। त्यो टोली हो स्पेन। स्पेनको राष्ट्रिय टोली र क्याटलान क्लब बार्सिलोनाले प्रयोग खेलिरहेको फुटबल शैली हो– टिकिटाका। 
 |  मंगलबार, असार २२, २०७८

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, असार २२, २०७८

काठमाडौं- यूरोपियन फुटबलको विशेषता हो– फिजिकल र प्राविधिक खेल। तर, युरोपमा एउटा यस्तो टोली छ, जसले फरक शैलीको फुटबल खेल्छ। त्यो टोली हो स्पेन। स्पेनको राष्ट्रिय टोली र क्याटलान क्लब बार्सिलोनाले प्रयोग खेलिरहेको फुटबल शैली हो– टिकिटाका। 

विश्व फुटबलमा चर्चित र पृथक खेलशैली ‘टिकिटाका’ के हो? कसरी फुटबलमा यो सिद्धान्त प्रतिपादन भयो? यसको विकासक्रम कसरी भयो? र अहिले क–कसले यो शैलीमा खेल्छन् भन्ने विषयमा यो सामग्री केन्द्रित छ।

टिकिटाका शैलीको सबैभन्दा महत्वपूर्ण पक्ष होे– बल पोसेसन अर्थात् बलमा आफ्नो नियन्त्रण। यो शैलीमा आधारित रहेर फुटबल खेल्ने टिमले खेलका दौरान पोसेसनमा एकाधिकार जमाउन सक्छ। जहाँ खेलाडीको प्राविधिक क्षमता र पोजिसनिङको तरलताले विपक्षी टिमलाई हतोत्साहित बनाउने गर्छ। जसका कारणले यो शैली आफैंमा विषेश छ।

यो शैलीलाई कसरी टिकिटाका भनियो, ठ्याक्कै भन्न गाह्रो छ। यसबारेमा विभिन्न कोणबाट तर्क पेश हुने गरेका छन्। तरपनि सन् २००६ को विश्वकपमा एक स्पेनिस कमेन्टेटर आन्द्रेस मोन्टेले भनेका थिए, ‘हामी टिकिटाका शैलीमा बल खेल्न गइरहेका छौं।’

तर यो शब्दको ध्वनिले ‘वान टच पासिङ’ भन्ने बुझाउँछ। जुन फुटबलमा हुने धेरै महत्वपूर्ण र अनिवार्य कुरा हो। टिकिटाका खेलाएर सफलताको शिखर चुमेका प्रशिक्षक पेप ग्वार्डिओलाका अनुसार बल पास गर्नु मात्रै टिकिटाका होइन। बल पाससँगै विपक्षीको पोस्टमा गोल गर्ने लक्ष्यसहितको फुटबल शैली टिकिटाका हो। 

Metro Mart
worldlink
२०१० को बेलोन डिओर अवार्डका लागि मनोनयनमा परेका जाभी इनिस्टा र मेस्सी बार्सिलोनाको जर्सीमा

‘बल पास गर्नका लागि मात्र टिकिटाकाको प्रयोग हुन्छ भने म त्यसलाई घृणा गर्छु। त्यसको कुनै अर्थ पनि छैन,’ ग्वार्डिओलाले पत्रकार पाटी पेरर्नाउलाई सन् २०१४ मा टिकिटाकाबारे भनेका थिए, ‘खेलाडीले निश्चल मनसायका साथ बल पास गर्नुपर्छ। उसमा विपक्षीको पोस्टभित्र गोल गर्ने लक्ष्य हुनुपर्छ।’

उनी बार्सिलोनाको प्रशिक्षक रहँदा उनले टिकिटाकालाई परिष्कृत गरेर प्रयोग गरेका थिए। त्यो प्रयोग सफलमात्रै भएन, उनी बार्सिलोनाको इतिहासकै महान प्रशिक्षक समेत बन्न पुगे। तर, सन् २०१२ मा बार्सिलोना छोडेका उनले दुई वर्षपछि बार्सिलोनाले टिकिटाका खेल्न छोडेको बताएका थिए। यसो भनिरहँदा उनको तर्क थियो– टिकिटाका खेल्न अहिले बार्सिलोना पूर्ण रुपमा तयार भएको देखिँदैन। टिकिटाकाबारे उनी भन्छन्, ‘यो शैली मलाई काल्पनिक कथाझैं लाग्छ।’

टिकिटाका शैलीको फुटबल खेलिरहेका खेलाडीहरू विपक्षीलाई पास खेलेर एकार्फ केन्द्रित गर्न खोज्छन्। विपक्षी खेलाडी एकतर्फ केन्द्रित हुँदा सिर्जना भएको खाली ठाउँमा फरवार्ड लाइन तीव्र गतिमा पुग्छन्। बल पास गर्ने निपूर्ण क्षमता भएका मिडफिल्डरहरू विपक्षीको डिफेन्स लाइनलाई छल्दै अट्याकिङ थर्डमा पुग्छन्। यो शैली विपक्षीको पोस्टमा गोल नभइन्जेलसम्म चलिरहन्छ। 

२०१२ को युरोकप जितेपछि खुसी मनाउँदै स्पेनिस टिम

टिकिटाका शैली अपनाएर व्यावसायिक फुटबलमा सबै उपाधि जितिसकेका पेप आफैंलाई भने यो शैली अधिक भारी लाग्छ। उनका अनुसार छिटोछिटो खेलिने पास कमजोर भएमा त्यसले खेलको डिफेन्समा असमानता पैदा गर्छ। तर, यति हुँदैमा सबै कुरा बिग्रन्छ भन्ने होइन। किनकी टिकिटाका शैलीमा डिफेन्सिभ पक्ष पनि त समावेश हुन्छ। विपक्षीले पोसेसन बनाइरहेको अवस्थामा जतिसक्दो चाँडो दबाब बनाउने र बल खोस्ने शैली पनि टिकिटाकामा हुन्छ।

टिकिटाका बल पासिङ गर्ने शैलीमात्र होइन। यसले त खेलाडीको पोजिसनमा परिवर्तन गरिरहन्छ र दौडिरहेको खेलाडीले खाली ठाउँ सिर्जना गर्छ। सँगै गोल गर्ने अवसर सिर्जना गर्न अर्को लेनमा बल पास गरिन्छ।

यो फिलोसोफी अपनाउने प्रशिक्षकले खेलाडीलाई मनोवैज्ञानिक रुपमा तयार गर्छन्। जस्तो– आफूसँग बल भएको बेला खेलाडीलाई मैदान एकदमै ठूलो भएको सम्झन लगाइन्छ। तर, विपक्षीसँग बल भएको अवस्थामा मैदान सानोभन्दा सानो भएको कल्पना गर्न खेलाडीलाई निर्देशन दिइन्छ। यो शैलीको अर्को महत्वपूर्ण पक्ष हो– मार्क र अनमार्कको सिस्टम। त्यो के भने सबै खेलाडी मार्कमा भएको अवस्थामा पनि पास दिइने बेला एक न एक खेलाडी चाहिँ ‘अनमार्क’ हुनैपर्छ। 

कसले प्रतिपादन गरेको हो टिकिटाका?

टिकिटाका डच फुटबल शैली ‘टोटल फुटबल’को परिष्कृत रुप हो। यसलाई कसले प्रतिपादन गरको हो भनेर ठ्याक्कै भन्न सकिन्नँ। कसैले योहान क्रुपलाई यसको जस दिन्छन्। टोटल फुटबललाई परिष्कृत गरेर उनले बार्सिलोनाको प्रशिक्षक हुँदा टिकिटाका शैलीको विकास गरेका हुन् भन्ने एकथरीको तर्क छ। तर, कतिपयले स्पेनी प्रशिक्षक लुइस आरागोनेसले प्रतिपादन गरेको ठान्छन्। लुइस आरागोनेसपछि स्पेनको प्रशिक्षक सम्हालेका भिसेन्ट डेल बोस्केले समेत यही शैली पछ्याए। 

सन् १९३० मा साल्केको स्पिनिङ टप शैली र सन् १९७० मा आयाक्स र नेदरल्यान्डमा प्रचलित ‘टोटल फुटबल’को विकसित रुप टिकिटाका भएको बताइन्छ। तर, कतिपयले यसलाई अस्वीकार समेत गर्ने गरेका छन्। 

