बुधबार, असार ४, २०८२

विभेदविरुद्ध बोल्न थाले कलाकार : केकीको क्षमायाचना, ज्योतिको आक्रोश

सञ्चारकर्मी रुपा सुनारले दलित भएकै कारण कोठा नपाएपछि यतिबेला सामाजिक सञ्जालमा जातीय विभेदको बहस चुलिएको छ। तर, आफूलाई सेलिब्रेटी भन्ने कलाकारहरूले नै यस विषयमा कुनै प्रतिक्रिया नजनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहको थियो। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- सञ्चारकर्मी रुपा सुनारले दलित भएकै कारण कोठा नपाएपछि यतिबेला सामाजिक सञ्जालमा जातीय विभेदको बहस चुलिएको छ। तर, आफूलाई सेलिब्रेटी भन्ने कलाकारहरूले नै यस विषयमा कुनै प्रतिक्रिया नजनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहको थियो। 

फिल्म समीक्षक समाज अध्यक्ष दीपेन्द्र लामाले बिहीबारमात्रै फेसबुकमा लेखेका थिए, ‘केही सेलिब्रेटीले क्लबहाउसका सेसनहरूमा जातीय विभेद‍्बारे चर्काचर्का क्रान्तिकारी कुरा गर्दै स्रोतालाई आग्रह गरे- विभेद र छुवाछुतविरुद्ध सबैले आ–आफ्नो ठाउँबाट बोलौं, आफ्ना सामाजिक सञ्जालहरूमा लेखौं। तर, मैले दुई दिनसम्म हेरेँ, २–३ सय स्रोता उपस्थित क्लबहाउसमा त्यस्तो बोल्ने सेलिब्रेटीहरूले ७०–८० हजार फलोअर रहेको आफ्नो फेसबुक पेजमा चाहिँ एक शब्द पनि लेखेका रहेनछन्।’

उनको निष्कर्ष थियो- सेलिब्रिटीहरू पनि क्लबहाउस छिरेर आ–आफ्नो रोटी सेक्ने अभियानमा उत्रिसकेछन्। 

सामाजिक सञ्जालमा यसरी विरोध बढ्न थालेपछि कलाकारहरूले विभेदविरुद्ध लेख्न थालेका छन्। अभिनेत्री केकी अधिकारीले जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव , विभेद हामी सबैभित्र दृश्य–अदृश्य रुपमा जकडिएको लेखेकी छिन्। ‘आफूले आफूलाई नियाल्न, मूल्यांकन गर्न र त्यस प्रकारको सोच आफैंभित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस्। अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यावहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर (ठेस)का लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु,’ यसरी उनले आत्मालोचनासमेत गरेकी छिन्। 

त्यस्तै गायिका ज्योति मगरले पनि शुक्रबार नै फेसबुकमार्फत् रुपा सुनारले दलित भएकै कारण कोठा नपाउनु अमानवीय र निन्दनीय भएको लेखेकी छन्। ‘तर्क गर्न सक्ने क्षमता छ भन्दैमा गलतलाई सही र सहीलाई गलत साबित गर्न खोज्ने सबै समाज भडुवा हुन्,’ उनले लेखेकी छन्, ‘जति नै तर्कवितर्क गरेर सामाजिक सञ्जालमा भुके पनि रुपा सुनार कामी भएकै कारण प्रधानको घरमा कोठा नपाएको प्रष्ट छ। आजको युगमा पनि यस्ता घटना हुनु निन्दनीय र अमानवीय हो।’

रुपाले न्याय नपाउने तर राजनीतिज्ञले यसैलाई राजनीतिक एजेन्डाका रुपमा फाइदा उठाउने उनको तर्क छ।

‘रुपाले न्याय त यत्रैसिति पाएको पाइ हो तर, अब यही कुरालाई लिएर कुन चाहिँ नेताले राजनीतिको मुद्दा बनाउँछ र भुक्छ,’ उनले आक्रोशित हुँदै थप लेखेकी छन्,  ‘अनि फेरि रुपाजस्ता उत्पीडनको सिकारहरूको भावनासँग खेल्छ। जो चोर उसकै ठूलो स्वर। कति बकम्फुसे तर्क गरेको हौ, फेसबुकमा। सक्छौ सहीलाई साथ देऊ, सक्दैनौ गलतलाई पनि साथ नदेऊ। र, स्टाटसको अन्त्यमा मान्छेबाट सकारात्मक र जनावरहरूबाट नकारात्मक कमेन्टको अपेक्षा गर्दछु।’

प्रकाशित: Jun 25, 2021| 07:26 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्