क्रिकेटमा लागेको एक दशकमा सन्दीप रजालीले धेरै पदक त पाउन सकेका छैनन्। तर यसमा उनको लगाव उच्च छ। क्रिकेटमै भविष्य देखेका सन्दीप यसबाटै सान, मान र सम्मान मिल्नेमा ढुक्क छन्। त्यसैले त उनकाे सपना-जपना क्रिकेटमै छ।
काठमाडाैं- गुल्मी स्थायी घर भएका सन्दीप रजाली भारत उत्तर प्रदेशको देहुरियामा बस्छन्। मातृभूमि कसलाई मन नपर्ला र? भन्छन्, ‘मलाई नेपालका डाँडाकाँडा र पहाड खुब मन पर्छन्। नेपालमा प्रदूषण पनि कम छ।’
सन्दीपले यहाँ आएका बेला पशुपति र चन्द्रागिरी गएको प्रसंग सुनाए।
‘मनपर्ने ठाउँचाहिँ?’
‘पोखरा, मलाई फेवातालमा डुंगा चलाउँदा निकै रमाइलो लाग्छ।’
सन्दीप भ्रमणका पारखी त होइनन्। उनी त जीवनभर क्रिकेटमा रमाउन चाहने खेलाडी हुन्। उनले क्रिकेटबाहेक केही सोचेका छैनन्। ‘नेपालमा क्रकेट खेल्दाको आनन्द अर्कै हुन्छ, दिमाग फ्रेस हुन्छ।’
उनले देहुरिया क्रिकेट एकेडेमीमा क्रिकेट सिकिरहेका छन््। स्थानीय प्रतियोगितामा खेल्छन्। खेलकै लागि नेपाल आउँछन्। ‘म नेपालमा थोरै समय रहन्छु। प्रतियोगिताका बेला आउँछु र फर्किहाल्छु’, उनले भने।
२६ वर्षीय सन्दीपको क्रिकेट यात्रा २०१० देखि सुरु भएको हो।
उनले यस वर्ष पहिलोपटक प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका हुन्। प्रतियोगितामा उनको प्रदर्शन सम्झनलायक थियो।
पीएम कपमा उनले लुम्बिनी प्रदेशबाट खेलेका थिए। अन्तिम प्रतिस्पर्धामा बाग्मतीसँग बराबरी खेलेपछि लुम्बिनी र सन्दीप दुवैको यात्रा टुंगिएको थियो। तर देशले नयाँ खेलाडी चिन्ने मौका आयो।
लुम्बिनीको अन्तिम खेलपछि कप्तान कृष्ण कार्कीले भनेका थिए, ‘हामीले प्रतियोगितामा सन्दीपजस्ता नयाँ खेलाडी चिनाउन पायौं।’
साँच्चै सन्दीपले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे। पहिलो खेलमै म्यान अफ दि म्याच बन्नु यसको प्रमाण हो।
सन्दीप भन्छन्, ‘पीएम कप मेरो डेब्यू प्रतियोगिता हो। अघिल्लो वर्षको छनोट खेलमा मेरो प्रदर्शन राम्रो थिएन। यस वर्ष राम्रो गरेकाले पीएम कपसम्म पुगेको हुँ।’
सन्दीपले चार वर्षयता पीएम कपको छनोट खेलिरहेका छन्। उनले पोखरा प्रिमियर लिग, धनगढी प्रिमियर लिग जस्ता प्रतियोगिता खेलिसकेका छन्।
... अनि क्रिकेटमा लागें
सन्दीपलाई ५/६ कक्षामा पढ्दादेखि नै टेनिस र क्रिकेटमा खुब रुचि थियो। एक दिन उनका दाजु अजयले सन्दीपले साथीभाइसँग क्रिकेट खेलिरहेको देखेछन्। त्यसबाट दाइ निकै प्रभावित भएको सन्दीप स्मरण गर्छन्।
उनी भन्छन्, ‘त्यस दिन क्रिकेटमा राम्रो प्रदर्शन गरेको थिएँ। अनि दाइले देहुरिया क्रिकेट एकेडेमीमा भर्ना गराइदिनुभयो।’
सन्दीपका गुरु हुन् निरजा बाजपेयी। जसले सन्दीपलाई ब्याट र बल पक्रन सिकाए, बलिङको ज्ञान दिए।
‘मभित्र प्राविधिक ज्ञान भित्रिनुमा उहाँकै देन छ,’ सन्दीप भन्छन्, ‘खेलमा विकेट पर्खेर लामो समयसम्म टिक्न र बल बुझेर खेल्न सिकाउने गुरु बाजपेयी नै हुन्।’
ब्याट्सम्यान नै कसरी?
सन्दीपलाई पहिलेदेखि नै ब्याट्सम्यान बन्ने इच्छा थियो। तर एकेडेमीमा बलरको प्रस्ताव गरियो। बलिङ गर्नु उनका लागि सजिलो थिएन। एक दिन गुरुसँग भने, ‘म ब्याटिङमा राम्रो गर्न चाहन्छु।’
गुरुबाट सहमति पाए। सन्दीप फेरि ब्याट्सम्यान बने।
किन त? सन्दीप भन्छन्, ‘क्रिकेटमा अन्य विकल्प पनि हुन्छन्, जस्तै– विकेट किपर। तर विकेटकिपर ११ जनाको टिममा एक जना मात्र हुन्छ।
त्यसका लागि झन् कडा प्रतिस्पर्धा हुन्छ। ब्याट्सम्यान त ६ जना हुन्छन् नि! यस कारण ब्याट्सम्यान बनें।’
सन्दीपको बुझाइमा नेपाली क्रिकेट
भारत र नेपालको क्रिकेट संस्कृतिमा आकाशपातालको भिन्नता रहेको सन्दीपको अनुभव छ।
भारतमा हरेक खेल प्रतिस्पर्धाकै लागि खेलिन्छ। विश्व क्रिकेटमा भारत निकै माथि छ। त्यसैले प्रतिस्पर्धा पनि व्यावसायिक र प्राविधिक हुन्छन्। नेपाली क्रिकेट भने उचाइ लिने क्रममा छ।
सन्दीप भन्छन्, ‘नेपालमा स्पिनर केही मात्रामा छन्। नेपाली क्रिकेटको मिडिल अडरमा सिंगल निकाल्न समस्या हुन्छ।’ जो ब्याट्सम्यान मिडिल अर्डरमा खेल्छ उसका लागि सिंगल धेरै महत्त्वपूर्ण हुने उनको बुझाइ छ।
उनी भन्छन्, ‘गेम चलाउन हामी लामो हिटमा जाँदैनौं। सिंगलमै केन्द्रित हुन्छौं। मिडिल अर्डरमा यस्तो हुनु महत्त्वपूर्ण कुरा हो।’
नेपाली खेलाडीमा यही पक्ष खड्किएको उनी बताउँछन्।
भारतको राष्ट्रिय टिममा पुग्न सजिलो छैन। भारतीय क्रिकेटमा कडा प्रतिस्पर्धा रहेको सन्दीप बताउँछन्। उनी भन्छन्, ‘निरन्तर प्रयास गर्ने व्यक्ति मात्र राष्ट्रिय टिममा पुग्न सक्छन्।’
भारत मात्र होइन, कुनै पनि मुलुकको राष्ट्यि टिममा पुग्न कडा प्रतिस्पर्धा गर्नुपर्नेे उनी बताउँछन्।
सबै खेलाडीको यो चाहना हुन्छ– राष्ट्रिय टिमबाट खेलौं। ‘मलाई पनि नेपालको प्रतिनिधित्व गर्ने धोको छ,’ उनी भन्छन्।
अब उनी अभ्यास बढाउने योजनामा छन्। उनी भन्छन्, ‘अहिलेकै गतिमा त राष्ट्यि टिमसम्म पुग्न गाह्रो रहेछ। अझै मेहनत गर्नुपर्छ।’
खुसी क्रिकेटमै
खेलमा लागेर बाँच्न गाह्रो छ। सधैं आम्दानी हुँदैन। पैसाले मात्र मन खुसी हुन नसक्ने उनी बताउँछन्। भन्छन्, ‘जीवन निर्वाह त जसले पनि गरेकै हुन्छन् नि! खुसीपूर्वक बाँच्नुको मज्जा नै विशेष हुन्छ।’ त्यस्तो खुसी क्रिकेट खेल्दा पाइने उनको अनुभव छ।
खेलमा नराम्रो परिणाम आउँदा दुःख लाग्दैन? सन्दीप भन्छन्, ‘झन् राम्रो गर्छु भनेर हौसला र ऊर्जा थपिन्छ।’
