– ओडीआई वरीयतालाई यथावत् राख्ने/आईसीसी वरीयता सुधार गर्ने, क्रिकेट चलायमान बनाउन ग्रामीण स्तरबाट राष्ट्रिय टिमसँगको संरचना निर्धारण गर्ने, यू–१९ र महिला राष्ट्रिय क्रिकेट टिममा कन्सल्ट्यान्टको रुपमा रहने ।
यही जनवरी १ बाट राष्ट्रिय क्रिकेट पुरुष टिम सम्हालेका प्रशिक्षक डेभ वाटमोरलाई नेपाल क्रिकेट संघ (क्यान)ले दिएका एक वर्षे म्याडेट हुन् यी। उनले यसैलाई केन्द्रमा राखेर काम गर्नुपर्ने छ। युवा र अनुभवी खेलाडीले भरिएको नेपाली क्रिकेटलाई मिलाएर एक दिवसीय यात्रामा निस्कनु भर्खरै अनुबन्ध भएका प्रशिक्षकलाई पक्कै पनि चुनौतीपूर्ण छ।
त्यसैले उनी भन्छन्, ‘मलाई चुनौती स्वीकार गर्न मन पर्छ। यो चुनौती स्वीकार गरेकोमा खुसी छु। र, मनमा उत्साह पनि उत्तिकै छ।’
क्यानले ‘हेड कोच’का लागि प्रशिक्षकको आवदेन खुलाउँदा आवेदन दिने ७१ जनामा उनी पनि थिए। तीन चरणको छनोट पार गर्दै वाटमोर प्रशिक्षक बनेका हुन्।
चुनौती स्वीकार गर्ने प्रेरणाले गर्दा नेपाल प्राथमिकतामा परेको र हेड कोचका लागि आवेदन दिएको वाटमोर बताउँछन्। दुई वर्षअघि नेपाल आएका वाटमोर नेपाली क्रिकेटको सम्भावना देखेर नै फेरि आएका हुन्।
क्वारेन्टिन अवधि सकेर हिजो बिहीबारबाट खेलाडीसँग जोडिएका अस्ट्रेलियन प्रशिक्षक नेपाली टिमलाई नजिकबाट हेरिरहेको बताउँछन्। त्यही अनुभवका साथ भन्छन्, ‘नेपाली टिमसँग काम गर्नु सजिलो भने छैन।’
नेपाली टिमले पछिल्लो समय एसिया कपको पूर्वी छनोटमा लज्जास्पद हार बेहोर्दा उनी सिंगापुरका प्रशिक्षक थिए। उनले त्यहाँ नेपाली टिमलाई राम्रोसँग चिन्ने अवसर पाए।
नेपाली टिमले सिंगारपुरविरुद्ध पनि खेलेको थियो। त्यो प्रतियोगितालाई लिएर उनी भन्छन्, ‘इस्टर्न रिजनको खेल हेरेको थिएँ टी–२०। नेपालले ठिकै प्रदर्शन गरेको थियो।’
विश्वकप जिताएका प्रशिक्षकलाई एसोसिएट राष्ट्रका खेलाडीमा भविष्य देख्नु नेपाली खेलाडीको लागि गर्वको कुरा हो। यसकारण पनि क्यान खुसी छ। ‘डेभलाई नियुक्त गर्नु क्यानको रिजल्ट ओरिएन्टेड कामको सुरुवात हो। नेपाललाई डेभजस्तै प्रशिक्षकको अवाश्यकता थियो,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, ‘नेपाली क्रिकेट भावनाअनुसारको प्रशिक्षक हामीलै पायौं।’
प्रसाशनिक र प्राविधिक कुरामा पनि वाटमोर क्यानसँग सल्लाह गरेर अघि बढ्ने क्यानको विश्वास छ। सन् १९९६ मा श्रीलंकालाई पहिलोपटक विश्वकप जिताएका प्रशिक्षकसँग यति आशा राख्नु स्वाभाविक पनि हो।
‘धेरै अप्ठ्यारापछि हामी वाटमोरलाई नियुक्त गर्न सफल भएका छौं,’ क्यानका सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘खेलाडी र क्यानसँगको सम्बन्धले नेपाली क्रिकेट अझ माथि पुग्ने हाम्रो विश्वास छ।’
नेपाली समर्थकमाझ क्यानले दिएको विश्वास र जिम्मेवारीमा खरो उत्रने वाटमोरको दाबी छ। श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षकले पाकिस्तानलाई पनि एसिया कप जिताएका थिए। उनले नै हो कमजोर बंगलादेशलाई बलियो भारतविरुद्ध जित निकाल्ने प्रेरणा प्रदान गरेको। त्यसैले २००३ देखि २००७ सम्मको बंगलादेश बसाइँ पनि वाटमोरका लागि सम्झनलायक रह्यो।
उनले इन्डियन प्रिमियर लिग खेल्ने कोलकाता नाइट राइडर्सका खेलाडीलाई २०१०–२०११ मा प्रशिक्षण गराए। दुवै सिजन कोलकत्ताले राम्रो प्रदर्शन गरेको थियो। त्यसपछि उनले जिम्बाब्वे र सिंगापुरको राष्ट्रिय टिम सम्हालिसकेका छन्। लामो अनुभवबाट खारिएका वाटमोर नेपाली क्रिकेटले पाएका अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक हुन्। नेपाली टिमको अवरोहका दिन सकिएको आभास गराउन आफू नेपाल आएको वाटमोर बताउँछन्।