स्पेनका पूर्व प्रशिक्षक आरगोनेस, भिसेन्ट र अहिलेका प्रशिक्षक एनरिके

सन् १९९० को दशकमा जुआन क्रुफ प्रेरित मोडर्न टिकिटाका सुरु भएको थियो। टोटल फुटबल र टिकिटाकामा पास खेल्ने शैली र खेलाडीको पोजिसन परिवर्तनमा धेरै कुरा समान छ। जसका कारण टिकिटाका टोटल फुटबलबाट प्रेरित भएको कुरा असत्य होइन। 

बार्सिलोनाको मुख्य प्रशिक्षकको भूमिकामा क्रुफ नियुक्त भएपछि उनले डच स्कुलिङमा प्रशिक्षण दिन थाले। उनले लुइस भान गाल र फ्रांक रिजकार्डको साथमा ला मासियाका खेलाडीलाई छोटोछोटो पास खेलाउने हेतुले प्रशिक्षण सुरु गरेका थिए।

उनीहरुले छोटो पास खेलेर विपक्षीलाई हैरान पार्ने शैली एकेडेमीबाट सिकाउन थाले। सन् २०१३ मा क्रुफले भनेका थिए, ‘मलाई लाग्छ बार्सिलोनाको खेल शैली हेर्न धेरै लालायित छन्। फुटबल सिक्न चाहनेले त्यो शैली सिक्न सक्छन्।’

कतिपय अवस्थामा मानिसहरु टोटल फुटबल र टिकिटाका एकै हुन् वा फरक भनेर झुक्किने गरेका छन्। तर यी दुई भिन्न शैली हुन्। टोटल फुटबल खेल्न त्यस्ता डिफेन्डर चाहिन्छ, जसले अट्याकिङमा पनि राम्रो गर्न सकोस्। र, त्यस्ता अट्याकर्स चाहिन्छ जसले डिफेन्समा पनि उस्तै राम्रो खेल्न सकोस्। 

टिकिटाकालाई कतिपयले क्रुफको सोचको कहिल्यै नसकिने भर्सन पनि भन्ने गर्छन्। जहाँ बललाई एक काल्पनिक वृत्तमा पास दिएर घुमाइन्छ। पासका माध्यमबाट विपक्षी खेलाडीलाई हैरान बनाउने र ग्याप सिर्जना हुनेबित्तिकै त्यसको फाइदा उठाउने शैली टिकिटाका हो। 

पेपको आगमन .. 

साँच्चैको टिकिटाका त तब सुरु भयो, जब सन् २००८ मा पेप ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक बने। ग्वार्डिओला डच प्रशिक्षक क्रुफको शैलीबाट प्रेरित भएका थिए। उनले क्रुफको शैलीलाई थप विकसित गरिदिए। 

यो शताब्दीको पहिलो दशकमा जब बार्सिलोनाको मिडफिल्डमा जाभी हर्नान्डेस र आन्द्रेस इनिस्टाको प्रवेश भयो, तब टिकिटाका फस्टायो। जब उनीहरुले त्यो शैलीलाई क्लबमा परिपक्व बनाए, तब लियोनेल मेस्सी सिनियर टोलीमा आए। त्यसपछि उनले टिमलाई डोर्‍याए।

जारी युरोकपअन्तर्गत क्वार्टरफाइनल खेलमा सहभागी सुरुआति रोजाइमा परेका स्पेनी खेलाडी

‘मैले बार्सिलोनामा एउटा ‘इथोज’ ल्याउन सकेकोमा म आफूलाई भाग्यमानी ठान्छु। जसले मलाई टिमको एउटा महत्वपूर्ण सदस्य भएको महत्व सम्झाएको छ,’ जाभीले त्यो समय सम्झिएका छन्। बार्सिलोनाले अभ्यास गरिरहेको टिकिटाका शैलीमा उनले ३१७ खेलमा पोसेसन ब्याटलमा हार्नुपरेको थिएन। त्यो शैलीले क्लबलाई गोल्डेन युगमा पु¥यायो। त्यही समयमा बार्सिलोनाले तीन च्याम्पियन्स लिग जित्यो।

सन् २०१५ मा जाभीले क्लब छोडेपछि मात्र बार्सिलोना पनि टिकिटाका खेल्न नसकेको टिप्पणी भएको थियो। जब अर्नेस्टो भालभर्डेले सन् २०१७ मा क्लब सम्हाले। त्यसपछि क्याटलन क्लबले टिकिटाका छोडेको थियो। 

टिकिटाकाबाट स्पेनले मारेको छलाङ

एट्लेटिको मड्रिडमा सर्वाधिक गोलकर्ता हुँदै ३६ वर्षको उमेरमा बुट थन्क्याएका लुइस आरागोनेसले चार पटक एट्लेटिकोमा प्रशिक्षण गराए। दुई पटक रियल बेटिसलाई प्रशिक्षण गराएका उनले त्यसपछि बार्सिलोना र एस्पानोयलको टिम पनि सम्हाले। उनले आठ फरक–फरक क्लबमा प्रशिक्षण गराएपछि सन् २००४ मा स्पेनको मुख्य प्रशिक्षकको जिम्मेवारी पाए।

त्यतिबेला स्पेनले अन्तर्राष्ट्रिय उपाधि नजितेको ४० वर्ष भइसकेको थियो। राष्ट्रिय टिमले कुनै प्रतियोगितामा छाप छोड्न सकिरहेको थिएन। ४० वर्षको उपाधि खडेरी कसरी तोड्ने? यो नै स्पेनका लागि मुख्य प्रश्न थियो। 

युरोकपमा समूह चरणबाट स्पेन अघि बढ्न सकिरहेको थिएन। सेमिफाइनल नपुगेको त वर्षौं भएको थियो। त्यतिबेलै त हो, प्रशिक्षक आरागोनेसले स्पेनिस टिममा पनि टिकिटाका शैली भित्र्याएको। बार्सिलोनाले खेलिरहेको टिकिटाका शैलीमा स्पेनको राष्ट्रिय टोलीलाई ढाल्न समस्या पनि थिएन। 

बार्सिलोनाका खेलाडी राष्ट्रिय टिममा थिए। आरागोनेस काउन्टर अट्याकिङ फुटबलका लागि चिनिन्थे। उनी परिवर्तन भए, ठ्याक्कै उल्टो भए र २००६ को विश्वकपमा टिकिटाका शैलीमा स्पेनिस टिमलाई खेलाए। विषेश केही भएन, स्पेनको टोली टिकिटाका शैलीमा पूरै ढलिसकेको थिएन। फलस्वरुप स्पेन अन्तिम १६ बाट बाहिरियो।

खेलाडी तथा प्रशिक्षक योहान क्रुफ

विश्वप्रसिद्ध टिकिटाका शैलीमा स्पेनको टिम ढलेको त्यो दिनलाई मान्निछ, जब डिफेन्डर सर्जियो रामोसले डेनमार्कविरुद्ध बल पोसेसनको ७५ सेकेन्डमा गोल गरे। डिफेन्डरले पनि अट्याकिङ खेल्न सक्छन् भन्ने सिद्धान्तलाई सार्थक बनाउँदै २००७ अक्टोबर १३ मा रामोसले गोल गरेपछि स्पेनिस टिमभित्र टिकिटाकाको जन्म भएको मानिन्छ। त्यतिबेला छनोटबाटै बाहिरिन लागेको स्पेनलाई रामोसको त्यो गोलले त्राण दिएको थियो।

त्यसपछि आरागोनेसको टोलीले सन् २००८ को युरोकप खेल्यो। उनको टिममा माकोस सेनह, आन्द्रेस इनिस्टा, जाभी, सेस फाब्रेगास, जाभी एलेन्सो, डेविड भिल्ला र सान्टी कजोला मिडफिल्डमा तैनाथ थिए।

त्यही टिमले नै त हो स्पेनलाई ४४ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताएको। आरागोनेसले बनाएको जगमा रहेर त्यसपछिका प्रशिक्षक भिसेन्ट डेल बोस्केले पनि टिकिटाका शैली पछ्याए। अन्ततः स्पेनले चार वर्षमा विश्वका ठूला तीन उपाधि जित्यो। ती उपाधि थिए– युरोकप (२००८), विश्वकप (२०१०) र युरोकप (२०१२)। 