राष्ट्रिय टिममा पुग्न नसक्दा बीचमै खेल छोड्नुपर्ने अवस्था आउन सक्छ। यस्तो बेला परिवारको जिम्मेवारी पनि थपिएको हुन्छ। अनि आम्दानी गर्नु पर्दैन? सन्दीप भन्छन्, ‘त्यति बेला खेल्न गाह्रो होला तर मलाई पैसाको भन्दा खेलको माया छ।’
क्रिकेट नखेले आफू खुसी हुन नसक्ने उनी बताउँछन्। भन्छन्, ‘जीवनमा खुसी नभए के काम? क्रिकेटमै खुसी भएपछि अन्य सबै कुराको मोह मर्दो रहेछ।’ त्यसैले क्रिकेटमा लागेर केही गुमाएजस्तो नलाग्ने उनी बताउँछन्।
समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातक सन्दीपलाई जागिर खाएर पैसा कमाउने चाहना छैन। उनी भन्छन्, ‘पढाइअनुसारको जागिर खानुपर्ने हो, तर म फरक छु। मलाई क्रिकेटसँग धेरै प्यार छ। त्यसैले म क्रिकेटबाहेक अरू काम नै गर्दिनँ।’
खेल जीवनले जवानीमै संन्यास खोज्छ। उनले पनि यसबारे सोचेका छन्। आफू बढीमा अब ८/९ वर्ष खेलमा टिक्न सकिने उनी बताउँछन्।
त्यसपछिको यात्रा?
सन्दीप भन्छन्, ‘क्रिकेटबाट बाहिर जाने सोचाइ छैन। खेलजीवनको अन्त्यपछि एकेडेमी चलाउन चाहन्छु। त्रिकेटका थप प्रतिभाशाली खेलाडी उत्पादनमा लाग्ने प्रयास गर्नेछु।’
क्रिकेट एकेडेमी पनि भारतमै चलाउने हो? उनी भन्छन्, ‘हैन हैन नेपालको भैरहवामा चलाउनेछु।’
उनी नेपालका एकेडेमीबाट सन्तुष्ट छैनन्। यहाँका एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको अभ्यास गराउन नसकेको उनको भनाइ छ।
नेपालले अभ्यास गर्दै आएको कम ओभरको क्रिकेटमा भने भैहरवाले राम्रो खेलाडी उत्पादन गरिरहेको छ।
सन्दीप भन्छन्, ‘यसमा एकेडेमीको हात छ। भैरहवामा मैदान पनि छ।’
अग्रजबाट धेरै लाभ लिन सकिन्छ
सन्दीपका अनुसार देहुरियाका खेलाडी धेरै ट्यालेन्ट छन्। अग्रज खेलाडीमा पनि क्रिकेट खेल्नेलाई सम्मान गर्ने संस्कृति छ।
एकेडेमीमा सिनियरले जुनियरलाई सम्मानसाथ सिकाउँछन्। उनी भन्छन्, ‘त्यहाँ खेलाडीको माइन्ड सेटअप सधैं उच्च फर्ममा देख्न पाइन्छ। तर नेपाली खेलाडीमा कम छ।’
नेपाली खेलाडीले भारतमा गएर सहज रूपमा खेल सिक्ने उनी बताउँछन्।
‘अफ सिजनका बेला राम्रो खेलाडीसँग समय बिताउनु फाइदाजनक हुन्छ,’ सन्दीप भन्छन्, ‘राम्रो एकेडेमी र राम्रा खेलाडीसँग जोडिन सके खेल कौशलबारे थप जानकारी हासिल गर्न सकिन्छ।’
भारतका एकेडेमीले राम्रा खेलाडीलाई स्कलरसिप दिने गरेका छन्। त्यस्ता खेलाडीलाई विशेष रुपमा प्रशिक्षण दिइन्छ।
सन्दीप भन्छन्, ‘तर यो सुविधाबाट धेरै नेपाली खेलाडीले फाइदा लिन सकेका छैनन्। यसरी सिकेमा नेपाली क्रिकेटमा सहयोग पुग्छ।’