भन्छन्, ‘मेरो पूरा अनुभव र ज्ञान नेपालमा देखाउनेछु। व्यक्तिगत रुपमा पनि र टिमको तर्फबाट पनि।’ उनलाई नेपाली खेलाडीका साथै नेपालको वातावरण पनि मन परेको छ। नेपाली खेलाडी सहयोगी रहेको उनको विश्वास छ। यो भनिरहँदा उनी आफ्नो लक्ष्यबाट विचलित पनि छैनन्।
किनभने विश्वकपमा पुग्नुमात्र पनि नेपालको लागि एक सपना हो। ‘धेरै देशहरुले यो चाहिरहेका छन्, जुन हामी पनि चाहिरहेका छौं। विश्वकप पुग्न सजिलो छैन,’ उनी भन्छन्, ‘जबसम्म हामी सपना देख्दैनौं, त्यहाँ पुग्न पनि सक्दैनौं। हामीसँग अघि बढ्ने आकांक्षा सधैं हुनुपर्छ। जितका गहिरो प्यास हुनुपर्छ। हामीले एकअर्काका लागि काम गर्न सक्यौं भने र एकअर्काको सारथी बन्न सक्यौं भने सबै आकांक्षा सफल हुन्छन्।’
नेपालका युवा र सिनियर खेलाडीको तालमेल मिलाउन कठिन रहेको व्याख्या गरिँदै आएको छ। वाटमोरको आँखामा भने खेलाडीको उमेरले खास महत्व राख्दैन। खेलाडीमा जितको आँट वा भोक नै खेलाडी हेर्ने वाटमोरको नजर हो। यो विधिबाट नेपाली खेलाडीमा रहेको सन्तुलन मिलाउने उनी बताउँछन्।
भन्छन्, ‘दुवै उमेर समूहका खेलाडी हुनु राम्रो कुरा हो। खेलाडीको उमेर भन्दा पनि उसको लय र दृढता महत्वपूर्ण हुन्छ। खेलाडी जितप्रति लक्षित भए अरु तपसिलका कुरा हुन्।’ पछिल्लो समय नेपाली क्रिकेटमा राष्ट्रिय टिमको छनोट समितिले गरेका केही छनोटको पनि आलोचना हुँदै आएको छ। यसलाई पनि विवादरहित बनाउनुपर्ने छ। भन्छन्, ‘मलाई लाग्छ क्यानसँग राम्रो छनोट टिम छ। र, हाम्रो सम्बन्ध पनि राम्रो हुने विश्वास छ। उनीहरुले आफ्नो काम राम्रोसँग गर्नेछन्। हामी सम्भावित सबैभन्दा राम्रो स्क्वाड पाउनेछौं।’
अहिले नेपाली क्रिकेट टिमका खेलाडीहरुको सम्झौता सकिएको छ। पछिल्लो समय क्यानले गरेको सम्झौता २०२० को जुनमै सकिएको छ। त्यसयता खेलाडी सम्झौताविहीन छन्। त्यसपछिको समयलाई मिलाएर डेढ वर्षका लागि २०२१ मा नयाँ सम्झौता गरिने क्यानले बताउँदै आएको छ। यसकारण अब प्रधानमन्त्री कप सकिएलगत्तै सम्झौता गर्न क्यानलाई बाटो खुल्नेछ।
अहिले वाटमोरको मुख्य काम भनेको खेलाडीलाई प्रतियोगिताका लागि तयार गर्नु हो। अब नेपालले १३ देखि २८ मार्चमा लिग दुईको त्रिपक्षीय शृंखला खेल्नेछ। जुलाईमा पनि लिग २ कै अर्को प्रतिस्पर्धा पनि छ। ती प्रतियोगिता सम्झँदै वाटमोर भन्छन्, ‘खेलाडीलाई प्रतियोगिताका लागि तयार गर्नु मेरो सबैभन्दा मुख्य काम हो। र, विस्तारै नेपालको वरीयता सुधार गर्नु मेरो लक्ष्य हुनेछ।’ उनको नजिकको चुनौती भनेको एकदिवसीय मान्यता यथावत् राख्नु नै हो। एकदिवसीय मान्यता पाउने क्रममा नेपालका करण केसी नेपाली क्रिकेटको इतिहासले नबिर्सिने खेलाडी बनिसकेका छन्।
प्रशिक्षकका हिसाबमा उनले नयाँ उचाइ दिलाउन सके नेपाली क्रिकेटले सम्झने अर्का पात्र वाटमोर हुनेछन्, जसलाई उनले चुनौती भनेका छन्।
नेपालको प्रशिक्षक नियुक्ति हुँदै गर्दा गत पुस २ गते उनले भनेका थिए, ‘नेपालमा गुणस्तरीय खेलाडी छन् र नेपाली क्रिकेटको भविष्य उज्वल छ। नेपाल सुन्दर देश हो, जहाँका युवा खेलाडीलाई प्रशिक्षण गराउनका लागि म पर्खिरहेको छु।’ ‘नेपाली क्रिकेट टिमको भविष्य उज्वल छ’ भन्ने उनको भनाइमात्र होइन, नेपाली क्रिकेटप्रेमीले देखेको सपना पनि हो।
यो पनिः राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर