बिहीबार, वैशाख १८, २०८२

यस्ता 'डिफेन्डर' जसका खुट्टामा 'गोल' पनि घुमिरहन्छ

बल नियन्त्रणमा लिएर त्यसलाई सुरक्षित अवतरण गराउँदा विचलित बन्दैनन् उनी। कहिलेकाहीँ त बललाई जाली पनि आफैं चुमाइदिन्छन्। फरवार्ड खेलाडी पनि छक्का पर्दा हुन्– आखिर रञ्जितले कसरी गोल गरिरहेका छन्?
 |  बिहीबार, जेठ २०, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, जेठ २०, २०७८

काठमाडौं– नेपाली फुटबलका मेहनति र क्रियाशील डिफेन्डर हुन्, रञ्जित धिमाल। विपक्षी टिमका खेलाडीलाई रोक्दै गोल लाग्न नदिनु उनको मुख्य जिम्मेवारी हो। लेफ्ट ब्याकमा उनीबाहेक त्यति जोशका साथ सायदै कसैले किल्ला सम्हाल्ला!

बल नियन्त्रणमा लिएर त्यसलाई सुरक्षित अवतरण गराउँदा विचलित बन्दैनन् उनी। कहिलेकाहीँ त बललाई जाली पनि आफैं चुमाइदिन्छन्। फरवार्ड खेलाडी पनि छक्क पर्दा हुन्– आखिर रञ्जितले कसरी गोल गरिरहेका छन्?

२०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिग उनको स्मृतिमा आइरहन्छ। त्यहाँ उनी सर्वाधिक गोलकर्ता बनेका थिए। लामो समय स्थगित भएर पुनः सुरु भएको लिगमा सात गोल गर्दै रञ्जित सर्वाधिक गोलकर्ता बने। त्यसो त समान ७ गोल गरेका छन् मनाङका विदेशी खेलाडी ओलावा लफिज र आर्मीका फरवार्ड भरत खवासले पनि। दुवै खेलाडी फरवार्ड थिए भने रञ्जित डिफेन्डर। उनको उत्कृष्ट प्रदर्शनमा थ्रीस्टार तेस्रो भएको थियो। सर्वाधिक गोल गरेका धिमाल उत्कृष्ट डिफेन्डर बनेका थिए।

मछिन्द्र फुटबल क्लबमा रञ्जित (पछाडिको लाइनमा बायाँबाट तेस्रो)

अहिले नेपाली टिम कुवेतमा विश्वकप छनोट खेलिरहँदा रञ्जित भने आफ्नो घर मोरङमा छन्। नेपालमा पहिलो पटक आयोजना भएको फुटबल फ्रेन्चाइज लिग नेपाल सुपर लिगको अन्तिम खेलमा चोट लागेपछि उनी भर्खरै रिकभर भएका छन्।

Metro Mart
worldlink

‘अहिले म चोटमुक्त भइसकेको छु। अभ्यास पनि गरिरहेको छु। विश्वकप छनोटका लागि राष्ट्रिय टिमको नाम निकाल्ने बेलामा पनि प्रशिक्षणमा फर्किसकेको थिएँ। अहिले त म्याच फिट भइसकेको छु,’ उनले स्वास्थ्य अवस्थाबारे सुनाए।

भर्खर रिकभर भएको कारण हुनसक्छ– उनी टिममा भने परेनन्। लगातारको खेलका कारण आराम आवश्यक रहेको देखे प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले। त्यसैले उनी अहिले नेपाली टिमसँग कुवेतमा छैनन्। मान्छे नेपालमै भए पनि मन भने कुवेत नै पुगिरहन्छ।

नेपालले आज (बिहीबार) चाइनिज ताइपेइसँग खेल्दैछ। जेठ २४ मा जोर्डन र २८ गते अस्ट्रेलियासँग खेल्दैछ। उनले ती खेल मिस गरिरहेका छन्। भन्छन्, ‘म आफ्नै टिमलाई मिस गरिहेको छु। चाँडोभन्दा चाँडो टिममा फर्कन चाहन्छु। नेपाली टिमलाई विश्वकप छनोटको लागि शुभकामना छ।’ नतिजा अनुमान गर्न चाहँदैनन् उनी तर नेपालले सुधारिएको फुटबल खेल्छ भन्ने आशामा छन्।

उनले चाइनिज ताइपेइसँग र अष्ट्रेलियासँग पहिलो लेगको खेल खेल्ने अवसर पाएका थिए। अहिले त्यसलाई सम्झन रुचाउँछन्। ‘अँ....! चाइनिज ताइपेईसँगको खेलचाहिँ एकदमै राम्रो भयो। नतिजा पनि त्यही अनुसारको निकाल्न सफल भयौँ। दुई गोलले जित्यौँ,’ उनले भने, ‘अष्ट्रेलिया एउटा बिग टिम हो। त्योसँग हामीले निकै राम्रो खेलेको जस्तो लाग्छ। दुर्भाग्य हामीले हार बेहोर्यौं।’

उनका अनुसार सबैले शतप्रतिशत दिएर खेलेको हो, ९० मिनेट नै एउटै पेस थियो। गेम हारे पनि टप लेभलको खेलाडीसँग खेल्दा निकै सिक्न पाएको थियो नेपाली टिमले।

उनले भने, ‘प्राविधिक खेल खेल्ने मोडर्न टिम अष्ट्रेलियाविरुद्ध खेल्न निक्कै गाह्रो छ। शारीरिक र कलाका आधारमा पनि अष्ट्रेलिया बलियो छ–थियो, हामी फिजिकल्ली पनि कमजोर र रणनीतिक रुपमा पनि।’ नेपालले अभ्यास खेल इराकसँग खेलेको थियो। त्यो खेल नेपालले पहिलेको भन्दा सुधारिएको जस्तो उनलाई लाग्छ।

भन्छन्, ‘फुटबलमा सिम्पल–सिल्ली मिस्टेक हुन्छ नै। त्यसलाई नर्मल्ली नै लिन्छु। कहिले काहिँ खेलाडीको ब्याड डेज पनि हुन्छ। तैपनि इराकसँगको खेलमा नेपालले पहिलेको भन्दा सुधारिएको खेल खेलेको थियो।’

अन्तर्राष्ट्रिय डेब्यू र प्लेइङ सेटमा नुहँदाको पीडा

अन्तर्राष्ट्रिय खेल करिअरमा रञ्जितले दोहामा भएको फिलिपिन्सविरुद्धको खेलबाट डेब्यू गरे। २०१४ मार्च १२ को अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा उनी विमल मगरका ठाउँमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए।

‘फिलिपिन्सविरुद्ध डेब्यू गरेँ। तर मेरो पहिलो खेलमा हामीले हार बेहोरेका थियौं,’ उनले यूएईमा भएको खेलबारे भने।  डेब्यूपछि विश्वकप छनोटका लगातार तीन खेल उनले बेञ्चमा बिताउनु परेको थियो। इन्डियाको घरेलु मैदानमा नेपाललाई हार मिलेको थियो। २०१५ मार्चमा भएको त्यो खेलमा उनी बेञ्चमा थिए।

पहिलो लेगको पाँच दिनपछि विश्वकप छनोटको रिटर्न लेगको खेल दशरथ रंगशालामा थियो। २०७२ सालको भूकम्पअघि नेपालले दशरथ रंगशालामा खेलेको अन्तिम खेल नै त्यही थियो। जुन गोलरहित बराबरी भएको थियो। त्यो खेलमा उनी बेञ्चमै बसे। लामो सास फेर्दै रञ्जित भन्छन्, ‘हो नि ! इन्टरनेशनलको सुरुवाती बेला थियो। नेसनल टिममा भिज्न सुरुमा गाह्रै हुन्छ। एक वर्ष त भएको थियो।’

त्यही साल नेपालले इन्डियासँग पुनेमा खेल्दा होस् वा सोलिडारिटी कप खेल्दा नै किन नहोस्, टेक्निकल एरियाबाट मैदान नपुगेका रञ्जित बंगलादेशविरुद्धको खेलमा भने सुरुआती रोजाइमा परेका थिए। त्यसपछिका तीन खेल पूरा ९० मिनेट नै मैदानमा रोमाञ्चक खेल देखाए।

दक्षिण एसियाली फुटबल फेडेरेसन च्याम्पियनसिपको समूह ए मा नेपाल रहँदा र नेपाली टिमले ती प्रतियोगिता खेल्दा रञ्जितले दुई खेल खेले। बंगलादेशको ढाकामा नेपालले श्रीलंका, बंगलादेश र माल्दिभ्ससँग होस् वा एसिया कप क्वालिफिकेसन र एसिया कप फेडेरेसन कप खेल्दा, टिममा पर्न निकै सकस थियो।

एएफसीले नेपाल लगायत पिछडिएका देशलाई अघि ल्याउने हेतुले आयोजना गरेको सोलिडारिटी कपमा नेपाल समूह ए मा थियो। नेपालले फाइनलमा मकाउलाई हराउँदै उपाधि जित्योा। उनले पनि उपाधि उत्सव मैदानमै मनाए। तर बेञ्चका खेलाडी बनेर।