त्यसो त अनभुवी खेलाडीसँग जोडिन भारतमै जानु नपर्ने उनको भनाइ छ। सन्दीप भन्छन्, ‘यहाँ पनि ज्ञानेन्द्र (मल्ल) दाइ, पारस (खड्का) दाइ हुनुहुन्छ। उहाँसँग जोडिन सके परिपक्व खेलाडी बन्न सकिन्छ।’
अनुभवी खेलाडीबाट क्रिकेटको प्राविधिक पक्षका धेरै ज्ञान लिन सकिन्छ। यसको उदाहरण राष्ट्रिय टिममा रहेका सोमपाल कामी छन्।
भारतमा क्रिकेट सिकेर आएका उनले केही विदेशी प्रतियोगिता खेल्ने मौका पाइसके।
सुनिल धमलाले पनि लखनउमा क्रिकेट सिकेका हुन्। घरेलु खेलमा धमला टिकेर खेल्ने खेलाडीमा गनिन्छन्।
भारतमा ठूलो ओभरका खेल धेरै हुन्छन। नेपालमा २० ओभरका खेल धेरै हुन्छन्। नेपालमा धेरै ओभरका खेल असाध्यै कम हुन्छन्।
धेरै ओभर खेल्न बानी परेका खेलाडीले मात्र मैदानमा टिकेर खेल्न सक्ने सन्दीप बताउँछन्।
उनी भन्छन्, ‘भारतको विकेटमा लामो समय टिकेर खेल्न सकिन्छ। साथै रातो बलको खेल धेरै हुन्छ। नेपालमा सेतो बलको खेल धेरै हुन्छ। नेपालमा पनि रातो बलको खेल धेरै हुनुपर्छ।’
पीएम कपको अनुभव
पीएम कपमा भाग लिएपछि क्रिकेट खेलेर थप उचाइमा पुग्ने हौसला थपिएको सन्दीपले बताए। उनलाई थाहा छ– नेपाली क्रिकेट अहिले महत्त्वपूर्ण अवस्थामा छ। एकातर्फ सिनियर र अर्कातर्फ युवा खेलाडी छन्।
लामो समयदेखि तल्ला तहमा खेल नभएकाले नयाँ खेलाडी जन्मन सकेका छैनन्। यो भनेको खेलाडीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने उत्कृष्ट अवसर हो।
आफूले पीएम कममा त्यसको फाइदा लिएको सन्दीप बताउँछन्।
उनी भन्छन्, ‘मेरा लागि पीएम कप धेरै महत्त्वपूर्ण रह्यो। राम्रो खेल्ने प्रयास गरें। सुरुका दुई खेल सोचेजस्तै भए।’ उनी पीएम कपको डेब्यू खेलमै ८३ रन बनाएर प्लेयर अफ दि म्याच बने।
जहाँ उनले प्रदेश २ विरुद्ध ११ बाउन्ड्री प्रहार गरेका थिए। दोस्रो खेलमा उनी अर्धशतक नजिक पुगेका थिए। विभागीय टिम पुलिसका बलरसामु ४० रन बनाउनु प्रादेशिक टिमका लागि चानुचुने प्रयास थिएन।
तर पछिल्ला दुई खेलमा भने नतिजा राम्रो आउन सकेन। किन त? सन्दीप भन्छन्, ‘कम ओभरमा खेल जित्नुपर्ने थियो। लामो सट खेल्नै पथ्र्यो। त्यही क्रममा आउट भएँ।’
अन्तिम खेलमा बाग्मतीलाई ४० ओभरमा समेट्न सके मात्र लुम्बिनीले सेमिफाइनल यात्रा तय गर्ने अवस्था थियो। त्यही क्रममा उनी आउट भएका हुन्।
लुम्बिनीले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मतीसँग म्याच टाई गरेको थियो।
‘क्रिकेटमा हरेक बल महत्त्वपूर्ण हुन्छ। त्यही बुझ्न चुक्दा बराबरीमा अड्कियाैं’, सन्दीपले भने।