काठमाडौं- युरोकप २०२४ तीन वर्षपछि जर्मनीले आयोजना गर्नेछ। त्यतिबेला पोर्चुगलका कप्तान एवम् फरवार्ड क्रिस्टियानो रोनाल्डो ३९ वर्षका हुनेछन्। त्यसैले उनलाई त्यो खेलमा देख्न पाइने सम्भावना कमजोर छ। यद्यपि स्विडेनका ३९ वर्षीय ज्लाटन इब्राहिमोविच, पोर्चुगलका ३८ वर्षे पेपे अहिलेसम्म खेलिरहेकै छन्।
तर, धेरै स्टार र उकृष्ट खेलाडीले भरिएको पोर्चुगलको टिमलाई जिम्मेवारी सुम्पिनु पनि रोनाल्डोको अर्को कर्तव्य बन्नेछ। त्यसले उनलाई अर्को युरोकपमा देख्न कठिन हुने अनुमान गर्न सकिन्छ। यति मात्र होइन, उनले गत वर्ष भनेका थिए, 'अब म २०२२ पछि अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने छैन।'
यसबाट स्पष्ट हुन्छ- २०२२ को फिफा विश्वकप उनका लागि अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। त्यसैले पनि युरोकप २०२० उनका लागि अन्तिम हुन सक्छ। यसो भनिरहँदा उनले जारी युरोकपमा गरेकाे प्रदर्शन र दिएकाे योगदान भुल्न सकिन्न। उनले यही युरोकपमा विश्वको सर्वाधिक गोलकर्ताको रेकर्डसँग बराबरी गरे, युरोकपका सर्वाधिक गोलकर्ता बने। युरोकप र विश्वकपमा सर्वाधिक गोल गर्ने युरोपियन खेलाडी बने। अन्य खेलाडीले भन्दा धेरै अर्थात् पाँचपटक युरोकप खेले भने युरोकपमा सबैभन्दा धेरै खेल २४ वटा खेलमा सहभागी बने।
यसबाहेक उनी लिडिङ स्कोरर हुँदै युरोकप २०२० बाट बाहिरिए। उनले युरोकपमा पाँच गोल गरे पनि टिमलाई अन्तिम १६ बाट अघि लैजान सकेनन्। जहाँ विश्व नम्बर वान बेल्जियमले १–० गोलले हराएर पोर्चुगललाई घर पठायो।
खेलमा पोर्चुगलले धेरै अवसर त पायो तर त्यसलाई सदुपयोग गर्न सकेन। उसका २४ प्रहार सबै खेर गए। अधिकांश प्रहार पोस्टबाहिर गए। पोस्टको दिशामा गएका बल पनि थियाबाट कोट्वाको हातमा पुगेर रोकिए, जो बेल्जियमका गोलकिपर हुन्। त्यसैले, जब रेफ्रीले खेल सकिएको जानकारी दिए उनको हाउभाउ स्वभाविक थिएन। फ्रस्टेटेड देखिएका थिए रोनाल्डो। उनको अन्तिम (सम्भावित) युरोकपको त्यो खेलको नतिजा सम्झानलायक बनेन। पोर्चुगलले ३२ वर्षपछि बेल्जियमसँग हार बेहोर्न पुगेकाे छ।
रोनाल्डो यति भावुक थिए कि, उनले आर्मब्यान्ड निकालेर टर्फमा फ्यात्त फाले। एकपटक मात्र होइन टिपेर पुनः त्यतै फाले। विश्वकप छनोटमा सर्वियाविरुद्ध खेलको अन्तिम समयमा गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि उनले त्यस्तै व्यवहार देखाएका थिए।
तर यसैबीच उनी र बेल्जियन प्रतिद्वन्द्वीको भेट दर्शनीय रह्यो। उनले बेल्जियमका गाेलकिपर थिवाउट काेर्टुवासँग सद्भाव साटेका थिए। साे क्रममा उनले काेर्टुवाकाे प्रशंसासमेत गर्न भ्याए।
लुकाकुसँग विशेष भेट
समय त्यही थियो। खेलपछि उनी र रामेलु लुकाकु भेट भए। लुकाकुले पराजित आफ्ना स्टारलाई सान्त्वना दिएका थिए। जहाँ फुटबलकाे सुन्दर सद्भाव झल्कियो। तर उनीहरु अन्तर्राष्ट्रिय फुटबलमा मात्र होइन सिरी ए को क्लब फुटबलमा पनि प्रतिद्वन्द्वी हुन्।
उनीहरुले त्यहाँ छोटो कुरा गरे। के भने त्यो बाहिर आउन बाँकी नै छ। तर उनले दिएको सान्त्वनाले पनि रोनाल्डोको तनाव मत्थर देखिएकाे थिएन। यसकाे कारण थियो, साविक विजेता पोर्चुगलले जारी युरोकपमा एकमात्र खेल जित्यो। त्यो हंगेरीसँगको थियो। फ्रान्ससँग बराबरी खेलको पोर्चुगलले जर्मनीसँग पनि हार बेहोरेको थियो।