विश्वकप २०१० जितेपछि स्पेनी टिम

त्यतिबेला स्पेनले खेल्ने फुटबल बार्सिलोनाबाट प्रभावित थियो। त्यसैले त सन् २०१० को विश्वकप जितेपछि बार्सिलोनाका तत्कालिन अध्यक्ष (हालका समेत) जोवन लापोर्टाले भनेका थिए, ‘विश्वकप बार्सिलोनाले जितेको हो। खेलाडीले गलत जर्सी लगाएका मात्र हुन्।’

सन् २००८ देखि १२ सम्मको समयमा बार्सिलोनाले जसरी टिकिटाका खेल्थ्यो, त्यस्तो शैली अहिले देख्न पाइँदैन, स्पेनको राष्ट्रिय टिम होस् वा बार्सिलोनामा। बार्सिलोनाले ग्वार्डिओलापछि अनुबन्ध गरेका प्रशिक्षक टिटो विलानोवा, टाटा मार्टिनो र लुइस एनरिकेले पनि टिकिटाका शैलीमा आधारित रहेर फुटबल खेलाएका थिए।

अनि निरश बन्यो टिकिटाका ...

समयकालसँगै टिकिटाका शैली पनि दिक्कलाग्दो र निरश देखिन थाल्यो। मानौं टिकिटाका पोसेसन बनाउने मात्र खेलिने शैली हो।  ‘स्पेनको फुटबल सेक्सबिनाको प्रेमजस्तो देखिन थाल्यो,’ निरश बन्दै गएको टिकिटाकालाई व्यंग्य गर्दै फ्रान्सेली फुटबलर बिसेन्टे लिजाराजुले टिप्पणी गरेका थिए। बार्सिलोना र स्पेनको फुटबललाई मानिसहरूले आलोचना समेत गर्न थाले। तिनै आलोचकमध्ये एक थिए हेभी मेटल फुटबल खेलाउनले हालका लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप। 

‘८० प्रतिशत बल पोसेसन बनाएर ५ वा ६–० गोलअन्तरले जित निकाल्दा त फुटबल होइन टेनिस खेलेजस्तो पो देखिने रहेछ। तर टेनिस मेरो खेल होइन। यो मेरो कामको छैन,’ बोरुसिया डर्टमन्डको प्रशिक्षक हुँदा २०१३ मा उनले भनेका थिए।

जब जाभी र इनिस्टा बार्सिलोना र स्पेनको टिमबाट बाहिरिए, त्यसपछि त झन् टिकिटाका फिक्का देखिन थाल्यो। ग्वार्डिओला आफैंले पनि आफ्नो फिलोसोफीमा धेरथोर परिवर्तन गरेकै छन्। उनले बल पोसेसन, तरलता र विपक्षीमाथि उच्च दबाब बनाउन टिकिटाकाकै शैली प्रयोग गरे पनि उनले व्यवहारिक र सिधा शैलीको फुटबलमा जोड दिन थालेका छन्। 

अहिले स्पेनिस टोलीको नेतृत्व इनरिकेले गरिरहेका छन्। बार्सिलोनामा हुँदा पनि इनरिकेले टिकिटाका सिद्धान्तमा आधारित रहेर खेलाएका थिए। तर, त्यो ग्वार्डिओलाको पालामा झैं चुस्त भने थिएन। उनी बार्सिलोनाको प्रशिक्षक रहँदै समर्थकहरुले उनको शैलीलाई लिएर आलोचना गर्ने गर्थे। के उसो भए स्पेनले टिकिटाका शैलीमा खेल्न छोड्यो त? यसको उत्तर हो– होइन। अहिले पनि स्पेनले धेरथोर टिकिटाका शैलीमै खेल्छ। तर, पूर्ण टिकिटाकाको समय भने सकिइसकेको छ। 

–फिकाडटकम, बिस्कोररडटकम, एसआईडटकम, सीएनएनडटकम, गोलडटकमको सहयोगमा

प्रकाशित: Jul 06, 2021| 12:28 मंगलबार, असार २२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।