सोडिडारीटी कप उठाउँदै रञ्जित

‘डेब्यूपछि टिममा थिएँ तर लगातार बेञ्चमा थिएँ। खेल्न पाएको अवस्थामा चाहिँ केही गर्छु भन्ने लाग्थ्यो। इख थियो,’ उनी सुनाउँछन्, ‘सन् २०१६, २०१८ र २०१८ का लागभग धेरै खेल बेञ्चमै बितेका छन्।’

बीचमा यमनविद्ध नेपालले दोहामा भएको खेल वा मनिलामा फिलिपिन्सविद्ध भएको खेल छिमेकी इन्डियासँग मैत्रीपूर्ण खेलमा उनको यात्रा बेञ्चमै रह्यो। २०१८ मा ढाकामा सम्पन्न दक्षिण एसियाली फुटबल फेडेरेसन च्याम्पिनसिपमा नेपालले सेमीफाइनलसम्मको यात्रा गरेको थियो। जहाँ रञ्जितले खेलेका थिएनन्।

सोही वर्षको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले ताजकिस्तान, प्यालेस्टाइनसँग खेल्यो। प्लेइङ सेटमै परेनन् रञ्जित। ‘एसियी छनोटको खेल चलिरहेको थियो। यमन, ताजकिस्तान, फिलिपिन्सजस्ता प्रतिस्पर्धी थिए। गोल खाइरहँदा नराम्रो त लाग्छ नै। तर के गर्नु, आफू बेञ्चमा थिएँ,’ उनले अनुभव सुनाए।

ब्याक टु प्लेइङ–११ : शिशिरपछिको वसन्तजस्तै

पछिल्लो तीन वर्षमा रञ्जितको राष्ट्रिय टिम यात्रा शिशिरजस्तो थियो। शिशिरपछि वसन्त आउनु नै थियो, आयो। २०१९ को सुरुदेखि नै उनी लगातार सुरुआती रोजाइमा पर्न थाले। प्रदर्शन उस्तै रोचक रह्यो।

भन्न सकिन्छ– राष्ट्रिय टिममा उनको दोस्रो इनिङ सुरु भयो। अहिले कमैमात्र नेपालको टिमबाहिर छन् उनी। कोभिड–१९ को संक्रमणमा परेर बस्नु पर्दाबाहेक उनले हरेक पटक राष्ट्रिय टिममा यात्रा गरेका छन्।

कुवेत, मलेसिया र चाइनिज ताइपेइसँग खेल्दा रञ्जित मैदानमा खुव रमाए। पूरा ९० मिनेट नै खेल्नेमध्ये थिए उनी। यसैबीच नेपालमा प्रशिक्षक योहान कालिन नियुक्त भएर आए। ‘योहान कालिन नेपालको प्रशिक्षक भएर आएपछि मैले धेरैभन्दा धेरै खेलमा अवसर पाएँ,’ उनी भन्छन्, ‘नयाँ नयाँ प्रशिक्षक हुँदाको धेरै फाइदा छन्। धेरै प्रशिक्षकको धेरै रणनीति हुन्छ। त्यसले हामीलाई धेरै सिक्न मौका दिन्छ।’

कालिनको प्रशिक्षणमा उनले विश्वकप छनोटमा चाइनिज ताइपेई, अष्ट्रेलिया र कुवेत (दोस्रो लेग)सँग विश्वकप छनोट खेल्न पाए। कुवेत (पहिलो लेग) र जोर्डनसँग भने खेल्न नपाए पनि दुई खेल खेले।

कुवेतविरुद्धको पहिलो खेलमा उनी मैदानमा थिएनन्। नेपालले ७–० गोलअन्तरको हार बेहोर्यो। दोस्रो खेलमा उनी थिए। त्यसमा नेपालले १–० गोलअन्तरको हार बेहोर्यो। उनी राष्ट्रिय टिममा हुनु र नहुनुले पछिल्लो समय नेपाली टिमको प्रदर्शनमा फरक पार्दै आएको छ। 

त्यस्तै, अष्ट्रिेलियाविरुद्धको खेल हेर्ने समर्थकले देखेका छन् उनको प्रदर्शन। उचाइमा अग्ला, तौलमा धेरै र प्राविधिक फुटबल खेल्ने अष्ट्रेलियाका खेलाडीबाट बल खोस्न सफल हुन्थे र आफ्ना खेलाडीलाई पास दिन्थे उनी।