तर पोर्चुगलबारे जस्तो भनिए पनि उसले समूह चरणमा र अन्तिम १६ मा सहज प्रतिद्वन्द्वी पाएन। ऊ फिक्चरको मारमा परिरह्यो। तर पनि रोनाल्डोले आफ्नो पूरा शक्ति खेलमा लगाएका थिए। यदि उनको यो अन्तिम युरोकप हो भने उनी सबैभन्दा महान् खेलाडीका रुपमा बाहिरिए।
रोनाल्डोको अन्तर्राष्ट्रिय प्रतियोगिता
ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको कुरा गर्दा रोनाल्डोले २००४ मा युरोकप खेलेका थिए। पहिलोपटक युरोकपमा खेल्दा रोनाल्डोले दुई गोल गरेका थिए। अहिलेसम्म १४ गोल पुर्याएका रोनाल्डोले २००८ को युरोकपमा एक र २०१२ को युरोकपमा तीन गोल गरेका थिए। त्यस्तै रोनाल्डोले २०१६ को संस्करणमा तीन गोल गरेका थिए भने यो संस्करणमा त पाँच गोल गर्न सफल भए।
युरोकपबाहेक रोनाल्डोले २००४ को ओलम्पिक, २००६, २०१०, २०१४ र २०१८ को विश्वकप खेलेका छन्। त्यस्तै, २०१७ को कन्फेडेरेसन कपबाहेक २०१९ र २०२१ को नेसन्स लिग खेलिसकेका छन्।
संन्यासपछि अभिनयमा देखिनेछन् रोनाल्डो!
रोनाल्डोले दुई वर्षअघि एक अन्तर्वार्तामा संन्यासपछि फिल्म खेल्ने बताएका थिए। उनले नयाँ चुनौती स्वीकार गर्ने बताउँदै खेल जीवनपछि फिल्ममा सहभागी बन्ने बताएका थिए। उनले दुबई स्पोर्टस् कन्फेरेन्समा भनेका थिए, ‘केही वर्ष अघिसम्म खेल्ने उमेर ३०–३२ वर्षसम्म थियो। तर अहिले खेलाडीहरु ४० वर्षसम्म खेलिरहेका छन्। जबसम्म मेरो शरीरले सही तरिकाले खेल्न सक्छ तबसम्म म खेल्छु।’
‘मलाई लाग्छ म ५० वर्षभन्दा धेरै समय सिक्ने कुरामा बिताउन सक्छु। जसमा म फरकफरक चुनौती स्वीकार गर्न चाहन्छु। मैले सोचेको एउटा कुरा के हो भने म फिल्म पनि खेल्न सक्छु,’ उनले भनेका थिए। ‘नयाँ कुरा सिक्ने प्रक्रियाले गर्दा दिमागले जन्माउने धेरै सवालको जवाफ पाउँछु। त्यसैले पनि म जहिल्यै सिक्न चाहन्छु,’ रोनाल्डोको भनाइ थियो।
उनीभन्दा अघि पनि प्रसिद्ध फुटबलर भिन्नी जोन्स, पेले, डेभिड बेकह्याम जस्ता खेलाडीले खेल जीवनपछि फिल्ममा करियर सारेका थिए।
अथवा प्रशिक्षक-व्यवस्थापक बन्लान्?
युरोकप २०१६ को फाइनलमा प्रशिक्षक फर्नान्डो सान्तोस जत्तिकै रोनाल्डोले पनि खेलाडीलाई आदेश दिइरहन्थे। फ्रान्सविरुद्धको त्यो फाइनलमा पोर्चुगलले उच्चस्तरको खेल प्रस्तुत गरेको थियो। जसकारण उसले उपाधि जित्यो। त्यसपछि उनी राम्रा प्रशिक्षक बन्न सक्ने अनुमान पनि नगरिएका भने होइनन्। रोनाल्डोको त्यो शैली प्रशिक्षक बन्न मार्गदर्शक भनिए पनि उनी आफू प्रशिक्षक नबन्ने बताउँछन्।
उनले डीएजेएन इटालीसँग कुरा गर्दै भनेका थिए, ‘मेरो प्रशिक्षक बन्ने मनसाय छैन। त्यसो भएमा एक दिन म बोरिङ हुनेछु। यदि म प्रशिक्षक बने भनेँ पनि एक मोटिभेटर बन्नेछु।’ तर उनले प्रशिक्ष नबने पनि नयाँ पुस्ताका खेलाडीसँग अनुभव साट्नबाट पछि नहट्ने बताएका थिए।
साथै रोनाल्डोले खेल जीवन अन्त्य गरेपछि पढाइमा ध्यान दिने पनि बताउँछन्। तर उनले विश्वविद्यालय गएर पढ्ने कुरा मा केन्द्रित नहुने बताउँदै नयाँ सिक्नेमा जोड दिन्छन्।