बिहीबार, वैशाख १८, २०८२

अभ्यासमा जम्दै 'बी' डिभिजन क्लब, कुनको तयारी कस्तो ?

बीचमा कोभिड–१९ को संक्रमणका कारण केही खेलाडी यत्रतत्र छरिएपछि केही क्लबले नयाँ खेलाडी अनुबन्ध गर्ने प्रक्रिया पनि अघि बढाएका छन्।
 |  आइतबार, माघ २५, २०७७

विनय सापकोटा

विनय सापकोटा

आइतबार, माघ २५, २०७७

काठमाडौं– कोरोना महामारीले प्रभावित बनेको सहिद स्मारक बी डिभिजन लिग आउँदो फागुन ११ गतेबाट पुनः सुरु हुँदैछ। गत चैत ५ गतेबाट रोकिएको लिगले ११ महिनापछि सञ्चालन हुने मौका पाएको हो।

यसकारण बी डिभिजनका १२ टिमले अभ्यास सुरु गरेका छन्। महामारीका कारण लिग प्रभावित बनेपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले पाँच खेलाडी थप राख्न पाउने अनुमति पनि दिएको छ।

बीचमा कोभिड–१९ को संक्रमणका कारण केही खेलाडी यत्रतत्र छरिएपछि केही क्लबले नयाँ खेलाडी अनुबन्ध गर्ने प्रक्रिया पनि अघि बढाएका छन्।

कतिपय टिमले आफ्नो कमजोर पक्ष बलियो बनाउन खेलाडी खोज्ने प्रक्रियामा छन् भने कतिपय खेलाडी खेलबाटै बाहिरिने अवस्था आएकाले क्लबले नयाँ खेलाडी खोजी गरिरहेका छन्।

‘एन्फाले नियमावाली संशोधन गरेर महामारीका कारण खेलाडी थप्ने सुविधा दिएको छ। खेलाडी थप्दा टिमको कमजोर पक्ष बलियो हुन्छ। हामी पनि थप गर्ने विचारमा छौं,’ मध्यपुर क्लबका अध्यक्षसमेत रहेका एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले भने।

Metro Mart
worldlink

मुख्य खेलाडी खेलाउन नपाएका कारण लिगमा कमजोर प्रदर्शन भए पनि अब राम्रो गर्ने सिंहको भनाइ छ। क्लबमा फिटनेसको समस्या थोरै मात्रामा भए पनि आउने दिनमा त्यो समस्या समाधान हुने उपाध्यक्ष सिंह बताउँछन्। प्रतियोगिताको छैटौं चरण चल्दै गर्दा रोकिएपछि अब सबै क्लबका आधा खेल बाँकी छन् भने आधा सकिएका छन्।

अंक तालिका

६ खेलमा सहभागी सातदोबाटो क्लब १६ अंकका साथ शीर्षस्थानमा छ। त्यस्तै, एक खेल कम खेलेर १३ अंक जोडेको खुमलटार दोस्रो स्थानमा छ। जितका हिसाबले यी दुवै क्लब उस्तै अवस्थामा छन्। दुवै टिमले एक–एक बराबरी खेलेका छन् र बाँकी सबैमा जित निकालेका छन्।

त्यस्तै, बाँसबारी टिम पाँच खेलबाट एक हारसँगै ११ अंकका साथ तेस्रो स्थानमा छ। यता टुसालले दुई जित, दुई बराबरी र एक हारका साथ चौथो स्थानमा ठाउँ कब्जा गरेको छ। नयाँ बस्ती क्लबले तीन जित र दुई हार बेहोरेको छ।

उसले पछिल्लो लिगमा गरेको प्रदर्शनका आधारमा एक अंक घटाइएको छ भने बाँसबारीको पनि एक अंक कम गरिएको छ। नयाँ बस्तीका साथै ब्वाइज युनियन पनि आठ अंकका साथ छैटौं स्थानमा छ। उसले ६ खेलमा दुई जित, दुई बराबरी र दुई पराजय भोगेको छ।

सातदोबाटो लक्ष्यबाट विचलित हुँदैन : प्रशिक्षक श्रेष्ठ

सातदोबाटो युथ क्लबका प्रशिक्षक हुन् सनोज श्रेष्ठ। बाँकी पाँच खेलमा शतप्रतिशत जित निकाल्ने दाउमा छन् उनी। ‘हामी उपाधि दावेदार नै हो। लिगको टपमा पनि हामी नै छौं। अब पाँच खेल बाँकी छ। सबै खेल महत्वपूर्ण नै छन्। लक्ष्यमा विचलित हुँदैनौँ हामी,’ श्रेष्ठ भन्छन्।

एन्फाले फागुन ११ गतेबाट लिग हुने घोषणा गरेसँगै सातदोबाटोले माघ दुई गते खेलाडी क्लबमा बोलाएको थियो। त्यसपछि खेलाडीको पीसीआर टेस्ट गरेर सबै नेगेटिभ आएपछि अभ्यास गरिरहेको छ।

प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘लगनखेलको आर्मी ब्यारेकसँगै रहेको बुद्धिविकास मण्डलमा अभ्यास गरिरहेका छौं। दैनिक बिहान ९ बजेबाट दुई घण्टा गर्छौं। अभ्यास राम्रो भइरहेको छ। अब लिग फर्किंदासम्म डेढ महिनाको तयारी हुन्छ।’

क्लबमा काठमाडौंबाहेक मोरङका खेलाडी धेरै छन्। पूर्वका खेलाडीले उपत्यका आउनुभन्दा अघि पनि खेलमा सहभागी भएकाले फिटनेस समस्या नरहेको श्रेष्ठको दाबी छ। एन्फाले खेलाडी थप्न अनुमति दिए पनि क्लबले थपेको छैन। प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘क्लबको आर्थिक अवस्था सबल छैन। त्यसलाई पनि विचार गर्नुपरो नि !’

तर, अबको खेल कस्तो हुने हो भन्ने चिन्ता श्रेष्ठलाई छ। भन्छन्, ‘हामी पहिले जितको लयमा थियौँ। तर पुनः ब्याक टु फर्म हुँदा गाह्रो त पर्छ नै। गाह्रो हाम्रो क्लबलाई मात्र होइन अरु खेलाडीलाई पनि छ।’

लकडाउन अवधिभर पनि क्लबमा खेलाडी र प्रशिक्षकको सम्पर्क राम्रो भएका कारण खेल भावना विचलित नभएको श्रेष्ठको तर्क छ।

खुमलटार : इन्ज्युरीका कारण खेलाडी थप्ने योजना छ

खुमलटार युथ क्लबका प्रशिक्षक राजेश राईले पुस २५ गतेबाट खुमलटारका खेलाडीलाई बुद्धिविकास मण्डलको मैदानमा अभ्यास गराइरहेका छन्। उनले भने, ‘लकडाउनको असर अझैसम्म छ। त्यसैले फिजिकल पिरियडलाई पछि धकेलेर फिटनेस अभ्यास भइरहेको छ। डेढ महिनामा खेलाडीलाई फिट बनाएर फर्ममा ल्याउन गाह्रो चाहिँ छैन।’

उनको चिन्ताचाहिँ खेलाडीको इन्ज्युरीलाई लिएर छ। भन्छन्, ‘लकडाउनमा फुटसल खेलेर इन्ज्युरी भएका खेलाडी पनि छन्। मेन खेलाडी इन्ज्युरी हुनु चाहिँ हाम्रो लागि समस्या हो। अरु केही समस्या छैन।’

त्यसैले उनी कमजोर पाटोलाई बलियो बनाउनका लागि खेलाडी थप्ने योजनामा छन्। ‘ए’ डिभिजन खेलेका खेलाडी ल्याउन सकियो भने राम्रो हुन्छ। यसमा व्यवस्थापन पक्ष पनि सकारात्मक छ,’ उनले भने, ‘हामीले मागेको क्लबले नाइँ भनेको छैन।’

गत वर्ष लिग बीचमै रोकिँदाको अवस्थासम्म खुमलटार अपराजित थियो। तर उसलाई यो लय कायम राख्न गाह्रो छ। प्रशिक्षक राई भन्छन्, ‘त्यतिबेला टिमले एउटा लय पक्रिसकेको थियो। त्यही लय कायम राख्न निकै गाह्रो छ।’ तर फेरि एउटा गतिमा आइसकेपछि गाह्रो नहुने राईको विश्वास छ।

नयाँ बस्ती : उपाधि जित्न गाह्रो छैन

नयाँ बस्ती क्लबका व्यवस्थापक बालकृष्ण भुजेल उपाधि जित्न गाह्रो नपर्ने बताउँछन्। लिगको शीर्षस्थानमा रहेका टिमसँग खेलिसकेको र तुलनात्मक रुपमा कमजोर टिमसँगका गेम बाँकी रहेकाले उपाधि नगुमाउने हिसाबले नै खेलमा प्रस्तुत हुने उनले बताए।

भन्छन्, ‘यो भन्दा अघि पनि सबैले भनेकै हो– सबैलाई चुनौति दिने भनेको नयाँ बस्ती नै हो। शीर्ष दुई क्लबसँगको खेल सकिएकाले अबको नतिजा राम्रो नै आउला भन्ने छ।’

अबको खेलमा नयाँबस्तीले मध्यपुरलाई चुनौती दिनेछ। त्यो खेलमा पुछारमा रहेको मध्यपुरलाई हराउँदै उपाधि दावेदारी प्रस्तुत गर्ने भुजेल बताउँछन्। नयाँबस्ती क्लबले माघ ७ गतेबाट अभ्यास सुरु गरिसकेको छ। एयरपोर्ट साइडको चौरमा बिहान साढे दुई घण्टा नयाँ बस्तीका खेलाडीले अभ्यास गरिरहेका छन्।

अब अभ्यासमा २–३ जना खेलाडीमात्र आउन बाँकी छन्। व्यवस्थापक भुजेल भन्छन्, ‘खेलाडी सबै फ्रेस, नयाँ ऊर्जाका साथ आएका छन्। अब प्रतियोगिताअघि कोरोना टेस्ट गराएर लिगमा सहभागी गराउँछौं।’

क्लबमा मोफसलका ११–१२ जना खेलाडी छन्। उनीहरु क्लबकै होस्टेलमा बस्छन्। ‘बाहिरका खेलाडीले गेम खेलेर आएकाले फिट छन्। यसबारे क्लबको फिजियोले पनि थप जाँच गर्नेछन्। अभ्यास सुरु गरिसकेकाले नखेलेका लागि पनि अभ्यास चलिरहेको छ त्यसैले गाह्रो नपर्ला,’ उनले भने। तर टिमको कमजोर पाटोलाई फिल गर्नका लागि दुई खेलाडी थप्ने विचारमा रहेको व्यवस्थापक भुलेज बताउँछन्।

टुसाल : डिफेन्स राम्रो बनाउँछौं

यही माघ १८ गतेबाट अभ्यास सुरु गरेको टुसालका प्रशिक्षक नरेश श्रेष्ठले आफ्नो क्लब एभरेज भए पनि उपाधिको होडबाट बाहिर पुगिनसकेको बताए। आउँदो गेम कस्तो हुने हो, त्यो कुराको यकिन गर्न नसकेकाले तोकेर भन्न नसकिने श्रेष्ठ बताउँछन्। 

उनले भने, ‘तर, टुसालको बलिया टिम सातदोबाटो र खुमलटारसँगको खेल सकियो। बाँसबारी र लिगका पछिल्लो स्थानमा रहेका टिमसँग बाँकी छ, त्यसैले केही आशा बाँकी छ।’

टुसालमा उपत्यकाबाहिरका १६ खेलाडी छन्। उनीहरुमा फिटनेसको समस्या नभएको श्रेष्ठ बताउँछन्। उनले भने, ‘एकजना खेलाडीको चाहिँ ह्यामस्ट्रिङ इन्ज्युरी देखिएको छ।’ टुसालका केही खेलाडीले मैदान छोड्ने अवस्था आएपछि उसले डिफेन्स राम्रो बनाउने सोच बनाएको छ। प्रशिक्षक श्रेठ भन्छन्, ‘डिफेन्समा चाहिँ दुईजना थप्ने विचारमा छु। क्लबसँग कुरा भइरहेको छ।’

खेलाडी लाहुरे भिड्न जाने भएपछि उसका केही खेलाडी घटेका छन्। पछिल्ला खेलमा डिफेन्समा केही समस्या देखिएकाले उसले एउटा खेल गुमाइसकेको छ भने दुई जितसहित र दुई बराबरी खेलेको छ।

ब्वाइज युनियन : खेलाडी लयमा छन्

ब्वाइज युनियनका प्रशिक्षक रञ्जित सिंह आफ्ना सबै खेलाडी लयमा रहेको बताउँछन्। यसकारण क्लबले अभ्यास केही पछिबाट मात्र थालेको हो।

देशका विभिन्न ठाउँमा भइरहेको स्थानीय प्रतियोगितामा खेलाडी सहभागी बनेका कारण क्लबले खेलाडी बोलाउन ढिलो गरेको हो। प्रशिक्षक सिंह भन्छन्, ‘माघ २५ गते खेलाडी काठमाडौंमा आउँछन्। अनि कोरोना टेस्ट गरेर नेगेटिभ आएमा अभ्यास गराउँछौं। हाम्रा धेरै खेलाडी धरान, मोरङ र रुपन्देहीबाट नै छन्।’

खेलाडी गेममा भएकाले फिटनेसको समस्या नरहेको र लय कायम रहने प्रशिक्षक सिंहको विश्वास छ। ‘हामी पाँचौं स्थानमा छौं। माथिका तीन टिमले एक–दुई खेल गुमाएमा हाम्रो दावेदारी रहनेछ,’ सिंहले भने, ‘हामी पनि उपाधि दौडमै छौं।’

त्यस्तै ब्वाइज युनियनले केही खेलाडी थप गरेर खेलाउने भएको छ। पछिल्लो वर्ष लिग नखेलेका खेलाडीलाई टिममा अनुबन्ध गर्ने उसको योजना छ।

प्रकाशित: Feb 07, 2021| 05:49 आइतबार, माघ २५, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।