प्रशिक्षक कालिन आफ्नै देश फर्किएपछि बालगोपाल महर्जन राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएर आए। उनले महर्जनको प्रशिक्षणमा नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित थ्री नेसन्स कपमा उकृष्ट प्रदर्शन गर्दै भर्खरै राष्ट्रिय टिमबाट उपाधि जितेका छन्। राष्ट्रिय टिमका १२ भन्दा बढी खेलमा टिममा समेटिएका छन् उनी। 

रञ्जितको घरेलु लिग र कप कस्तो रह्यो भनेर खोज्दै जाँदा २०७५ मा एउटा घटना भेटिन्छ, जसको सुरुआत लिग खेल्न सुरु गर्दाबाटै जोडिएको छ। ‘धेरैजसो मोफसलका खेल थ्री स्टारबाट खेलेँ। कतिपय प्रतियोगिता त लोकल टिमबाट पनि खेलेँ,’ उनले घरेलु खेलबारे बताए। उनले २०६६ मा थ्री स्टारबाट सहिद स्मारक ए डिभिजन लिगमा डेब्यू गरेका थिए। ०६७–६८ मा एपीएफ, ०६९ मा न्यु रोड टिम र ०७० मा मछिन्द्र हुँदै उनी ०७१ सालमा पुनः थ्री स्टारमा पुगे– नेसनल टिमका स्टार खेलाडी भएर।

थ्री स्टारमा उनले पाँच वर्षसम्म फुटबलको तिर्खा मेटे। उत्कृष्ट खेल देखाएर समर्थकको मन जिते। राष्ट्रिय टिममा पुगिसकेका उनको नाम फुटबल वृत्तमा निकै माथि पुगिसकेको थियो।

नामलाई अन्याय हुने खेल उनले खेलेनन्। त्यसैले त ‘राष्ट्रिय टिमको प्लेइङ सेटको वसन्त’ आएको थियो। उसो त पहिले लिग खेल्दा उनी ‘विंगर’ थिए। बच्चैदेखि गोल गर्ने कला उनमा थियो। डिफेन्डर बने पनि भएको कला कहाँ छुप्छ र? २०७५ सालको सहिद स्मारक लिगमा त्यही देखियो। उनी सर्वाधिक गोलकर्ता बने।

विदेशी खेलाडी ओलावाले अफिज र फरवार्ड भरत खवासको गोलसँग बराबरी गर्दै रञ्जितले समान पटक बललाई पोस्टमा छिराए। ‘लिगको हाइ स्कोरर डिफेन्डर बन्दा अर्कै खुसी हुँदो रहेछ। त्यो त वान अफ दि बेस्ट मोमेन्टमा पर्छ मेरो,’ उनले मोरङबाट फोनमा सुनाए।

डिफेन्डरभन्दा विंगर नै रहेको भए धेरै गोल गर्ने थिएँ होला भन्ने लाग्दैन? भन्छन्, ‘लाग्दैन, मौका पाएको बेलामा अहिले पनि गोल गरिरहेको छु। तर धेरै गोल गरौं जस्तो चाहिँ लाग्दैन। डिफेन्डिङ नै राम्रो गर्न सकुँ।’

हो, उनी सुरुवाती डिफेन्डर त थिएनन् नै। ‘स्कुलबाटै लेफ्ट विंगर थिएँ। ‘ए’ डिभिजन लिग डेब्यू पछि थ्रीस्टार र एपीएफबाट (२०६६–६८) मा लेफ्ट विंगर नै थिएँ। ०६९ मा जब एनआरटी पुगेँ त्यहाँ राजुकाजी शाक्य सरले विंगरभन्दा डिफेन्डर ठिक हुन्छ भनेर मलाई डिफेन्डर बनाउनु भयो,’ उनी आफ्नो मैदानको ट्रान्फरमेसन सुनाउँछन्। पछिल्लो सिजनको ए डिभिजन लिगमा उनले मछिन्द्र क्लबबाट उपाधि जितेका थिए।

एनएसएलको फ्रेन्चाइज क्लब विराटनगर सिटी फुटबल क्लबमा उनी मार्की खेलाडीका रुपमा चुनिएका थिए। क्लबले नै सार्वजनिक गरेको जानकारी अनुसार उनको पोजिसनबाट क्लबले कुनै गोलको सामना गरेन भने उनको विपरीत पक्षबाट नै क्लबले ८० प्रतिशत गोल बेहोरेको थियो।
त्यति मात्र होइन, उनी गोल गर्ने खलाडीमा समेत रहे। दुई गोल गरे, बाँकी प्रतियोगिताको पनि तथ्यांक हेर्ने हो भने सायद यस्तै देखिन्छ।

त्यसअघि मछिन्द्र क्लबमा रहँदा पनि क्लबले गोल सामना गर्ने औषत समय १५७  मिनेट थियो। यो एक खेलमा एक गोलभन्दा कम हो। त्यस्तै क्लबबाट सर्वाधिक समय मैदानमा रहने खेलाडी पनि रञ्जित नै थिए। जहाँ उनले दुई गोल गरेका थिए।

उनले लिग अवधिभर एक हजार २५० मिनेट मैदानमा बिताएका थिए। गोलकिपर विशाल श्रेष्ठले पनि उनीभन्दा चार मिनेट कम समय खेले।
‘कोचको आँखामा परिरहँदा निकै प्रेरणा मिल्छ। अझै धेरै उर्जा बढेर आउने हुन्छ,’ उनले भने, ‘जोस जाँगर बेढेर आउँछ।’

उनको खेल करियरमा धेरै उतारचढाव छ। त्यसबीच पिक अवस्था चाहिँ कहिले? उनी भन्छन्, ‘अहिले पनि म पिकमै छु जस्तो लाग्छ। थ्रीस्टारबाट ०७१ देखि मैले अलिकति पिक अप लिएको जस्तो लाग्छ।’

कोकाकोला कप जितेपछि ट्रफी उचाल्दै रञ्जित धिमाल

त्यसो त झापा, मोरङ, धनकुटा फुटबलका लागि निकै उर्वर ठाउँ मानिन्छन्। मोरङको एउटा गाउँमा सानैदेखि फुटबलमा चाख र लगाव रञ्जितमा पनि थियो। स्कुले जीवनमा फुटबल खेल्न निकै चासो थियो।

उनका गाउँका दाइहरु फुटबलमा रुचि राख्ने धेरै थिएँ। विदेश जाने भन्दा फुटबल खेल्ने धेरै थिए। ‘मैले करियर सुरु गर्ने बेलामा दाइ विजय धिमालले ए डिभिजन खेल्नु भएको थियो। त्यसपछि मैले पनि थालेँ,’ रञ्जित बाल्यकालको प्रेरणा सुनाउँछन्।

‘सुरुका कोकाकोला कप हुन्छ नि! राधिका माविबाट त्यो खेलेँ। विजेता बन्यौँ हामी। त्यसपछि कोलकत्ता भ्रमणको अवसर पाएका थियौँ,’ उनले १२ वर्षअघिको फुटबल सम्झना सनाए।

उनले त्यसपछि मोरङबाट प्रतिनिधित्व गर्दै अञ्चलस्तरीय खेलेका थिए। त्यसपछि पूर्वाञ्चलबाट पहिलो ब्रिटिस गोर्खा कप खेले। त्यो कपमा उनले दुई गोल गरे। त्यो गोलपछि त हो– उनले थ्रीस्टारको निम्तो पाएको र ए डिभिजन लिग खेलेको।

करिअर सफल कि असफल ?

‘फुटबल खेल्ने धोको। त्यसपछि लिग खेल्ने सपना। राष्ट्रिय टिमबाट खेल्ने हुटहुटी। अनि अन्तर्राष्ट्यिर प्रतियोगिता जित्ने भोक।’ खेलमा लागेपछि छिप्पिँदै गएको उनको इच्छा थिए यी। ती सबै पूरा हुँदै गए। एकपटक प्लेइङ सेटमा पर्न संघर्ष थियो। आज त्यो संघर्ष छैन। टिमका महत्वपूर्ण सदस्य छन् रञ्जित। नेपाली टिमबाट उनले गत वर्षको चैतमा सम्पन्न थ्री नेसन्स कप पनि जिते। ‘सन्तुष्ट छु। निकै गर्व लाग्छ। राष्ट्रको प्रतिनिधित्व गरेको छु,’ उनले भने।

अब कति समय खेल्न सकिएला? ‘ठ्याक्कै थाहा छैन। धेरै खेल्ने सोच छ। पाँच–छ वर्ष राष्ट्रिय टिममा खेल्ने सोच छ। भाग्य र शरीरले कति साथ दिन्छ,’ उनी भन्छन्,  ‘राष्ट्रिय टिम नभए पनि नेपाली फुटबलमा रमाइरहने सोच छ।’ अनि खेल जीवनपछि? ‘खासै विचार नै गरेको छैन। अहिले खेलुन्जेल खेलौँ भन्ने छ। मेरो सोच र योजना नै फुटबलमात्र हो। अहिले अरु गरेको पनि केही छैन, फुटबलमै राम्रो गर्ने सोच छ।’

प्रकाशित: Jun 03, 2021| 09:01 बिहीबार, जेठ २०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।